अविनाश चौधरी, धनगढी- धनगढीको मिलनपुर मुक्त कमैंया बस्तीका जगतराम चौधरी दैनिक ज्यालादारी मजदुरी गर्न कम्मर कसेर खटेका छन्। माघी खर्च जुटाउनका लागि पैसा आवश्यक रहेकाले कठ्याङ्ग्रिने चिसोलाई चिर्दै मजदुरीमा उनको सक्रियता बढेको हो। बसन्त टोल मुक्त कमैंयाबस्तीकी जानकी चौधरीपनि चाउमिन व्यापारमा दौडधुप बढाएकी छन्। माघी पर्वका लागि जोडजाम आवश्यक रहेकाले एक/दुई दिनभित्रै उनले रुपैंया जुटाउनु पर्नेछ।
जगतराम र जानकी जस्तै अहिले कैलालीका हरेक बस्तीका पूर्व कमैंयाहरु माघी पर्वको जोडजाममा जुटेका छन्। थारु समुदायले नयाँ बर्ष र महान पर्वको रुपमा मनाउने माघी पर्व नजिकिएसंगै कमैंयाबस्तीमा तयारीको चटारो भएको हो। विभिन्न बस्तीका पूर्व कमैंयाहरुले माघी पर्वलाई भव्यताका साथ मनाउने तयारीमा छन्।
माघी पर्वमा थारु परिवारमा सुङ्गुरको मासु अनिवार्य जस्तै रहेकाले हरेकबस्तीमा मासु किन्ने छिनोफानो समेत भइरहेको छ। बसन्त टोल मुक्त कमैंयाबस्तीका अध्यक्ष जालुराम चौधरीले माघीको लागि घरमा एउटा सुङ्गुर मार्ने बताए। उनले भने–’एक पसेरी (अढाई किलो) म राख्छु। बाँकी अरुलाई बेच्नेछु। हरेक परिवारका मान्छेले आवश्यकतानुसार मासु किन्ने गरेका छन्।’
मुक्त कमैंया मनेस चौधरीले तीन पसेरी (साढे सात किलो) बङ्गुरको मासु किन्ने योजना बनाएका छन्। माघी मनाउन सबै आफन्तहरुको जमघट हुने भएकाले बढी मासु किन्ने चौधरीले बताए। बस्तीमा अहिले सुङ्गुर मासु एक पसेरी (अढाई केजी) को चार सय रुपैंया पर्छ। मासुकै लागि मात्रै एक हजार दुई सय रुपैंया जुटाउनु पर्ने भएकाले कामकाजमा बढी सक्रिय रहेको चौधरीले बताएका छन्।
कतिपय बस्तीका पूर्व कमैंयाहरुले मघौटा नाच नाच्दै माघी पर्व मनाउने तयारी गरिरहेका छन्। उहिले मालिकको घरमा काम गर्दा स्वतन्त्रतापूर्वक पर्व मनाउन नपाएको अनुभव सुनाउँदै उनीहरु मुक्तिपछि महानपर्व रमाइलो गरेर मनाउने गरेको बताउँछन्।
‘कमैंया बसेका बेला कामको चाप बाहेक केहि थिएन’, मुक्त कमैंया राधा चौधरी अनुभव सुनाउँछिन्–’माघी समेत मनाउन पाउँदैनथ्यौं। स्वतन्त्र भएपछि इच्छानुसार माघी मनाउँदै आएका छौं।’ राधा र उनका श्रीमान कैलालीको भादा गाउँमा कमैंया बसेका थिए।
पूर्व कमैंया जगतराम चौधरीलाई पनि अहिलेको माघी पर्वले हर्षित बनाउने गर्दछ। उनी भन्छन्–’मुक्तिपछि हरेक बर्ष रमाइलो गर्दै माघी पर्व मनाउँदै आएका छौं। किनभने यो हामी थारुहरुको महान पर्व हो।’ जगतराम टीकापुरमा कमैया बसेका बेला चाडपर्वको अनुभूती समेत गर्न नपाएको सुनाउँछन्।
थारु समुदायका मानिसले माघीमा मासु र मिठामिठा परिकार खाने गर्दछन्। आफन्त डाकेर मिठो–मिठो परिकार खुवाउने/खाने चलन पनि यो समुदायमा छ। माघीमा देश विदेश गएका परिवारका सदस्य वा आफन्तपनि घर फर्कने गरेका छन्। माघी पर्वमा मासु, जाँडको झोल र ढिक्री विशेष खाना मानिन्छ।
कमैंया मुक्ति घोषणा हुनु अघिका दिनहरुमा माघी पर्व कमैंयाका लागि मुक्ति र बन्धन दुबै किसिमको थियो। कमैंया बस्दै आएकाहरु छुट्ने वा बस्न चाहनेहरु मालिकको घरमा कमैंया बस्न जाने चलन थियो। पर्वको रौनकतासंगै कोही दासताको बन्धनबाट मुक्ति पाउँथे, कोही बाँधिन्थे। कमलरी छोड्ने वा राख्नेपनि यहि बेला हुन्थ्यौं। पर्वमा जाँड मासु खाँदै कमैंया कमलरीको मोलमोलाई हुन्थ्यौं। तर, २०५७ सालमा कमैंया र हाल आएर कमलरीमुक्तिपछि यस्ता घटनामा कमि आएको छ।
अबको माघी पर्वमा बस्तीबाट कोहीपनि कमैंया वा कमलरी बस्न नजाने गरेको मुक्त कमैंया महिला जानकी चौधरी बताउँछिन्। उनले भनिन्–’हामी घरपरिवारमै रमाइलो गर्दै माघी मनाउने गरेका छौं। माघीमा मोलमोलाई हुने दासप्रथालाई हटाइ सकेका छौं।’
माघी पर्वका लागि बसन्त टोल मुक्त कमैंया बस्तीका मानिसहरु बुधवार जङ्गलबाट पात समेत टिपेर ल्याएको बस्ती अध्यक्ष जालुराम चौधरीले जानकारी दिए। उनले माघीमा पातपनि अनिवार्य रहेकाले बस्ती भरीका मानिसहरु जंगल गएर पात टिपेर ल्याएको बताएका छन्।
कमैंया बस्तीमा मात्रै हैन अहिले हरेक थारुको घरमा माघी पर्वको भव्य तयारी भइरहेको छ। दीपावलीपछि नै गाउँ–गाउँमा सुङ्गुरको मासुका लागि छिनोफानो भइसकेको स्थानीयहरु बताउँछन्। त्यस्तै, प्रायः सबै थारुको घरमा जाँड समेत तयार भइसकेको छ।