ह्याङ आउट २ बर्दिया

bardiya-1अमृत भादगाउँले– पुलको डिलबाट मुन्तिर निहुरिएका मान्छे। नदी किनारमा घडियाल। मस्त घाम तापिरहेका। एउटा होइन, दुइटा होइन, दर्जनौं। तीभन्दा माथि–माथि उडिरहेका चखेवा जोडी! नेपालगन्जबाट पश्चिम लाग्दा बबई पुलमा नरोकिई अघि बढ्न मन मान्दैन। बबईमा मात्र होइन, बर्दिया राष्ट्रिय निकुञ्जको कर्नाली र त्यसका भँगालामा पनि गोही भेटिन्छन्। सयौं छन्, गोही। जाडो याममा घाम ताप्न किनारमा आउँछन्।
निकुञ्जको हेडक्वार्टर ठाकुरद्वारामा गोही प्रजनन केन्द्र छ। त्यहाँ घडियाल र मगर गोही छन्। गोहीका बच्चा मायालाग्दा देखिन्छन्। नजिकै कछुवा पालिएको छ। हेडक्वार्टर हातामै गैंडा छ। गैंडा आँखा देख्दैन। जंगल सफारीमा गैंडा देखिएन भने पर्यटक त्यसकै तस्बिर खिचेर चित्त बुझाउँछन्।
बर्दिया राष्ट्रिय निकुञ्जमा २४ वटा एक सिंगे गैंडा बस्छन्। सिजनमा (फागुन–जेठ) गैंडा र बाघ देखिन्छ। चित्तल, बँदेल, नीलगाई लगायत अरू जनावर पनि छन्।  निकुञ्जमा ५० वटा पाटेबाघ छन्। गर्मीमा पानी खान ती नदीमा आउँछन्। वारि बसेर पारिपट्टि सुन्दर बाघ क्यामेरामा कैद गर्न सकिन्छ। टाइटनिक फिल्मका नायक लियोनार्दो डि क्याप्रियोले २०६५ जेठमा एउटै फ्रेमभित्र पाँच बाघ खिचेका थिए। त्यो फोटो सार्बजनिक भएपछि बर्दियामा विदेशी पर्यटक संख्या बढेको छ।
जैविक विविधताले भरिपूर्ण निकुञ्ज ९६८ वर्ग किलोमिटरमा फैलिएको छ। मध्यवर्ती क्षेत्र ५०७ वर्ग किमि छ। २०२६ सालमा सिकार सुरक्षित वन घोषणा गरिएकामा २०४५ सालमा निकुञ्ज बनाइएको हो।
चरा हेर्नेहरूको पनि रोजाइमा पर्दै छ, बर्दिया। त्यहाँ ४ सय ६७ प्रजातिका चरा पाइन्छ। संरक्षित सूचीका कालो गरुड, सेतो गरुड, सानो खर मयुर, ठूलो खर मयूर र राज धनेश पनि। सामान्यतः जंगल सफारीमा आउने पर्यटक बर्दियामा दुई रात बिताउँछन्। तर, बर्ड वाचिङ गर्नेहरू हप्तौंसम्म बस्छन्।
वर्षमा करिब २५ हजार पर्यटक निकुञ्ज घुम्छन्। ‘धेरैजसो गोही प्रजनन केन्द्र र थारू संग्रहालय हेरेर आएकै दिन फर्कन्छन्,’ निकुञ्जका सहायक वार्डेन अशोक भण्डारी भन्छन्, ‘रातै बसेर जंगल एक्टिभिटिजमा सहभागी हुनेको संख्या १२ हजार छ।’
विद्यालय र सामुदायिक वनबाट आउनेहरू त्यही दिन फर्कन्छन्। हेडक्वार्टर हातामा सूचना केन्द्र र थारू जीवनशैली झल्काउने संग्रहालय छ। निकुञ्जबाहिर मध्यवर्ती क्षेत्रका शिव सामुदायिक वनमा घुम्नेको संख्या पनि ठूलो छ। साँझ डल्ला होमस्टेमा बसेर बिहान र दिउँसो वन घुम्छन्। त्यो वनमा पनि जंगली हात्ती, गैंडा, चित्तल, बाँदर, भालुलगायत जनावर र चराचुरुंगी छन्।
