पूर्व राष्ट्रपति यादवलाई क्यान्सर

पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई क्यान्सर भएको छ। भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो। प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो।

प्रोस्टेट क्यान्सर देखिएपछि यादव शल्यक्रियाका लागि अमेरिका जाने भएका छन्। भारतको चन्डिगढस्थित नेहरू चिकित्सालय (पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिर्सच सेन्टर) मा गरिएको परीक्षणमा ‘एडिनोकार्सिनोमा अफ प्रोस्टेट’ (प्रोस्टेटको क्यान्सर) देखिएपछि अस्पतालले नै उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाएको थियो।

अस्पतालले क्यान्सर उपचारका लागि केही साताभित्रै ‘मिनिमल इनभेजिभ रेडिकल प्रोस्टाटेक्टोमी’ (सानो प्वाल पारेर शल्यक्रिया गर्ने आधुनिक प्रविधि) गर्न सल्लाह दिएपछि पूर्व राष्ट्रपति यादव अमेरिका जान लागेका हुन्।

नेपालमा उपचारका लागि उक्त प्रविधि नभएपछि मेडिकल बोर्डले नै यादवलाई अमेरिका जान सिफारिस गरेको हो। बोर्डले भदौ ५ गते यादवलाई उपचारका लागि नेपालबाहिर जान सिफारिस गरेको थियो। भारतका केही अस्पतालमा उक्त सेवा उपलब्ध रहे पनि चन्डिगढको उक्त अस्पतालले समेत सकेसम्म उच्च प्रविधि भएको ठाउँमै जान सुझाएपछि यादवले अमेरिका छानेका हुन्।

नेहरू अस्पतालले पूर्व राष्ट्रपतिको उपचारक्रममा लागेको सम्पूर्ण खर्च निःशुल्क गरिदिएको छ। नेपालका पूर्वराष्ट्रपतिको सम्मानमा भन्दै अस्पतालले उपचारक्रममा लागेको खर्च शुल्क नलिएको हो। यादवले उक्त अस्पतालको शिक्षण अस्पतालमा अध्ययन गरेका थिए।

शल्यक्रियाका लागि पूर्व राष्ट्रपति यादवले अमेरिकाको हेनरी फोर्ड अस्पतालमा प्रारम्भिक मितिसमेत लिइसकेका छन्। उनको आगामी असोज १० गते (सेप्टेम्बर २६) शल्यक्रिया गर्ने मिति लिइएको छ। पारिवारिक स्रोतले दिएको जानकारीअनुसार उनी शल्यक्रियाका लागि भदौ ३० गते (सेप्टेम्बर १५) अमेरिका उड्ने कार्यक्रम छ।

चिकित्सकका अनुसार शल्यक्रियापश्चात उनको क्यान्सर पूर्ण रूपमा निको हुनेछ। तर, शल्यक्रियामा ढिला गर्ने हो भने संक्रमण फैलिएर जटिल अवस्था आउने छ। भारतका विशेषज्ञ चिकित्सकले यादवलाई एक महिनाभित्र शल्यक्रिया गरिसक्न सुझाएका थिए।

शल्यक्रियाका लागि यादवले सुरुमै ३७ हजार अमेरिकी डलर (करिब ३७ लाख रुपैयाँ) भन्दा बढी रकम डिपोजिट गर्नुपर्ने हुन्छ। उनको उपचारक्रममा सोभन्दा बढी खर्च लाग्ने बताइएको छ। यादवले उपचारका लागि खर्च उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।

यादवका स्वकीय सहायक किरण पन्थले क्यान्सर उपचारमा लाग्ने खर्च उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निवेदन बुझाएका छन्। अघिल्लो सोमबार प्रधानमन्त्री कार्यालयमा पन्थले बुझाएको पत्रमा उपचार खर्च, र अमेरिका जाने यातायात तथा बसोबास खर्च उपलब्ध गराउन भनिएको छ। यादवसँग उपचारका लागि छोरा चन्द्रमोहन, छोरी अनिता, एकजना सुरक्षाकर्मी र सहयोगी जाने छन्।

नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published.