माघीमा तीन दिन सार्वजनिक विदा माग

धनगढी- थारु कल्याणकारिणी सभा कैलालीले माघी पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा गर्न सरकारसंग माग गरेको छ।  माघी आफ्नो समुदायको नयाँ बर्ष र सबैभन्दा ठूलो पर्व रहेको भन्दै सभाले पौष मसान्तदेखि माघ दुई गतेसम्म सार्वजनिक विदा माग गरेको हो।
थारु कल्याणकारिणी सभाद्वारा प्रकाशन गरिएको ‘थरुहट क्यालेण्डर’लाई आइतवार धनगढीमा सार्वजनिक गर्दै सभापति प्रभात कुमार चौधरीले सरकारले सबै जातजातिको पर्वमा बिदा दिदैं आएकाले माघी पर्वमा तीन दिन सार्वजनिक विदा गर्न आग्रह गरे।
उनले भने– ‘हामी विगत आठ बर्षदेखि माघीमा तीन दिन र अटवारी पर्वमा दुई दिन बिदा सार्वजनिक बिदा गर्न माग गर्दै आएका छौं। सुनुवाई अझैसम्म भएको छैन। हामीले पौष अन्तिमदेखि माघ २ गतेसम्म माघी पर्व मनाउँदै आएका छौं। त्यसैले सार्वजनिक विदा तीन दिन हुनु पर्ने माग हो।’ यद्यपि, सरकारले माघ एक गते माघे संक्रान्तिको उपलक्ष्यमा विदा दिदैं आएको छ। थारु समुदायमा पौष ३० गतेदेखि माघी पर्व सुरु हुदैंछ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले पात्रोमा थारुहरुको चाडपर्वलाई समावेश नगरेको थारुहरुले गुनासो गरेका छन्। उनीहरुले सबै जातजातिको चाडपर्व, भाषासंस्कृतिको संरक्षण गर्ने सरकारको दायित्व समेत रहेको बताएका छन्।
थारु बुद्धिजिवी रोहित चौधरीले थारु संस्कृतिकोबारेमा सबैलाई अवगत गराउने उद्देश्यले यसबर्षको माघी पर्वदेखि क्यालेण्डर प्रकाशन गर्न सुरु गरिएको बताए।
उक्त कार्यक्रममा थारु नागरिक समाज कैलालीका संयोजक दिल बहादुर चौधरी, बुद्धिजीवी बुन्दीलाल चौधरी, थारु कल्याणकारिणी सभाका सचिव माधव चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.