बर्दियामा दुई दर्जन गाइड क्रियाशील छन्। तिनमा महिलाको संख्या तीन छ। जंगल वाकमा गाइड अनिवार्य लानुपर्छ। जंगलमा चम्किला रङका कपडा लाउनु हुँदैन। भरसक हरियो रङको कपडा लाउनुपर्छ। आवाज ननिकाली, सुस्तरी हिँड्नुपर्छ।
निकुञ्जमा सयभन्दा बढी जंगली हात्ती छन्। हात्तीसारका १८ पालुवा हात्तीमध्ये दुइटा छावा हुन्। १२ हात्तीमा जंगल सफारी गराइन्छ। नेपालीले एक घन्टा हात्ती चढेको ५५० रुपैयाँ तिर्नुपर्छ। हात्तीको हौदामा एकैपटक चारजना बस्न मिल्छ।
धार्मिक दृष्टिले समेत निकुञ्ज क्षेत्र महŒवपूर्ण मानिन्छ। ठाकुरद्वारामा ठाकुर बाबा (विष्णु) मन्दिर छ। माघीमा त्यहाँ मेला लाग्छ। ठाकुरबाबा दर्शन गरे मनोकामना पूरा हुने विश्वास छ। काम बन्ने, प्रेम सफल हुने र सन्तान प्राप्त हुने जनविश्वास छ। त्यही विश्वासले नेपालीमात्र होइन, भारतीयसमेत आउँछन्। पूजापाठ गर्छन्।
बाबा बहिरा छन्, जोडजोडले चिच्याएर वर माग्नुपर्छ भन्ने भनाइ छ।
ठाकुरद्वारा वरपर थारू र पहाडे बस्ती छ। ठाकुरद्वारामा २० वटा रिसोर्ट छन्। सरकारी कार्यालय र एनजिओ/आइएनजिओहरूले ठाकुरद्वारामा गोष्ठी/तालिम गर्ने क्रम सुरु भएको छ। हुने–खाने नेपाली बिदा मनाउन त्यहाँ पुग्छन्।
‘बिहे, व्रतबन्ध गर्न र साथीभाइ मिलेर रमाइलो गर्न आउँछन्,’ थारू होम रिसोर्टका सञ्चालक मोहन थारू भन्छन्,  ‘बर्दियामा स्वदेशी/विदेशी सबैलाई स्वागत छ।’
सस्तोमा खान/बस्न र घुम्न मध्यवर्ती क्षेत्रमा होमस्टे सुविधा छ। सूर्यपटुवा–४ डल्ला गाउँका २२ घरमा। डल्ला थारू गाउँ भएकाले त्यहाँ थारू परिकार र जीवनशैली पाइन्छ।
गाउँमा सय धुरी छन्। ती मध्ये ८० घर थारूका। आँगन–पिँडी सफा छन्। खर, काठ र माटोले बनेका। सफा कोठा। सफा बेड। मायालु वातावरण। साँझ सामुदायिक भवनमा सांस्कृतिक कार्यक्रम देखाइन्छ। दुई हजार रुपैयाँ तिरेपछि झुमरा, लठ्ठी, मजिरा र छोकरा नृत्य हेर्न पाइन्छ।
शिव सामुदायिक वनका उपभोक्ताले संरक्षणसँगै पर्यटनबाट आम्दानी लिन होमस्टे चलाएका। होमस्टेले चहलपहल बढाएको छ। आम्दानी भएको छ। तीन वर्ष नपुग्दै होमस्टेमा २० हजारभन्दा बढीले रात बिताइसके। विश्व वन्यजन्तु कोषको तराई भूपरिधि कार्यक्रम ‘ताल’को सहयोगमा उनीहरूले २०६७ फागुनबाट होमस्टे सुरु गरेका। होमस्टे व्यवस्थापन समितिले पाहुना आलोपालो मिलाएर घर–घरमा बाँड्छ।
खाना र बासको मेनुअनुसार पैसा तिर्नुपर्छ। १३ सय रुपैयाँको प्याकेज पनि छ। प्याकेजमा डिनर, ब्रेकफास्ट, बास र स्वागत सुविधा हुन्छ। होमस्टेमा दालभात, तरकारी, अचारदेखि थारू खाना घोंगी, चिँचर, माछा, लोकल कुखुरा, मुसाको पकुवा, महुवाको रक्सी आदि पाइन्छ।
