अभिनयलाई अत्यन्त गम्भीरताका साथ लिने बलिउडका थोरै कलाकारमध्ये एक हुन्, आमिर खान। कलाकारिता र व्यावसायिकता, दुवैमा उनले एकपछि अर्को उपलब्धि हासिल गरेका छन्। अभिनयमा पूर्णता (पर्फेक्सन) को साह्रै हेक्का गर्ने उनलाई बलिउडले ‘मिस्टर पर्फेक्सनिस्ट’को उपाधि दिएको छ।
‘मेरो फिल्मले कति वडा रेकर्ड तोड्छ भन्ने कुरामा म उति ध्यान दिन्नँ’ भन्ने आमिर रेकर्ड तोड्ने सवालमा भने निकै अगाडि छन्। बलिउडमा प्रायः नयाँ रेकर्ड उनकै फिल्मले बनाउँछ र उनकै अर्को फिल्मले त्यसलाई तोड्ने गर्छ। उनको फिल्म ‘गजनी’ ले २ सय २६ करोड भारु आम्दानी गरेर बलिउडमा पनि यति अकल्पनीय आम्दानी हुनसक्दो रहेछ भन्ने उदाहरण पेश गर्योा। पछि उनको अर्को फिल्म ‘थ्री इडियट्स’ले ३ सय ८३ करोड भारु आम्दानी गरेपछि ‘गजनी’को रेकर्ड तोडियो। अहिले आमिरले ‘धुम–३’मार्फत ‘थ्री इडियट्स’को रेकर्ड तोडेका छन्।
‘म रेकर्डको होइन, दर्शकको प्रेमको भोको छु’ भन्ने आमिर सस्तो लोकप्रियतामा अल्भि्कने खालका अभिनेता होइनन्। बेलायतस्थित मैनको म्युजिम म्याडम तुसादले आमिरलाई विश्वका प्रभावशाली अभिनेता ठहर गर्दै उनको मैनको मूर्ति बनाउने निश्चय गर्यो्। मूर्ति अनावरण गर्न आमिरलाई बोलाइयो। तर, आमिरले आफ्नो मूर्ति बनाउन दिएनन्। ‘मलाई हेर्न मन हुनेले मेरो फिल्म हेरिहाल्छन्, मेरो मूर्ति किन चाहियो?’ उनले भने।
अवार्ड वितरण समारोहमा आमिर कहिल्यै जाँदैनन्। सेलिब्रिटीहरूलाई भेला गर्ने सार्वजनिक कार्यक्रममा उनी यदाकदामात्र झुल्कन्छन्। दोस्रो श्रीमती किरण राव र छोरो आदाज राव खानसँग सुखद पारिवारिक जीवन बिताइरहेका ‘मिस्टर पर्फेक्सनिस्ट’ सामाजिक क्षेत्रमा सबैभन्दा बढी समर्पित भारतीय अभिनेता हुन्।
फिल्मी क्षेत्रजस्तै समाजिक क्षेत्र पनि उनका लागि निकै उर्बर साबित भएको छ। बालबालिकाका लागि खाद्यान्न, दाइजो, बालिका भ्रूणहत्यालगायत समाजिक समस्याविरुद्ध सचेतना जगाउने उनको कार्यको राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा सह्राना भइसकेको छ।
भारतमा बालबालिकाका लागि पोषणयुक्त खाना प्रवर्द्धन गर्ने युनिसेफको अभियानमा आमिरले सघाए, सन् २०११ मा अभियानको राष्ट्रिय सद्भावना दूत बनेर। भारत सरकारले सञ्चालन गरेको इन्फरमेसन, एजुकेसन र कम्युनिकेसन (ईएसी) अभियानमा आबद्ध भएर उनी सामाजिक क्षेत्रमा क्रियाशील छन्।
फिल्मी वृत्तबाहेक राजनीतिक वृत्तमा पनि आमिर बेलामौकामा चर्चाको विषय बन्छन्। सन् २००६ मा आमिर गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीसँग पौँठेजोरी खेल्न पुगेका थिए। नर्मदा नदीको बाँध थप अग्लो बनाउने गुजरात सरकारको योजना कार्यान्वयन भए बाँधआसपासमा बसोबास गरिरहेको आदिवासी बस्ती डुबानमा पर्ने भन्दै उनी समाजवादी अभियन्ता मेधा पाट्करसँगै विरोधमा उत्रिए।
उनको यस्तो कदमको जवाफमा मोदीले उनको फिल्म ‘फना’माथि आफ्नो राज्यमा आंशिक प्रतिबन्ध लगाइदिए। यस विषयमा केन्द्र सरकारको पनि ध्यानाकर्षण भयो। प्रधानमन्त्री मनमोहन सिंहले भने, ‘अभिव्यक्तिको स्वतन्त्रता हरेक व्यक्तिसँग हुन्छ। कुनै खास विषयमा यदि कसैले आफ्नो कुरा राख्छ भने यसको विरोधमा उत्रिनु राम्रो होइन।’ भाजपाविरुद्ध लागेका आमिर पछि कंग्रेस सरकारविरुद्ध पनि लागे। सामाजिक कार्यकर्ता अन्ना हजारेले आरम्भ गरेको ‘जनलोकपाल बिल मुभमेन्ट’प्रति आफ्नो समर्थन रहेको उनले घोषणा गरे।
