शान्ताको प्रतिबद्धता पत्रमा कमलरीका लागि आवास

shantaसन्तोष दहित, दाङ- नेकपा एमाले क्षेत्र नम्बर २ का उम्मेदवार शान्ता चौधरीले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन्। उनले चुनाबी प्रतिबद्धता पत्रमा कृषि र सडकलाई प्राथमिकतामा राखेकी छन्। प्रतिबद्धता पत्रमा दाङलाई नमूना बनाउन आर्गानिक खेती प्रणालीलाई अघि बढाउने र घोराहीमा जैविक मल उत्पादन कारखाना स्थापना गर्ने उल्लेख गरेको छ। अभिभावकविहीन मुक्त कमलरीका लागि सुविधा सम्पन्नसहितको बाल संरक्षण केन्द्र तथा होस्टेल स्थापनाका लागि दाङको सिसहनियामा स्थापना गर्ने प्रतिबद्धतामा उल्लेख छ। चौधरीले मुक्त कमलरीका लागि विगतको संविधान सभामा पनि आफ्नो पहलमै नै १२ करोडको बजेट विनियोजित गराएकी थिइन्।

प्रतिबद्धता पत्रको पूर्ण पाठ
‘बहुपहिचानसहितको संघियता—सामाजिक सद्भावसहितको राष्ट्रिय एकता
दाङ क्षेत्र नं. २ को समग्र विकास र उन्नतीका लागि हाम्रो प्रतिवद्धता’

नेकपा एमाले क्षेत्र नं. २

उमेद्वार कमरेड शान्ता चौधरीको प्रतिवद्धता

आदरणीय जनसमुदाय,
ऐतिहासिक शान्तिपूर्ण जनक्रान्तिपछि बनेको पहिलो संबिधानसभाबाट निरंकुश राजतन्त्रको अन्त्यगर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिए पनि एमाओवादी र मधेसी मोर्चाद्धारा सबैको साझा फूलबारीको रुपमा रहेको सिंगो नेपाल र यस सुन्दर फूलबारीमा मिलीजुली बसिरहेका हामी नेपालीहरुको राष्ट्रियता र सामाजिक सदभाव नै तहसनहस पार्नेगरी पहाडमा १२ एकल जातिय प्रदेश र तराईमा एक मधेश दुई प्रदेशको राज्य पुनःसंरचना गर्ने राष्ट्रघाती प्रयास असफल भएपछि नियोजित ढंगले यस मुलुकमा नयाँ संविधान जारी हुन दिईएन र सिंगो संविधानसभालाई नै अवसन गराईयो। फलस्वरुप मुलुक यतिबेला पूनः संबिधानसभाको दोश्रो निर्वाचनको दौडमा अगाडी बढीरहेको छ। विगत संबिधानसभाको निर्वाचनमा नेकपा एमालेलेे दांग जिल्ला सहित समग्र देशभरबाट सोचे अनुसारको सफलता हाँशिल गर्न नसक्दा यो राष्ट्रले ठूलेा पराजयको पिडा खेप्नु परेको यथार्थता त छदैछ त्यसका अलावा यस क्षेत्र नं. २ का साथै सिंगो दांग जिल्लाबाट जितेर जानेहरुबाट विकासको मार्गदर्शन हुने नीति र कार्यक्रम नै नहुदाँ यस बिचमा धेरै जनपक्षिय कार्यहरु समेत हुन सकेनन। यसबाट पुष्ट्याइ हुन्छ की “अरु पार्टीले हार्दा त्यो पार्टी र त्यसका उमेदवारले मात्रै हार्दो रैछ तर नेकपा एमालेका उमेदावारहरुले हार्दा सिंगो देशले नै हार्दो रैछ।”
यो यर्थाथलाई आत्मसात गर्दै हाम्रो पार्टी नेकपा (एमाले) ले यसै भूमिमा जन्मे हुर्केकी एउटा त्यस्तो श्रृजनसिल र परिश्रमी ब्यक्तित्व जस्ले अघिल्लो संविधान सभामा भूमिहिन एवं पूर्व कम्लरी जस्तो अति बिपन्न बर्गको प्रतिनिधित्व गर्दै संविधान सभाको सभासद भएर यस क्षेत्रको चौतर्फी विकासका लागि आफु सक्दो लगानी र योगदान दिनुका साथै संसदको प्राकृतिक स्रोतसाधन व्यवस्थापन समितिको सभापती जस्तो महत्वपूर्ण जिम्मेवारीलाई समेत अत्यन्त प्रभावकारी ढंगले सम्पादन गर्नु भएको थियो। वहाले जीवनमा गरेको संघर्षमय प्रगति र सभासद भएर खेलेको प्रभावकारी भूमिकाकै कारण आजका दिनसम्म राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चाको शिखरमा रहनु भएकी पूर्व सभासद एवं लेखिका शान्ता चौधरी यहि मंसिर ४ गते हुन गैरहेको संविधान सभा निर्वाचनमा हाम्रो पार्टीको तर्फबाट दांग क्षेत्र नं २ को उम्मेदवार हुनु भएको हुदाँ नेकपा (एमाले)को चुनाव चिन्ह सूर्य मा मतदान गरी क.शान्ता चौधरीलाई अत्यधिक बहुमतका साथ बिजयी गराई मुलुकलाई सामाजिक न्यायसहितको लोकतान्त्रिक संबिधान दिन सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौ।
साथै यहाँहरुको विवेक तथा बृद्धिमतापूर्ण निर्णयका साथ प्राप्त हुने अमूल्य मतले नेकपा एमालेको अभूतपूर्व विजय हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं। नेकपा एमालेले एकमना सरकार बनाउन पाउँदा जनताको पक्षमा उ कति संवेदनशिल थियो भन्ने कुरा २०५१ को अल्पमतको सरकारमा हुँदा एमालेले पुष्टी गरिसकेको छ। त्यसपछिका सरकारका बेला पनि बिरोधीहरुका दवावका वावजुद विधवाभत्ता, कमलरी मुक्ती तथा छात्रबृत्ती, जनताको आवास कार्यक्रम, कर्णाली बिशेष कार्यक्रम जस्ता असंख्य जनजिविकासँग जोडिएका र पछाडि पारिएका बर्गलाई उत्थान गर्ने कार्यक्रमहरुको शुरुवात गरेको कुरा पनि सर्वविदितै छ।
हाम्रो केन्द्रीय घोषणापत्रले पाँच, दश र बिस बर्षे बिभिन्न कार्यक्रम ल्याएको छ। यहाँहरुको अमूल्य मतले विजयी भएपश्चात दाङ जिल्लाकै अत्यन्त दुर्गम क्षेत्र सहित विबिध प्रकारको भूगोलमा अवस्थित यस निर्वाचन क्षेत्रको समग्र विकासमा लागि कमरेड शान्ता चौधरी र सिंगो पार्टीको तर्फबाट निम्न प्रतिवद्धताहरुको संक्षिप्त स्वरुप यहाँहरु समक्ष व्यक्त गर्न चाहन्छौ।

