नेपालद्वारा पपुवा न्युगिनी पराजित

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं- युएईमा जारी आइसीसी विश्व टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र पपुवा न्यू गिनी (पिएनजी) बीचको आजको खेलमा नेपालले पिएनजीलाई सात विकेटले पराजित गरेको छ। युएईको शारजाहँ क्रिकेट रंगशालामा खेलिएको सो खेलमा पिएनजीले दिएको १४१ रनको विजयी लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर प्राप्त गरेको थियो।
आजको खेलमा नेपाली खेलाडीहरू विनोद भण्डारीले २३ बलमा आक्रामक ५१ रन तथा कप्तान पारस खड्काले १९ बलमा २६ रन बनाएका थिए। उनीहरू दुवै अन्त्यसम्म आउट भएनन्। विनोदले आक्रामक ६ छक्का र एक चौका हिर्काएका थिए भने पारसले एक छक्का र एक चौका हानेका थिए। साथै, सुवास खकुरेलले ३८, सागर पुनले १० र ज्ञानेन्द्र मल्लले १० रन बनाएका थिए।
यसअघि टस जितेर ब्याटिङ रोजेको पिएनजीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रन बनाएको थियो। पिएनजीका लागि बेलायतका तर्फबाट टेस्ट र एकदिवसीय खेल खेलिसकेका चर्चित विकेटकिपर ग्यारेथ जोन्सले सबैभन्दा बढी ५५ रन बनाएका थिए।
इएसपीएन क्रिकइन्फोका अनुसार नेपाली बलरमध्ये कप्तान पारस खड्काले ३, अमृत भट्टराईले २ र जितेन्द्र मुखियाले एक विकेट लिएका थिए। समूह ख मा रहेको नेपालले ४ खेलबाट ६ अङ्क जोड्दै समूहको दोस्रो स्थानमा छ। यस समूहमा समान ६ अङ्क रहेको नेदरल्यान्ड्स रनरेटका कारण समूहमा पहिलो स्थानमा रहेको छ।
समूह ख मा नेपालसहित पिएनजी, केन्या, बर्मुडा, नेदरल्यान्ड्स, अफगानिस्तान, स्कटल्यान्ड र डेनमार्क रहेका छन्। नेपालले यसअघि केन्या र डेनमार्कलाई पराजित गरेको थियो भने स्कटल्यान्डसँग पराजित भएको थियो। रासस

Leave a Reply

Your email address will not be published.