सन् २०१२ को बजेटमा मनोरञ्जन करको व्यवस्था गरिएपछि उनले भने, ‘म यस्तो कर घटाउनुपर्छ भन्ने मान्यतामा छैन। यसबाट हुने आम्दानी शिक्षा र खाद्यमा खर्च गर्नुपर्छ।’ सन् २०१० मा भारत सरकारले प्रतिलिपि अधिकारसम्बन्धी नियमकानुन सिफारिस गर्न १० सदस्यीय समिति ‘कपिराइट प्यानल’ गठन गरेको थियो। आमिर पनि यसका सदस्य थिए। तर, यस विषयमा अन्य सदस्यसँग चर्को मतभेद भएपछि उनले समितिबाट राजीनामा दिएका थिए।
फिल्म ‘थ्री इडियट्स’ को प्रमोसनलाई उनले देश बुझ्ने अवसर बनाए। उनी भारतका विभिन्न ठाउँको भ्रमणमा निस्किए।
उनले खास गरी भारतका स–साना शहरलाई आफ्नो गन्तव्य बनाए। उनको मान्यता थियो, ‘मुम्बईमा बसेर भारतका ससाना शहरबजारलाई राम्रोसँग बुझ्न सकिँदैन। त्यसैले सिंगो देशलाई फिल्ममा उतार्नुछ भने मुम्बईबाहिर निस्कनुपर्छ।’ देश र जनताको नाडी छाम्दा उनले भारतीय समाजमा अनेक सामाजिक समस्या रहेको ठहर गरे।
यी समस्याको समाधान नभइञ्जेल भारत वास्तविक रूपमा अघि बढ्न नसक्ने ठहर गरेर उनी सामाजिक सचेतना जगाउने काममा समर्पित भए। टेलिभिजन कार्यक्रम ‘सत्यमेव जयते’मार्फत उनले बालिका भ्रूणहत्या, दाइजो प्रथा, तलाइकुतल (बाबुआमाको हत्या गर्ने संस्कृति) लगायत विषयमा सचेतना जगाउने काम गरे। सन् २०१२ को जुलाईमा उनले भारतका प्रधानमन्त्री र सामाजिक न्याय तथा सशक्तिकरण मन्त्री दुवैसँग छुट्टाछुट्टै भेटेर मलमूत्र सफा गर्ने (स्काभेन्जर) हरूको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए।
‘सत्यमेव जयते’मार्फत भारतको समाज सुधारमा आमिरले खेलेको भूमिकाको तारिफ गर्दै अमेरिकी एब्रोड मिडिया (एएएम)ले उनलाई अभिनन्दन गर्योम। ‘भारतभित्र थालेको हाम्रो कामले भारतबाहिरको संसारलाई पनि कसरी आकर्षित गर्योए, मलाई थाहा भएन,’ अभिनन्दित भएपछि आमिरले भनेका थिए।
भारत सरकारले पनि उनलाई विभिन्न उच्च सम्मान प्रदान गरिसकेको छ। सन् २००३ मा सरकारले उनलाई पद्मश्री पुरस्कारद्वारा विभूषित गरेको थियो। कलाकारितामा उनले पुर्या एको योगदानको कदर गर्दै सन् २०१० मा उनी भारत सरकारद्वारा दिइने पद्म भूषणबाट सम्मानित भएका थिए। सन् २०१३ मा अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनले उनलाई विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो।
सन् २००९ मा अमेरिकी तत्कालीन विदेशमन्त्री हिलारी क्लिन्टन भारत आएको बेला उनीसँग एउटै मञ्चमा उपस्थित भएर आमिरले छलफल गरे। मुम्बईमा आयोजित अन्तरक्रिया कार्यक्रम आरम्भ हुनुअघि हिलारीले ‘कार्यक्रममा म होइन, आमिर चासोको केन्द्र हुनेछन्’ भनेर आमिरको तारिफ गरेकी थिइन्। अन्तरक्रिया कार्यक्रममा उनीहरूबीच शिष्ट वादविवाद भएको थियो। आमिरले शिक्षक, अभिभावक र समाजले विद्यार्थीलाई प्रतिस्पर्धाको सट्टा प्रेम सिकाउनुपर्ने बताएका थिए।
जवाफमा क्लिन्टनले प्रेम बढी आवश्यक भए पनि प्रतिस्पर्धालाई कम आँक्न नहुने भनेर आमिरको शिष्ट प्रतिवाद गरेकी थिइन्।
‘मंगल पाण्डे’, ‘रङ दे वसन्ती’, ‘तारे जमिन पर’, ‘लगान’जस्ता समाजिक मनोविज्ञानमा प्रभाव पार्ने खालका फिल्म र ‘सत्यमेव जयते’जस्तो समाजिक कार्यक्रममा आमिरको आबद्धताका कारण अन्य समकालीन अभिनेताभन्दा उनी अग्ला भएका छन्।
(एजेन्सीको सहयोगमा)