सुर्खेतमा माघी मिलन कार्यक्रम

surkhet maghiमानबहादुर पन्ना– नयाँ वर्षको रुपमा मनाइने माघीको अवसरमा थारू अघहवा महातावा संघ सुर्खेतले विविध सांंस्कृतिक कार्यक्रमसहित लाटिकोइली ८ तिलपुरमा माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम म्ााघ ४ गते सम्पन्न गरेको छ। थारूहरुको महान माघी पर्वबारे युवा पुस्तालाई जानकारी गराइ सबै थारूहरु एकै ठाउँमा भेला भई शुभकामना आदानप्रदान गर्ने तथा थारू साझा थारू मन्दिर तथा संग्रहालयबारे छलफल गर्ने उद्धेश्यले यो कार्यक्रम गरिएको  आयोजकले बताए।
कार्यक्रमका प्रमुख अतिथि थारू कल्याण कारिणी सभाका केन्द्रीय उपाध्यक्ष मानबहादुर चौधरीले “अहिले सुर्खेतको थारूहरुको मूल संगठन थारू कल्याण कारिणी सभा सुर्खेतले माघी महोत्सव कार्यक्रमको निरन्तरता दिन नसकेकोले अरु संगठनमार्फत यो कार्यक्रम गर्नुपरेको  बताउदै आगामी वर्षमा जिल्लाव्यापी रुपमा विभिन्न थारू संस्कृति झल्कने कार्यक्रम गर्नु पर्नेमा जोड दिनु भयो।थारू कल्याण कारिणी सभाका वर्तमान पदाधिकारीहरु निष्कृय रहेका् र समयावधि सकिदा समेत अधिवेशन गराउन नचाहेको कारण जिल्लामा थारूहरुको हित हुने कुनै ठोस काम नभएको बताउनु भयो। यसका लागि वर्तमान कार्य समितिले निकास दिनुपर्ने सुझाव दिनु भयो।”
सुर्खेतका थारू वुद्धिजीवि मान बहादुर चौधरी पन्नाले थारूहरुको थुप्रै संगठन भएर पनि संगठनविहीन हुनुले जिल्लामै लाजमर्दो भएको बताउनु भयो। संगठनविहीन भएकै कारण स्थानीय निकायबाट प्राप्त हुने सेवासुविधा पनि लिन नसकी वञ्चित हुन परेको बताउनु भयो। सुर्खेतकै प्रतिष्ठासंग गासिएको साझा सवाल थारू संग्रहालय तथा थारू मन्दिरको विषय उठाएर मात्र नहुने यसको लागि तल्काल थारू कल्याण कारिणी सभाले गम्भीरतापूर्वक संस्थागत पहलतिर लाग्नु पर्नेमा जोड दिनु भयो। साझा सवाललाई सबैले मिलेर पूरा गर्न सभासमारोहमा मात्र बोलेर काम नहुने भएकोले सबैजना एकढिक्का भई लाग्नुको विकल्प छैन भन्नुभयो।
थारु कल्याण कारिणी सभाका रिद्धी चौधरीले थारू संग्रहालय तथा थारू मन्दिर (ठन्वा) को मूद्दा हामीले नै उठाएको हो। हामीलाई गुम्राहमा राखेर कहिले गुरुवा संघ कहिले महातावा बडघर संघको नाममा थारू समुदायमाझ सस्तो लोकप्रियताका लागि छलफल चलाइनुको कुनै तुक नरहेको बताउनुभयो। थारू कल्याणकारिणी सभाले पटकपटक बैठक छलफलमा निमन्त्रणा गर्दा भाग्ने छुट्टै कार्यक्रम गरेर चर्चामा आउन खोज्ने प्रवृतिले थारूहरुको माग पुरा नहुने ठोकुवा गर्नुभयो। उहाँले यदि थारूहरुको हितका लागि साझा विषयलाई पूरा गर्ने हो भने सबै मिलेर जानु पर्नेमा जोड दिदै आफुले जस्तोसुकै त्याग गर्न पछि नपर्ने बताउनु भयो। संस्थाको अधिवेशन गर्न छिट्टै भेला बोलाइ नयाँ नेत्तृत्व चयन गरी अगाडि बढ्ने बताउनु भयो। थारूहरुको महान पर्वको अवसरमा उपस्थित सबैलाई शुभकामना प्रदान गर्दै आगामी दिनमा सबैको सहयोग  हुनुपर्नेमा जोड दिनुभयो।
थारू गुरुवा वैदावा संघका केन्द्रीय सदस्य जागुराम थारूले थारू संग्रहालय तथा थारू मन्दिरका साझा विषयमा जो सुकैले पहल गरे पनि त्यसमा सबैले साथ दिनुपर्ने बताउनु भयो। थारू कल्याण कारिणी सभा सक्रिय रुपमा काम नगरेकाले आफूहरु माहोल सिर्जना गर्न छलफल चलाएको बताउनुभयो। काम पनि नगर्ने पद मात्र लिएर कुनै तुक नरहेको जिकिर गर्दै साझा विचारलाइ संस्थागत गर्न थारू कल्याण कारिणी सभाले पहल गरोस् भन्ने मनसाय राख्दै यसको लागि आफू पछि नहट्ने बताउनुभयो।
कार्यक्रममा थारू लोकतान्त्रिक संघका केन्द्रीय सदस्य कृष्ण बहादुर थारूले माघी पर्वमा हाम्रा पूर्खाहरुले यस्तै सामाजिक हितका विषयमा छलफल गरी विकास गर्न सिकाएकाले विवादलाई टुङ्ग्याएर नयाँ योजनाका साथ अघि बढ्नु पर्नेमा जोड दिनु भयो। एकले अर्काको टिप्पणी गर्नुभन्दा  माझिएर एकताबद्ध भएर सहमति र सहकार्य गरेर अगाडि बढेमा सबैको हित हुने बताउनु भयो।
कार्यक्रममा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रका पत्रकार विन्तीराम महतोले माघीमा सबैले मनमुटावलाई विर्सेर नयाँ जोशका साथ एकताबद्ध भएर अगाडि बढ्नु बाहेक अरु बाटो नभएको बताउदै यही कार्यक्रमबाट निकास निकाल्नु पर्ने बताउनु भयो। कार्यक्रममा थारू अगुवा मानविर थारू, लालबहादुर थारू, टेकबहादुर चौधरी, भागीराम चौधरी, रिद्धी चौधरी, विन्तीराम महतो लगायतका वक्ताहरुले माघी पर्वको महत्व बुझेर सबै थारूहरु एकतामा जुट्नुपर्नेमा जोड दिए।
माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रममा पहुरा सांस्कृतिक मञ्चले मघौटा नाच प्रस्तुत गरेको थियो। उत्तरगंगाका खोलीगाउ, जयपुर, ठौरी र लाटिकोइलीका कालीमाटी, पातलगंगा, कोनैठीका विभिन्न थारू नाच प्रस्तुत गरिएको थियो। कार्यक्रम थारू अगहवा महाटावा (बडघर) संघका अध्यक्ष शेरबहादुर थारूको सभापतित्वमा सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published.