यमपञ्चक सुरु

Diyoकाठमाडौं- आजदेखि नेपालीको घरआँगनमा दोस्रो ठूलो चाड दीपावली प्रारम्भ भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया गरी पाँच दिनसम्म तिहार मनाउने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ। बहिनी यमुनालाई धर्मात्मा यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाएको र यमुनाले दाजुलाई पुजेका कारण यस पर्वलाई यमपञ्चक भनिएको पुराणमा उल्लेख छ। तिहारलाई दाजुबहिनी वा भाइबहिनीको प्रगाढ सम्बन्धको प्रतीकको रुपमा लिइने गरिन्छ। भाइटीकाको दिन दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने गर्छन् भने दिदीबहिनीले विभिन्न परिकार दिएर पूजा गरी माला पहिराउँछन्।
उक्त कार्यबाट आपसी स्नेहमा वृद्धि भई दाजुभाइको यश तथा आयु बढ्ने र उनीहरू सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ। भाइटीकाको साइत कात्तिक १९ गते बिहान ११:२७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
झिलिमिली उज्यालो, फूलैफूलको रमझम, मिठाइ तथा सेलका परिकार खाने, घरपालुवा र घरआँगन निकट रहेका पशुपक्षीप्रति सम्मान, देउसीभैलो र अन्य नाचगान, नेपालको मौलिक सम्वत् नेपाल सम्वत्को प्रारम्भ, आफ्नो जीवनको आत्मसमीक्षा गरिने पूजा अर्थात् म्हपूजा पनि तिहारका विशेषतामा पर्दछन्।

यमपञ्चकको पहिलो दिन कागतिहार समस्त नेपालीले आ–आफ्नो घरआँगनमा कागलाई बोलाई विभिन्न परिकारको चारो दिएर पूजा गर्ने गर्दछन्। उक्त दिन कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने विश्वास छ। नेपाली समाजमा कागलाई सन्देशवाहक पक्षीका रूपमा लिने गरिन्छ। बिहानपख काग कराएमा त्यसलाई शुभ साइत मानिन्छ। आज साँझ यमदीप दान गरिन्छ।
त्यसैगरी समुद्र मन्थनबाट उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरीको सम्झनामा आज धन्वन्तरी दिवस पनि मनाइँदै छ। देवता र दानव मिलेर वासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा धन्वन्तरीको उत्पत्ति भएको पुराणमा उल्लेख छ। धन्वन्तरी जयन्तीलाई चिकित्सकले शुभ सङ्कल्प तथा शुभकार्य प्रारम्भ गर्ने दिनका रूपमा लिने गरेका छन्।
आयुर्वेद चिकित्सा क्याम्पस, नरदेवीको स्थापना भएदेखि नेपालमा धन्वन्तरी जयन्ती मनाउन थालिएको हो। धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसका रुपमा विसं २०५६ देखि मनाउन थालिएको छ।

तिहारको दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्द्धन र गोरुपूजा तथा नेवार सम्प्रदायमा म्हःपूजा (आत्मपूजा) गर्ने प्रचलन र अन्तिम दिन भाइटीका गरी जम्मा पाँच दिन तिहार मनाइन्छ।
तिहारको लक्ष्मी पूजा, गोवर्द्धन पूजा र भाइटीका समेत गरी तीन दिन नेपाल सरकारले सरकारी विदासमेत दिने गरेको छ। लक्ष्मीपूजा र गोवर्द्धन पूजाको दिन केटाकेटी तथा युवा जम्मा भई आ–आफ्ना छिमेकीका घरघरमा पुगी देउसी–भैलो खेल्ने प्रचलनका कारण तिहारलाई सांस्कृतिक पर्व पनि भनिन्छ।
वैदिक कालमा बली राजाले आफ्नो राज्यभरि झकिझकाउका साथ दीपावली गरेर विष्णुलाई खुसी तुल्याएकाले यमपञ्चकभर तीनै लोकको राज्यभोग गर्न पाउने वरदान पाएको तथा यस अवधिमा धनकी देवी महालक्ष्मीले सबैको घरमा बास गरी धनधान्यले पूर्ण पारिदिएको कथा पनि यो पर्वसँग जोडिएको छ। रासस

Leave a Reply

Your email address will not be published.