होमस्टे सुविधा लिन पहिल्यै खबर गरेर जानुपर्छ। त्यसो भयो भने उनीहरू फूलमालाले पाहुनाको स्वागत गर्न गाउँको मुखमै आइपुग्छन्। मौसमअनुसार चिया/सर्वत खुवाएर गाउँको चिनारी दिन्छन्।  bardiya-2
पर्यटक रमाउने धेरै कुरा हुँदाहुँदै पनि बर्दियामा प्रशस्तै विदेशी पुग्न सकेका छैनन्। काठमाडौंदेखि मोटर यात्रा लामो हुनु र काठमाडौं–नेपालगन्ज हवाई भाडा महँगो पर्नुले विदेशी कम आएका व्यवसायीको ठम्याइ छ। तेस्रो विश्वका पर्यटकलाई दिल्ली हुँदै महेन्द्रनगरबाट नेपाल निम्त्याउन सके सस्तो पर्छ। त्यसका लागि संगठित प्रयास हुनुपर्छ।
बर्दिया घुम्ने नेपालीको संख्या पनि चित्तबुझ्दो छैन। दिपायल, धनगढी, महेन्द्रनगर, नेपालगन्ज, सुर्खेत, दैलेख र दाङसम्मका नेपालीले मात्रै सप्ताहन्त मनाउने थलो बनाउन सके पनि बर्दियाको पर्यटनले ठूलो राहत पाउन सक्छ। ठाकुरद्वाराका पर्यटनकर्मीले नेपालीलाई आकर्षित गर्ने अभियान चलाउन ढिला भइसक्यो। नेपाल वाइल्ड लाइफ रिसोर्टका प्रबन्ध निर्देशक भीमबहादुर शाही भन्छन्, ‘सरकार र पर्यटन बोर्डले पनि बर्दियाको मार्केटिङमा ध्यान दिनुपर्योल।’
बर्दिया मलाई मन पर्छ। केही दिनअघि त्यहाँको फाँटामा क्याम्पिङ गर्न पाइयो। रैका ट्राभल्सका अमर शाही दाइसँगै हामीले अबेरसम्म क्याम्प फायर गर्यौंअ। राति निकुञ्जभित्र टेन्टमा सुत्दा नौलो अनुभव सँगाल्यौं। पर्यटकलाई टेन्टमा सुताउन उनले भर्खरै प्याकेज बनाएका छन्।
व्यस्त दैनिकी पन्छाएर दुई–चार दिन त्यहाँ रमाउन सकिन्छ। ह्याङ आउट हुन ठाकुरद्वारा उपयुक्त छ। चैत–बैसाखमा बाघ देखिन्छ। बर्दिया घुम्ने मुख्य सिजनमा म त्यहाँ पुग्न पाएको छैन। त्यसैले बाघका फोटा मसँग छैनन्। बाघ खिच्न आउँदो चैतमा म फेरि त्यहाँ जानेछु।

होमस्टे मेनु
विवरण  परिमाण रुपैयाँ
दालभात  पेटभरि  १००
मासुभात पेटभरि  १८०
ढिकरी  सेट  ५५
रक्सी  गिलास  ४०
कोठा  डबल  ४००
सम्पर्क :  ९८४४८२३३०८ (परशुराम चौधरी)
कम पर्यटक
अशोक भण्डारी
सहायक वार्डेन, बर्दिया राष्ट्रिय निकुञ्ज
वाइल्ड लाइफ डेस्टिनेसनका हिसाबले बर्दिया राम्रो ठाउँ हुँदाहुँदै पनि पर्यटक कम आउँछन्। विदेशीलाई काठमाडौं–नेपालगन्ज हवाई भाडा महँगो पर्छ। बर्दियाको प्रचार राम्रोसँग भएको छैन। हाइवेदेखि ठाकुरद्वारासम्म आउन पक्की सडकको अभाव छ। औराही खोलामा पुल नबन्नाले पनि केही समस्या छ।
सांस्कृतिक पुनःजागरण
परशुराम चौधरी
अध्यक्ष, होमस्टे व्यवस्थापन समिति डल्ला
होमस्टे सुरु भएपछि विदेशमा समेत डल्ला गाउँ चिनिन थाल्यो। हाम्रा हराइसकेका नाचहरूको पुनःजागरण भएको छ। झुमरा, लठ्ठी, मजिरा र छोकरा नाच ब्युँतिएको छ। पर्यटनबाट आम्दानी हुन थालेको छ। गाउँ पहिलाभन्दा सफा भएको छ।

