गच्छदारलाई आन्दोलनबाटै विस्थापित गर्ने गुप्ताको चेतावनी

Jay Prakash Guptaकाठमाडौं- दोस्रो संविधान सभा निर्वाचनबाट मधेसको ठूलो दल बनेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारलगायतका मधेसी नेतालाई विस्थापित गर्ने पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताले बताएका छन्। तराई मधेस राष्ट्रिय अभियानका संयोजक रहेका गुप्ताले चुनाव अघिदेखि नै फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलाई अमृतालिंगम् प्रवृत्तिका मतियारहरूको आरोप लगाउँदै आएका छन्।
गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियानले अब बन्ने संविधान सभाले राज्यको रूपान्तरणसहितको नयाँ संविधान निर्माण गर्न नसक्ने ठहरसमेत गरेको छ। जनकपुरमा सम्पन्न तराई मधेस राष्ट्रिय अभियान (तमराअ) को केन्द्रीय चिन्तन शिविरले मधेसको राजनीतिक आकांक्षाहरू पुरा हुने स्थिति नभएको भन्दै आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको हो।

निषकर्षसहितको विज्ञप्ती पढ्नुस्
जनकपुरमा तराई मधेस राष्ट्रिय अभियानको केन्द्रीय चिन्तन शिविर सम्पन्न भएको छ । यही पुसको ७ र ८ गते दुइ दिनसम्म चलेको यस शिविरमा मधेसका बिभिन्न जिल्लाहरूबाट गरी ६० जनाको सहभागिता थियो । अभियानका केन्द्रीय संयोजक जय प्रकाश गुप्ताले उद्घाटन गर्नु भएको शिविर अभियानको धनुषा जिल्ला संगठन निर्माण समितिका संयोजक प्रदीप हाथीको सभापतित्वमा सम्पन्न भएको हो । यस चिन्तन शिविरमा अभियानका नेताहरू आर.डी आजाद, देवेश झा र अमर मंडलले क्रान्तिकारी संगठनको निर्माण र त्यसका चुनौतिहरू, संविधान सभाको निर्वाचनमा मधेसी पार्टीको अवस्था र अब अभियानको दायित्व, संविधान सभाको निर्वाचनमा विजयी दलहरूको चरित्र र नयां संविधानको संभावना जस्ता बिषयहरूमा लिखित दिशापत्रका साथ गंभीर विचार विमर्श भएको थियो । यसैगरी चिन्तन शिविरमा तराई मधेस राष्ट्रिय अभियानका घोषणापत्रलाई अन्तिम रुप दिइएको छ ।

सम्पूर्ण सहभागीहरूको अन्तरक्रियात्मक विचार विमर्शको परिपाटीबाट सम्पन्न चिन्तन शिविरको निष्कर्षा

१) यस पटकको संविधान सभाको निर्वाचनपछि कथित मधेसी दलहरूको झुठो क्रान्तिकारिता स्वयं मधेसी जनताबाट नै तिस्कृत भैसकेको अवस्थामा मधेस आन्दोलनका भावी कार्यभारको निर्वाह तथा रक्षाकालागि तराई मधेस राष्ट्रिय अभियानलाई एक क्रान्तिकारी राजनीतिक संगठनमा रूपान्तरित गर्ने र यसका लागि ठोस संगठनात्मक आधारहरू खडागर्ने निष्कर्ष निकालिएको छ ।

२) अभियानको विचारमा अब  संविधान सभाले राज्यको रूपान्तरण सहितको नयां संविधान निर्माण गर्न सक्दैन। मधेसको राजनीतिक आकांक्षाहरू त झन्ने संविधान सभाको माध्यमबाट कुनैपनि अनुमानको आधारमा पुरा हुने स्थिति नै छैन । फलतः मधेसका अधिकारहरूको प्राप्तिकालागि एक मात्र बाटो तथा विकल्प आन्दोलन नै देखिएकोले बस्तुपरक तयारी गर्दै अहिंसात्मक आन्दोलनको दिशामा लाग्ने ठोस निष्कर्ष निकालेको छ ।

३) अभियानले भनेको छ-आउदो घटनाक्रमले स्पष्ट पार्दै लाने छ कि, संविधान सभामा मधेसी पार्टीहरूको कमजोर स्थितिले उनिहरूलाई झन् झन् सत्ता लम्पट बनाउने छ । मधेसी पार्टीहरू आफ्नो अस्तित्वको रक्षाकालागि मुलुकको स्थायी सत्ताका अगाडी झन् झन् समर्पणवादी हुदै जाने छन । आफ्नो भ्रष्ट कारवाहीहरूबाट जोगिन नेपाली राज्य सत्ताको लाचार मतियार   हुनेछन् । फलतः अबका दिनहरूमा संविधान सभाभित्र मधेसी दलहरू संसदीय भासका बेकम्मा फाजिल खेलाडी हुनेछन् ।

४) अभियानले भनेको छ-उपर्युक्त अवस्थामा क्रान्तिकारी मधेसी शक्तिको तत्काल निर्माण हुन नसकेमा मधेसी जनताले उपयुक्त विकल्पको अभावमा फगत भावनावश फेरी यिनै मधेसी दलहरूलाई परिवर्तनको वाहक मान्ने गलतीमा पर्नेछन् । जनताको यस मनःस्थितिको लाभ लिएर यिनै अवसरवादी मधेसी दलहरूले बिभिन्न नामधारी मोर्चा आदि बनाएर मधेसी जनतालाई झन् झन् शोषणमा पार्ने छन् ।

५) माथी भनिएको दुरावस्थाबाट मधेसी जनतालाई जोगाउन र आन्दोलनको वास्तविक शक्तिको निर्माण गर्न संविधान सभामा गएका सत्ता समर्पण र मुद्दा विर्सजनवादी दलहरूलाई वाहेकगरी क्रान्तिकारी चरित्रका आन्दोलनकारी गठबन्धनको निर्माण गर्ने निष्कर्ष निकालिएको छ ।

६) अभियानको दृष्टिमा संविधान सभा भित्रका मधेसी दलहरू अब नेपाली कांग्रेस-एमाले र एकिकृत माओवादीगरी दुइ खेमामा उनिहरूको अनुचर एवं सहयोगीको रूपमा ध्रुविकृत हुनेछन् । उनिहरूबाट संविधान सभामा मधेस आन्दोलनको उपलब्धिहरूको रक्षा र मधेसको भावनानुसारको राज्यको रूपान्तरण संभव नभएको निष्कर्ष निकाल्दै भनिएको छ-मधेसी राजनीतिका यी अमृतालिंगम प्रवृतिका मतियारहरू अब असान्दर्भिक भैसकेका छन् र अब नयां मधेस आन्दोलनबाट यिनीहरूलाई विस्थापित गर्नुपर्ने वेला आएको हो । अभियानले भनेको छ, जनकपुरको यस चिन्तन शिविरपछि तराई मधेस राष्ट्रिय अभियान अब एक क्रान्तिकारी राजनीतिक संगठन भएको छ ।

७) अभियानले निकट भविष्यमै मधेसका हरेक जिल्लाहरूमा आन्दोलनको तयारीका लागि आन्दोलनकारी जमातको निर्माण गर्दै जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको  छ । साथै यथाशिघ्र अभियानले केन्द्रीय समिति र कोर कमिटीको गठन गरी सोलाई सार्वजनिक गर्ने भनेको छ ।
जय प्रकाश गुप्ता
केन्द्रीय संयोजक               
जनकपुरधाम, पुस ९ गते, २०७०

Leave a Reply

Your email address will not be published.