समानुपातिक निर्वाचनको सिट बाँडफाँड, थरुहटको पोल्टामा दुई सिट

काठमाडौं- नयाँ संविधान सभामा ३० दलको सहभागिता हुने भएको छ। अघिल्लो संविधानसभामा २५ दलको सहभागिता रहेको थियो। निर्वाचन आयोगले मङ्सिर ४ मा सम्पन्न संविधानसभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत दलले प्राप्त गरेको मतसङ्ख्याको आधारमा सिट बाँडफाँड गर्दा सो सहभागिता हुने देखिएको हो। निर्वाचनमा भाग लिएका १२२ दलमध्ये ३० दलले मात्र सो निर्वाचन प्रणालीअन्तर्गतको सिट सङ्ख्या प्राप्त गर्न सफल भएका हुन्। यसपटक निर्वाचनमा कम्तीमा २१ हजारभन्दा बढी मत प्राप्त गरेका दलले एक सिट प्राप्त गरेका छन्। देशलाई एउटै निर्वाचन क्षेत्र निर्धारण गरी दलले प्राप्त गरेका मतका आधारमा संविधानसभामा सिट सङ्ख्या बाँडफाँड हुने निर्वाचन प्रणाली नै समानुपातिक निर्वाचन हो। नेपालमा विसं २०६४ मा सम्पन्न पहिलो संविधानसभामा पहिलोपटक यसको प्रयोग गरिएको थियो। मतविभाजक सुत्रका आधारमा सिट विभाजन भएको थियो।

आयोगमा आज आयोजित कार्यक्रममा समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृत नगेन्द्र दाहालले दलले प्राप्त गरेका मतसङ्ख्या र दलले प्राप्त गरेका सिट बाँडफाँडको जानकारी दिनुभयो। निर्वाचन अध्यादेश अनुसार अब दलले प्राप्त गरेका सिट सङ्ख्यामा बन्दसूचीबाट उम्मेदवारका नामावली मङ्सिर २५ गतेभित्र आयोगमा पेस गर्नुपर्नेछ।

यसरी उम्मेदवार पेस गर्दा ५० प्रतिशत महिला, मधेसी पुरुष १५.६ र महिला १५.६, दलित महिला ६.५र पुरुष ६.५, उत्पीडित जाति जनजाति पुरुष १८.९ र महिला १८.९, पिछडिएका वर्ग २.२ र खस आर्य तथा अन्य पुरुष १५.१ र महिला १५.१ प्रतिशत पेस गनुपर्नेछ।

समानुपातिक निर्वाचनको कुल ३३५ सिट सङ्ख्या रहेको छ। सो निर्वाचनमा भाग लिएका १२२ दलका तर्फबाट दसहजार ७०९ उम्मेदवार चुनावी मैदानमा रहेका थिए। समानुपातिक निर्वाचनमा कुल मत ९४ लाख ६३ हजार ८६२ मत खसेको आयोगले जनाएको छ। ती मतका आधारमा आगामी संविधानसभामा ३० दलको सहभागित हुने देखिएको हो।

यसरी सहभागी हुने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेकपा (माले), तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट), नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, समाजवादी जनता पार्टी, मधेसी जनअधिकार फोरम नेपाल र राष्ट्रिय जनमोर्चा सहभागी हुने भएका हुन्।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (संयुक्त), नेपाली जनता दल, नेपाल मजदुर किसान पार्टी, दलित जनजाति पार्टी, तराई मधेस सद्भावना पार्टी नेपाल, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), नेपाः राष्ट्रिय पार्टी, सङ्घीय सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा, अखण्ड नेपाल पार्टी, थरुहट तराई पार्टी नेपाल, सङ्घीय समाजवादी पार्टी नेपाल, जनजागरण पार्टी नेपाल, मधेस समता पार्टी नेपालको संविधानसभामा सहभागिता हुनेछ।