वाइल्ड वेस्ट सफारी
सुदूरपश्चिमको मुढेगाउँ (डोटी)मा जन्मिएका अमरबहादुर शाहीले बर्सेनि काठमाडौंका पत्रकारलाई आफ्नै खर्चमा मध्य र सुदूरपश्चिमका पर्यटकीय क्षेत्र घुमाउँदै आएका छन्। पाँच वर्ष भयो यसरी घुमाउन थालेको। मिडियामार्फत ती क्षेत्रका सांस्कृतिक, प्राकृतिक र ऐतिहासिक सम्पदा प्रचार गर्ने उनको चाहना।
उनकै अगुवाइमा काठमाडौंको राष्ट्रिय सभागृहमा गत जेठमा तीन दिन ‘मध्य र सुदूरपश्चिम पर्यटन महोत्सव’ मनाइयो। एकीकृत प्रयासबाट मात्रै मध्यपश्चिम र सुदूरपश्चिमको पर्यटन विकास गर्न सकिने उनको धारणा छ।
उनी पश्चिमको पर्यटन प्रवर्द्धनमा जुटेका छन्। उनले मंसिर अन्तिम साता काठमाडौंका आधा दर्जन पत्रकारलाई नेपालगन्ज, बर्दिया, टीकापुर, घोडाघोडी, शुक्लाफाँटा र धनगढी घुमाए। उनको रैका ट्राभल्सले राराताल, बर्दिया, शुक्लाफाँटा समेटेर ‘वाइल्ड वेस्ट ट्र्यांगल’ प्याकेज बेच्दै आएको छ। उसले भर्खरै नेपाली लक्षित दुई प्याकेज बनाएको छ। तीन रातको ‘वाइल्ड वेस्ट सफारी’ प्याकेजमा एक रात होटलमा बसाइन्छ भने दुई रात बर्दिया निकुञ्जभित्र क्याम्पिङ। प्याकेज मूल्य– १० हजार रुपैयाँ।
त्यस्तै ५ रात ६ दिनको ‘वाइल्ड वेस्ट कल्चर सफारी’ प्याकेज। बर्दियामा दुई, टीकापुर, शुक्लाफाँटा र धनगढीमा एक–एक रात बसाइन्छ। प्याकेज मूल्य– २० हजार रुपैयाँ। दुवै प्याकेजमा चारजना हुनुपर्छ। काठमाडौं–नेपालगन्ज हवाई भाडा यसमा समावेश छैन। ‘दिगो पर्यटनका आधार आन्तरिक पर्यटक नै हुन्,’ ट्राभल्सका प्रबन्ध निर्देशक शाहीले भने, ‘त्यसैले जनवर धेरै देखिने सिजन फागुन–बैसाखसम्ममा नेपालीलाई घुमाउँछौं।’
खर्च
६५,००० रुपैयाँ। यति रकमले काठमाडौं–ठाकुरद्वारा–काठमाडौं बस भाडा तिर्न, दुई रात होटलमा खान, बस्न र हात्ती सफारी गर्न पुग्छ। जीप सफारी र कोसेलीका लागि थप रकम चाहिन्छ।
यातायात
पूर्वपश्चिम राजमार्गको अम्बासाबाट दक्षिणपश्चिम १३ किमिभित्र ठाकुरद्वारा। काठमाडौंबाट–ठाकुरद्वारा बसमा १४ घन्टा। नेपालगन्ज–ठाकुरद्वारा ९० किलोमिटर। नेपालगन्जबाट दिउँसो १२, २ र ४ बजे बस छुट्छन्।
के लाने?
कोसेली  
बेतनीमा लक्ष्मण कुमालले माटोबाट बनाएका गैंडा, हात्ती, देवता, खुत्रुके। थारू महिलाले प्राकृतिक रेशाबाट बुनेका ढकी, फूलदानी, पेन होल्डर आदि रिसोर्टहरूमै पाइन्छ। डल्लाका शेरबहादुर परियारले बनाएका बेतका सामानहरू।
नागरिक दैनिकबाट साभार

2 thoughts on “ह्याङ आउट २ बर्दिया

Leave a Reply

Your email address will not be published.