नीतिगत प्रतिवद्धता :
• राज्य पुर्नसंरचनापश्चात दांगलाई यस प्रदेशको राजधानी बनाउने।
• यस क्षेत्रका गाविसहरुलाई त्यहाँको उत्पादन, पहिचान, सामर्थ्य र संस्कृतीका आधारमा नमूना गाविसहरुको रुपमा विकास गर्ने।
• यस क्षेत्रका भूमिहिनहरुको उचित व्यवस्थापन गरी उनीहरुलाई सिपमुलक तालिम दिइ उनीहरुको आर्थिक र सामाजिक रुपान्तरणमा सहयोग पुर्‍याउने।केन्द्रीयस्तरमा भूमी व्यवस्थापन आयोग गठन गर्नका लागि सक्रिय पहल गर्ने।
• विपन्न र पछाडि पारिएका बर्गहरुलाई राज्यबाट प्राप्त हुने सेवा र सुविधामा उनीहरुको पहुँच अभिबृद्धि गर्ने।
• गरिव तथा विपन्नहरुसँग पनि असिमित क्षमता र सम्भावना हुन्छ भन्ने मान्यताका आधारमा गरिव, विपन्न र पछाडि पारिएका बर्गका बालबालिकाहरुको गुणस्तरिय शिक्षामा पहुँच बढाउने। साथै मातृभाषामा शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने।
• …युवालाई काम—राष्ट्र निर्माणमा योगदान’ भन्ने मान्यताका आधारमा उनीहरुलाई सिपमुलक तालिम दिइ रोजगार तथा व्यवसायमा सरिक गराइ उनीहरुको उर्जालाई राष्ट्र निर्माणमा समाहित गराउने।
• …सहभागिता आधा आकाश—अनि मात्र देश विकास’ भन्ने मान्यताका आधारमा मुलुकको आधा आकाश ओगटेका महिलाहरुलाई राज्यको हरेक तहमा समान सहभागिता बढाउन सशक्तिकरण गर्दै चेतना अभिबृद्धि गरी सरिक गराउने।
• बालबालिका हाम्रा सुन्दर भबिस्य हुन्, उनीहरुमा गरिएको आजको लगानीले नै भोलिको सुन्दर समाजको निर्माण हुने भएकाले जोखिम परिस्थितीमा रहेका बालबालिकाका लागि बिशेष कार्यक्रम सञ्चालन गर्ने। साथै बालमैत्री स्थानीय शासनको अवधारणालाई प्रबर्द्धन गर्न यस क्षेत्रका सबै गाविसहरुमा बालमैत्री नीति, कार्यक्रम र पर्याप्त बजेट विनियोजन गर्ने बातावरण तयार गर्ने।
• …ज्येष्ठ नागरिकलाई सम्मान—समाज र राष्ट्रकै शान’ भन्ने विचारका आधारमा नेकपा एमालेको नौ महिने सरकारले शुरु गरेको बृद्धभत्ता वितरण प्रणालीलाई बैज्ञानिकिकरण गरी सम्मानित ज्येष्ठ नागरिकहरुले घरदैलोमै बृद्धभत्ता बितरण गर्ने बातावरण तयार पार्ने।
• दलित, जनजाती, अपांग, पिछडा बर्ग, मुस्लिम, मधेशी, लोपोन्मुख जातजाती, अल्पसंख्यकहरुलाई विकासको मुल प्रवाहमा समाहित गर्दै उनीहरुले सम्मान महशुस गर्ने समाजको निर्माण गर्ने।
• आफ्नो क्षेत्रभित्रका जनताको बसोवास, शिक्षा, स्वास्थ्य, रोजगार सुरक्षा जस्ता आधारभुत कुराको परिपूर्तिसंगै विकास कार्यक्रमलाई जोडेर कार्यक्रम संचालन गर्ने।
• कृषि, पर्यटन, वन र जलस्रोत क्षेत्रको विकास गरी जनताको जिवनस्तर माथि उठाउने।
• कृषी पेशालाई सम्मानित र मर्यादित गराउदै कृषि क्षेत्रमा गरिने लगानी सुरक्षित गर्नका लागि सम्पूर्ण कृषकहरुलाई मल, बिउ तथा कृषि सामग्रीमा उचित सरकारी अनुदान र अनुदान एवं क्षतीपूर्ती सहितको बाली बीमाको नीतिगत ब्यवस्था लागु गर्ने।