निर्वाचन आयोगका अनुसार नेपाली काँग्रेसले २४ लाख १८ हजार ३७० मत प्राप्त गरी सबैभन्दा बढी ९१ वटा सिट प्राप्त गरेको छ। कुल सिट ३३५ मध्येको २७.१६ प्रतिशत हो। यसपछि नेकपा (एमाले)ले २२ लाख ३९ हजार ६०९ मत प्राप्त गरी ८४ वटा, एकीकृत नेकपा (माओवादी)ले १४ लाख ३९ हजार ७२६ मत प्राप्त गरी ५४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ६ लाख ३० हजार ६९७ मत प्राप्त गरी २४ सिट प्राप्त गरेको आयोगले जनाएको छ।

नेकपा (माले) ले एक लाख ३० हजार ३०० मत प्राप्त गरी पाँच, तराई मधेस लोकतान्त्रिक पार्टीले एक लाख १८ हजार १४० मत प्राप्त गरी सात, सद्भावना पार्टीले एक लाख ३३ हजार २७१ मत प्राप्त गरी पाँच, राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ६० हजार २३४ प्राप्त गरी १० सिट, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)ले दुई लाख ७४ हजार ९८७ मत प्राप्त गरी १०, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट)ले २१ हजार १२८ मत प्राप्त गरी एक सिट, नेपाल परिवार दलले ५१ हजार ८२३ मत प्राप्त गरी दुई सिट, राष्ट्रिय जनमुक्ति पार्टीले ६३ हजार ८३४ मत प्राप्त गरी दुई, समाजवादी जनता पार्टीले २१ हजार ६२४ मत प्राप्त गरी एक, मधेसी जनअधिकार फोरम नेपालले दुई लाख १४ हजार ३१९ मत प्राप्त गरी आठ, राष्ट्रिय जनमोर्चाले ९२ हजार ३८७ मत प्राप्त गरी तीन सिट प्राप्त गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) ले ९१ हजार ९९७ मत प्राप्त गरी तीन सिट, नेपाली जनता दलले ३३ हजार २०३ मत प्राप्त गरी एक सिट, नेपाल मजदुर किसान पार्टीले ६६ हजार ७७८ मत प्राप्त गरी तीन सिट, दलित जनजाति पार्टीले ४८ हजार ८०२ मत प्राप्त गरी दुई सिट, तराई मधेस सद्भावना पार्टी नेपालले ६२ हजार ७४६ मत प्राप्त गरी दुई सिट, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक), ३३ हजार ९८२ मत प्राप्त गरी एक सिट, नेपाः राष्ट्रिय पार्टीले २८ हजार ११ मत प्राप्त गरी एक सिट, सङ्घीय सद्भावना पार्टीले २५ हजार २१५ मत प्राप्त गरी एक सिट, राष्ट्रिय मधेस समाजवादी पार्टीले ७९ हजार ५०८ मत प्राप्त गरी तीन सिट, खुम्बुवान राष्ट्रिय मोर्चाले ३० हजार ६८६ मत प्राप्त गरी एक सिट, अखण्ड नेपाल पार्टीले ३६ हजार ८८३ मत प्राप्त गरी एक सिट, थरुहट तराई पार्टी नेपालले ६२ हजार ५२६ मत प्राप्त गरी दुई सिट, सङ्घीय समाजवादी पार्टी नेपालले एक लाख २१ हजार २७४ मत प्राप्त गरी पाँच सिट, जनजागरण पार्टी नेपालले २७ हजार ३९७ प्राप्त गरी एक सिट, मधेस समता पार्टी नेपालले २३ हजार एक मत प्राप्त गरी एक सिट प्राप्त गरेको छ।
समानुपातिक निर्वाचनमा कम्तीमा २१ हजार मत प्राप्त गरेका दलले एक सिट प्राप्त गरेका छन्। निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको सिट बाँडफाँडको जानकारी दिन बोलाएको बैठकमा दलका नेता तथा प्रतिनिधिको सहभागिता रहेको थियो। बैठकमा एकीकृत नेकपा (माओवादी)का प्रतिनिधिको भने सहभागिता रहेको थिएन।

-विष्णु नेपाल/रासस

Leave a Reply

Your email address will not be published.