कैलालीमा डेङ्गुको जोखिम बढ्यो

डेङ्गु रोग लागेका जोशीपुरको १० बर्षीय बालक सञ्जु चौधरीको सेती अञ्चल अस्पतालमा उपचार हुँदै। तस्बिर : अविनाश चौधरी
डेङ्गु रोग लागेका जोशीपुरको १० बर्षीय बालक सञ्जु चौधरीको सेती अञ्चल अस्पतालमा उपचार हुँदै। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरीधनगढी‍- केहि बर्षदेखि देखिन थालेको डेङ्गु रोगको प्रकोप यसबर्ष कैलालीमा बढेको छ। यसपाली स्थानीय स्तरकै गरेर पन्ध्र जना डेङ्गु बिरामी फेला परेपछि स्वास्थ्यकर्मीले चिन्ता र चासो व्यक्त गरेका छन्।
सेती अञ्चल अस्पतालका डा. शुभेषराज कायस्थले यो बर्ष १५ जना डेङ्गुको बिरामी फेला परिसकेको जानकारी दिएका छन्। उनले केही बिरामीहरु यतै बस्दा समेत डेङ्गु रोग लाग्नुले यो क्षेत्रमा डेङ्गुको खतरा बढेको पुष्टी भएको बताए।
चिकित्सा विज्ञान अनुसार कुनै एक ठाउँमा एक बिरामी मात्रै फेला पर्दा त्यस वरपर तीन सय ५० देखि चार सय डेङ्गुको बिरामी फेला पर्ने सम्भावना रहेकोे डा. कायस्थले बताएका छन्। उनी भन्छन्–’स्थानीय स्तरमै बिरामी फेला परेकाले कैलाली र कञ्चनपुर डेङ्गुको उच्च जोखिममा छ।’
यसअघि भारतमा काम गर्न गएका नेपाली कामदारहरु उतैबाट डेङ्गुको शिकार भएर फर्किने गरेकोमा कैलालीमा यसबर्ष पहिलो पटक स्थानीय स्तरकै बिरामी देखा परेका हुन।
डा. कायस्थले १५ जना बिरामी फेला परेको जनाएपनि जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले ११ जनाको तथ्याङ्क राखेको छ। जनस्वास्थ्यका अनुसार यो बर्ष फेला परेका बिरामीमध्ये सात जना भारतबाट डेङ्गु रोग बोकेर आएका नेपाली कामदार हुन। तर, चार जना कैलालीमै बस्ने बिरामी रहेका छन्।
धनगढी स्थित चटकपुरका जगदीश जोशी, कृष्ण चौधरी, भन्सारका शेर बहादुर लामा, दोदोधराका गोपाल साउँद, पहलमानपुरका विजयराज स्वाँर, उदासीपुरका प्रदेशु चौधरी, टीकापुरका तीर्थ देवकोटा र जोशीपुरका १० बर्षीय बालक सञ्जु चौधरीलाई डेङ्गु रोग लागेको जनस्वास्थ्यले जानकारी दिएको छ। अहिले सेती अञ्चल अस्पतालमा उपचार भइरहेको बालक सञ्जु चौधरीको अवस्था गम्भिर रहेको चिकित्सकले जानकारी दिएका छन्।
त्यस्तै, कञ्चनपुरका नरेश मल्ल र सुमित बिकलाई पनि डेङ्गु रोग देखा परेको छ। दुबै जना भारतमा काम गर्न जाँदा उतैबाट डेङ्गु बोकेर आएका बिरामी हुन। अहिले दुई जना बिरामीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। बाँकी अन्य उपचारपछि घर फर्केका छन्।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत जय बहादुर कार्कीले विगत दुई बर्षको तुलनामा यस पटक डेङ्गुको बिरामी बढेको बताए। उनले डेङ्गु रोगबाट बच्न विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएपनि बिरामी बढ्दो क्रममा देखिएको जनाए।
डेङ्गुको बिरामी फेला परे लगत्तै रोकथामका लागि सरकारले बृहत्तर रणनीति अपनाउनु पर्ने डा. कायस्थको भनाई छ। उनले भने–’बिरामी खोज्ने र उपचार गर्ने काम हाम्रो हो। तर, यसलाई नियन्त्रण गर्न सरकारले तुरुन्तै दीर्घकालिन रणनीति अपनाउनुपर्छ।’ जिल्ला जनस्वास्थ्य प्रमुख कार्कीले गत साल कैलालीमा ‘सर्च एण्ड डिस्ट्रवाई’ अभियान सञ्चालन गरेपनि डेङ्गु रोकथामका लागि यो बर्ष कुनै कार्यक्रम नरहेको जानकारी दिएका छन्।
एडिस एजिप्टी नामक सङ्क्रमित पोथी लामखुट्टेको टोकाईबाट डेङ्गु रोग मानिसमा सर्ने गर्दछ। यो लामखुट्टेले सफा र स्थिर पानीमा फूल पार्ने र सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै टोक्ने गरेको चिकित्सकहरु बताउँछन्।
सामान्यतयाः भदौ महिनादेखि कार्तिक अन्तिमसम्म एडिस एजिप्टी लामखुट्टेको चहल पहल रहने गरेको र मध्य मङ्सिरसम्म बिरामी फेला पर्ने गरेको डा. कायस्थले बताए। डेङ्गु रोग लागेको पाँच दिनपछि मात्रै बिरामी फेला पर्ने गरेको उनले जानकारी दिए।
ज्वरो आउने, हात खुट्टा धेरै दुख्ने, रुघाखोकी लाग्ने डेङ्गु रोगको लक्षण हो। नाक, मुख तथा मलद्वारबाट रक्तस्राव हुने र रक्तचाप कम भएपछि बिरामी जटिल अवस्थामा पुग्नेे गरेको डा. कायस्थको भनाई छ। ‘हामीले यहि अवस्था हुन नदिन उच्च निगरानीमा उपचार गर्ने गरेका छौं’, उनले थपे–’यो अवस्थामा नपुगेका धेरै बिरामी बाँच्छन्।’
दिउँसो टोक्ने लामखुट्टेको टोकाईबाट बच्नु नै डेङ्गु रोगबाट बच्ने सजिलो उपाय रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कार्कीको भनाई छ। यो रोग लागेका बिरामीको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने गर्दछ।
सन २०१० देखि कैलालीमा डेङ्गु रोग देखिन थालेको हो। त्यस बेला २४ जना बिरामी देखा परेपछि सरकारले यो क्षेत्रमा डेङ्गुको महामारी रहेको घोषणा गरेको थियो। २०११ मा दुई जना र २०१२ मा नौ जना बिरामी फेला परेका थिए। सन २०१० र २०१२ मा एक/एक गरेर हालसम्म कैलालीमा दुई जना बिरामीको डेङ्गु रोगबाट मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published.