सन्तोष दहित– दाङ- एक हप्ता समय छँदै दाङको थारु गाँउमा माघीको चहलपहल सुरु भएको छ। थारु समुदायका मानिसहरु माघीको तयारीमा व्यस्त छन्। कोही दाउरा र पातको लागि जंगल जान ब्यस्त छन् भने कोही ढिक्री बनाउनको लागि पिठो पिसाउन व्यस्त छन्। त्यस्तै कोहीले मासुको लागि सुङ्गुरको खोजीमा छन्। कोही भने नृत्यका लागि मादल बनाउन व्यस्त छन्। थारु गाउँमा यसपालिको अघवा को बन्नेबारे गरधुर्यानहरुसँग भेटघाटमा ब्यस्त छन्। कोही अघवा, महटवा भने पुनः आफूलाई अघवा, महटवा बनाउन गरधुर्याब तथा अघवासँग छलफलमा व्यस्त छन्। आ–आफ्नो घरको आँगन सरसफाईदेखि घरमा लिपपोतमा समेत ब्यस्त देखिन्छन्।
हेकुली-८ की सर्मिला चौधरीलाई माघीको तयारीको लागि भ्याइ नभ्याइ छ। घरमा काम गर्ने कोही नभएपछि उनलाई माघीको तयारी एक्लै गर्न परिरहेको छ। ‘हिजोमात्र जंगल गएर पात टिपेर ल्याउन भ्याएकी छु,’ उनले भनिन्। अब पिठोका लागि धान कुटाउने तयारीमा रहेको बताउँदै उनले भनिन्, ‘धान कुटाइसकेपछि पिठो पिसाउन र तेल पेलाउनसँगै मिलमा लान्छु।’ उनका दुई जना छोराहरु कामको सिलसिलामा बाहिर छन्। यो माघीमा छोराबुहारी आउने भएपछि रमाइलो हुने उनले बताइन्। ‘प्रत्येक वर्ष छोरासँगै उनका साथीहरु पनि माघि मनाउन आउने गर्छन्,’ उनले भनिन्, ‘त्यसैले माघी विशेष बनाउन तयारी सुरु गरेकी हुँ।’
पाहुनालाई माछाको परिकार खुवानका निम्ति उनका पति भिमबहादुर चौधरी पनि फुर्सदको समयमा माछा मार्न खोला पुग्ने गरेका छन्। उनले माघीसम्म तीनचार किलो माछा सुकाउने तयारी रहेको बताए। ‘अहिल्यै माछा मारेन भने पछि खोलाका माछा सकिन्छ,’ उनले भने, ‘त्यसैले अहिले नै जालको साहायताले एक्लै भए पनि माछा मारिरहेको छु।’
त्यस् हेकुली-८ का खुशीराम चौधरी पनि माघीका लागि व्यस्त छन्। उनी भन्छन्, ‘माघीको लागि धान पनि कुटाइसकेका बताउँदै पिठो पनि पिसाइसकेको छु।’ उनले २७ गतेदेखि माछा मार्ने बताए। उनका अनुसार सुङ्गुरको मासु पनि समस्तो भएकाले झमेला नहुने बताए। ‘गत वर्ष गाँउमा सुंगुर नमिलेर मासुको हाहाकार थियो,’ उनले भने, ‘यसपालीचाहिँ मासु टन्न खान पाइने भयो।’
सौडियार-८ सिहनियका बेझलाल चौधरी पनि माघीको तयारीमा ब्यस्त छन्। माघीको बेला नमूना थारु ग्राममा आउने पर्यटकलाई थारु परिकार खुवाउनेदेखि लिएर नाचगान देखाउनुपर्ने भएकाले उनी अहिल्यै मादल बनाउन ब्यस्त छन्। ‘मादल बनाइसकेपछि नचनियाहरुको लागि ड्रेस खोज्नुपर्छ,’ उनले भने, ‘गाँउमा नपाएपछि बजार गएर नयाँ कपडा किनेर भए पनि सिलाउनुपर्छ।’
वर्ष दिनमा आउने माघी थारु समुदायले भब्यताका साथ मनाउने गरेको उनको कथन छ। ‘यो पर्व अरुभन्दा फरक छ,’ उनले भने, ‘थारु जातिमा यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाउँदै आएको छ।’ गाउँमा महटवा, गरधुर्याक, अघवा समेत छान्ने गरिएको उनको भनाइ छ। त्यसैले पनि माघीमा ३-४ दिन विदा हुनुपर्ने उनको माग छ।
घोराही-२ गुलरियाका गुदासी चौधरी भने लिपपोत गर्न ब्यस्त छिन्। अन्य महिलाजस्तै उनी पनि ढिक्रीका लागि पिठो पिसाउने र दाउरा खोज्ने काम गरिरहेकी छन्। सबै काम आफैंले गर्न नसकेपछि उनले श्रीमानको सहयोगसमेत मागेकी छन्। उनले जाँर र अचार पनि बनाउने बताइन्। ‘सबैले जाँर खादैनन् त्यसैले रक्सी पनि बनाउनुपर्छ,’ उनले भने, ‘माघीमा नाच्न आउनेहरु रक्सी खोज्ने भएकाले रक्सी पनि बनाउनुपर्ने भएको हो।’
विजौरी-५ मैंरहवाका युवाहरु भने नृत्य सिक्न ब्यस्त छन्। उनीहरुले परम्पारागत मघौटा नाच देखाउन मघौटा नाच सिकिरहेको उनीहरुले बताए। नवस्मृति युवा क्लब गठन गरेर गाँउका युवाहरुले पुर्खाहरुले नाच्दै आएको नाचलाई जीवन्त राख्ने नाच्ने तयारीमा रहेको क्लबका सहचिव सम्झना चौधरीले बताइन्। ‘अहिलेका थारु युवाले आफ्नो संस्कृतिलाई बिर्सेर पश्च्मिी संस्कृतिमा भिजेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा आफ्नो संस्कृतिको संरक्षण गर्नु पनि आवश्यक छ।’
थारु समुदायले माघी वर्षभरिको लेखा जोखा गरिनुको साथै आगामी वर्षको कार्ययोजना बनाउने गर्छन्।