फोरम लोकतान्त्रिक ठूलो तेस्रो पार्टी बन्छ : गच्छदार

भद्रपुर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले पूर्वदेखि पश्चिमसम्म पार्टीका उम्मेदवारको पक्षमा जनलहर देखिएकाले यो निर्वाचनमा मधेसी जनअधिकार फोरम तेस्रो ठूलो शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन्। झापा क्षेत्र नं ३ को बनियानीमा चुनावी सभालाई सम्बोधन गर्दे उनले झापाबाट नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादी पार्टीका व्यक्तिले विगतमा जितेर गए पनि जिल्लाको विकास गर्न नसकेकाले विकासका लागि यसपल्टको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरे। 
ठूल्ठूला आश्वासन दिने, राजनीतिलाई कमाउने भाँडो बनाउने व्यक्तिलाई पार्टीले उम्मेदवार नबनाएको उल्लेख गर्दै उनले इमान्दार र नैतिकवानलाई मात्र आफूहरुले उम्मेदवार बनाएको दाबी गरे। राज्यको विभेदमा परेका आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम समुदायको हकअधिकार र उत्थानका लागि पाँच वर्षअघि पार्टीको स्थापना भएको चर्चा गर्दै अध्यक्ष गच्छदारले यी पीडित शोषित समुदायको उत्थानका लागि पार्टी प्रतिबद्ध रहेको छ भने।
सो अवसरमा झापा क्षेत्र नं ३ बाट सो पार्टीका उम्मेदवार भारतेन्दु मल्लिकले सेवा र विकासका लागि निर्वाचनमा उम्मेदवार भएकाले आफूलाई विजयी गराउन आग्रह गरे। रासस

Leave a Reply

Your email address will not be published.