थारु सङ्ग्रहालय स्थापना गर्न माग

tharu sangrahalay

सुर्खेत- स्थानीय थारु अगुवाले सुर्खेतमा थारु सङ्ग्रहालय स्थापना गर्न माग गरेका छन्। पातलगंगामा भएको थारु भेलाले आदिवासी थारु जातिका मौलिक पहिचान, सांस्कृतिक वस्तु, हस्तकला, पुराना गरगहना लोप हुँदै गएकाले संरक्षणको लागि संग्राहलयको आवश्यकता औंल्याएका हुन्। थारु कल्याण कारिणी सभाका केन्द्रीय उपाध्यक्ष मानबहादुर चौधरीले थारु संग्रहालय स्थापनासँगै थारु मन्दिर (ठन्वा) पनि बनाउनु पर्ने बताए। ‘थारु समुदायको धार्मिक परम्परासमेत लोप हुने अवस्था आएकाले यसको संरक्षण गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने, ‘यसको लागि सरकारले पनि सहयोग गर्नुपर्छ।’
थारु बुद्धिजीवी एवं साहित्यकार मानबहादुर पन्नाले थारु सङ्ग्रहालय स्थापनाले यस क्षेत्रको पर्यटन व्यवसायमा महत्वपूर्ण योगदान पुग्ने बताए ‘संग्राहलय स्थापना गर्न सकिएमा जिल्लाको प्रतिष्ठामा पनि योगदान पुर्यारउँछ,’ उनले भने।
थारु लोकतान्त्रिक संघका केन्द्रीय सदस्य कृष्णबहादुर थारुले सुर्खेती थारुहरुको यो मागलाई राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताउँदै स्थानीय गाविस, जिविस तथा नगरविकास समितिले उपयुक्त स्थान उपलब्ध गराउनुपर्ने बताए।
यसैबीच, थारु भेलाले धनीराम थगारुको अध्यक्षतामा थारु गुरुवा तथा वैद्य संघको जिल्ला समिति गठन गरेको छ। समितिको सदस्यहरुमा बुद्धिराम थारु, लालबहादुर चौधरी, वीरबहादुर चौधरी, चैतु थारु, जनकबहादुर थारु, ढाठुराम थारु र चुलुवा थारु रहेका छन्।
स्रोत : कलेन्द्र सेजुवाल/नागरिकन्युज

Leave a Reply

Your email address will not be published.