तराईमा शीतलहर सुरु, जनजीवन प्रभावित

Shitalahar_terai

सिरहा- तराईमा शीतलहर सुरु भएको छ। शीतलहरका कारण सिरहालगायत तराईको जनजीवन प्रभावित बनेको छ। शीतलहरसँगै चिसो हावा चलेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन्। दुई दिनदेखि दिनभर कुहिरो लाग्दै आएको छ भने घाम उदाएको छैन। कुहिरोका कारण राजमार्गमा सडक दुर्घटनाको सम्भावना बढेको भन्दै सवारीसाधन सीमित गतिमा चलाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ।
चिसोबाट बच्न अहिले घरघरमा घुर (आगो) ताप्न थालिएको छ। चिसो बढेसँगै बजारमा सर्वसाधारणको चहलपहल घटेको छ। चिसोले विशेषगरी रिक्सा चलाउने मजदुर बढी मर्कामा परेका छन्। विद्यालयमा बालबालिकाको सङ्ख्या पनि जाडोकै कारण घटेको श्री सुन्दर जनता मावि औरहीका शिक्षक श्यामनन्दन यादवले जानकारी दिए।
जाडोका कारण बजारमा बाक्लो कपडा किन्नेको सङ्ख्या ह्वात्तै बढेको छ। सिरहाको लहान, गोलबजार, मिर्चैया, सिरहा सदरमुकामलगायतका बजारका कपडा पसलमा आजभोलि दिनभर बाक्लो कपडा किन्नेको भीड रहन्छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गत वर्ष सिरहामा चिसोबाट १४ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा अधिकांश गरिब बालबालिका र वृद्धवृद्धा थिए।
त्यस्तै चार दिनदेखि निरन्तर शीतलहर सुरु भएपछि उदयपुर जिल्लाको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ। बिहानको २ बजेबाट सुरु भएको शीतलहर दिनको १२ बजेसम्म चल्न थालेपछि यस क्षेत्रको जनजीवन प्रभावित हुन थालेको हो। उदयपुरको सदरमुकाम गाईघाट, त्रियुगा नगरपालिका क्षेत्र आसपास र जिल्लाको पूर्वी तथा पश्चिमी भेगलगायत पहाडी क्षेत्रमा समेत शीतलहरका कारण जनजीवन प्रभावित हुन थालेको स्थानीय बताउँछन्।
शीतलहर चल्न थालेपछि अहिले त्रियुगा नगरपालिका क्षेत्रलगायत जिल्लाको पूर्वी भेगको जोगीदह, हँडिया, रामपुर, तपेस्वरी, सुन्दरपुर क्षेत्रका स्थानीयवासीलाई दिउँसो १२ बजेसम्म घरमा नै आगो तापेर बस्न बाध्य हुनु परेको जोगिदहस्थित जनता माविका शिक्षक भोला चोधरीले बताए।
शीतलहरबाट बच्न आगो बाल्ने व्यवस्था
शीतलहरको प्रभावबाट बच्न र बचाउन जनकपुर नगरपालिका समेट्ने गरी आम नागरिकको बढी जमघट हुने ठाउँ र चोकमा आगो बाल्ने व्यवस्था गरिएको छ। धनुषा जिल्लाका विभिन्न सङ्घ संस्थाले १९ स्थानमा आगो बाल्ने व्यवस्था गरेको छ।
जिल्ला प्रशासन कार्यालय परिसर, मालपोत कार्यालय परिसर, कदमचोक, रेल्वे स्टेशन, पिडारी चोक, रामानन्दचोक, जिरोमाइल, मिल्स एरिया, रामचोक, महावीर चोक, मुरली चोक, जनकपुर अञ्चल अस्पताल, पगलाबाबा धर्मशाला र गोपाल धर्मशालामा आगो बाल्ने व्यवस्था गरिएको हो।
जिल्ला वन कार्यालय, सःमिल, रामानन्द युवा क्लब, जकनपुर युथ क्लब, धर्म संस्थान, सिटी अस्पताल, राम युवा क्लब, महावीर युवा क्लब, स्टेशन एरिया युवा क्लब, विद्यापति युवा क्लब, मिथिला समाज सेवा समिति, जनकपुर अञ्चल अस्पताल, बृहत्तर क्षेत्र विकास परिषद् र गणेश युवा कमिटीले आगो बाल्ने व्यवस्था गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार जनकपुर नगरपालिकाले ५० क्विन्टल दाउरा सहयोग दिएको छ र रेडक्रस धनुषाले बाल्ने कार्यमा सघाउ पुर्यासइरहेको छ। त्यस्तै पशुलाई समेत बचाउन सरोकारवाला सबै निकायलाई परिचालन गरिएको उनले बताए। शीतलहरबाट बच्न सचेतनात्मक सन्देश प्रसारण गर्ने व्यवस्था पनि गरिएको छ।
यसैबीच, विगत तीन दिनदेखि बढेको चिसाका कारण जनकपुरलगायत धनुषा जिल्लाको जनजीवन प्रभावित भएको छ। जनकपुर बजारमा मानिसको चहलपहलमा कमी आएको छ भने वित्तीय संस्थामा ग्रामीण क्षेत्रबाट आउने सेवाग्राहीको भिड देखिएको छैन। रासस

Leave a Reply

Your email address will not be published.