कमल थापाको राप्रपा नेपाल फुट्यो

kamal-thapa

काठमाडौं- कमल थापा नेतृत्वको राप्रपा नेपाल फुटेको छ। सविधान सभा निर्वाचनमा समानुपातिकतर्फ अप्रत्यासितरुपमा २४ सिट ल्याएर चौथो ठूलो दल बनेको राप्रपा नेपाल संविधान सभा  नबोलाइँदै फुटेको हो। थापा नेतृत्त्वको राप्रपा नेपालमा समानुपातिक सभासदको सूची सार्वजनिक भएपछि असन्तुष्ट केन्द्रीय सदस्यहरुले नयाँ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन्।
पूर्व मन्त्री टंक ढकालको अध्यक्षतामा गठन भएको नयाँ दलको नाम नेपाली राप्रपा राखिएको केन्द्रीय सदस्य श्याम तिमल्सिनाले जानकारी दिए। आज बिहान निर्वाचन आयोगमा राप्रपा नेपालका ४० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यले नयाँ दल दर्ता गराउँदै राप्रपा नेपालको फुटलाई औपचारिकता दिए। उनीहरुले संविधान सभामा फुटअनुसार आफ्नो भागमा सभासदहरु पर्नुपर्ने मागसमेत गरेका छन्।

‘समानुपातिकका लागि छानिएका २४ जनाको नाम परिवर्तन नहुने भएपछि नयाँ दल खोल्न बाध्य भएका हौं,’ केन्द्रीय सदस्य तिमल्सिनाले भने। यता राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङले भने पार्टी फोड्ने प्रयास भएपनि नफुटेको दाबी गरे। ‘फुट्यो भनेर अनर्गल प्रचार गरिएको छ। देशी विदेशीको सक्रियतामा पार्टीलाई कमजोर बनाउने प्रयास भएको हो,’ गुरुङले भने, ‘अहिलेको अवस्थामा ४० प्रतिशत भन्नेले कुनै अर्थ राख्दैन। दल दर्ता गर्दैमा के हुन्छ र!’
पूर्व पञ्च र शाहीकालीन मन्त्रीहरुसमेतको सक्रियतामा गठन भएको राप्रपा नेपाल हिन्दू अधिराज्य र संवैधानिक राजतन्त्रको नारा लिएर संविधान सभा निर्वाचनमा उत्रिएको थियो। काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रमा समग्रमा समानुपातिकतर्फ सबै राजनीतिक दललाई पछि पारेर आफ्नो बलियो उपस्थिति देखाएको दलले प्रत्यक्षतर्फ कुनै क्षेत्रमा पनि सफलता हासिल गरेन्। तर, समानुपातिकतर्फ लोकप्रिय मत ल्याउँदै संविधान सभामा चौथो शक्तिकारुपमा यो दल उदाएको थियो।

Leave a Reply

Your email address will not be published.