क्षेत्र नं. २ का लागि क्षेत्रगत कार्यक्रमिक प्रतिवद्धता

सडक तथा भौतिक पूर्वाधार सम्बन्धि :
• एक गाविसदेखि अर्को गाविस र गा.वि.स.भित्रका वडाहरुलाई एकआपसमा जोड्ने भित्री सडकहरुको सञ्जाललाई ब्यापक रुपमा विस्तार र स्तरोन्नती गर्ने।
• भैसाही चोकदेखि प्यूठानको चैतेसम्म जोडने बि.पी. मार्गमा पर्ने खोलाहरुमा पक्की पुल सहित स्तरोन्ती गरी उक्त सडकलाई आगामी दुई बर्षभित्र कालोपत्रे गर्ने।
• घोराही—सिस्नेखोला–हर्नोक–मुर्कुटी हुदै प्यूठानको देविस्थान जोडने सडकको कालोपत्रे गर्ने कार्य आगामी दुई बर्षभित्र पुरा गर्ने।

• मौरीघाट–हाँसीपुर–हुदै मुर्कुटी प्यूठान जोडने गणत्रन्त्र मार्ग, बेलदमार–चाकलीघाट हुदै हाँसीपुर जोडने सडक, कुइरेपानी—रनघडा हुदै धर्ना जोडने सडक, गोगली चोकदेखि सवारीकोट जोडने सडक, गोग्ली–बबई जोडने कृषि सडक,कुईरेपानी–रामपुर–हर्नोक–बोजपोरा(स्यूजा) देखि स्वर्गद्धारीसम्म जेाडने सडक,दामोदर सडक लगायतका सडकहरुको निमार्ण तथा स्तरोन्नती गर्ने।
• घोराही—मर्पेस—बोचपोखरा–अरङ्गखोला हुदै स्वर्गद्धारी जेाडने सडक, घोराही—कटुवाखोला हुदै सैघा गा.वि.स.जोडनेे सडक, हाँसिपुर स्वामीघाट देखि स्याला–धारापानी–छापडाँडा हुदै मुर्कुटी जोडने सडक,काभ्रे पुरुङ्ग देखि लोहारपानी–१ जोडने कृषि सडक, भालुबाङ्ग–मौरीघाट कृषि सडक, सालभौरी देखि सिसहनिया–करङ्गकोट–हाँसीपुर हुदै प्यूठान जोडने सडक, भालुबाङ्ग–सेनिघोस–रुपाकोट–देविकोट–करङ्गे–थकरीकोट–सोरठी–लमही शहीद मार्ग, लोहारपानीको अर्जुनखोला–झेलनेटा हुदै अमारे जोडने सडक,लक्ष्मीपुर बगियादेखि सुर्केडाँगी खलियान सम्म जोडने सडक, हर्नोक देखि स्यूँजा बोजपोखरोे सडक लगायतका सडकहरुको निमार्ण तथा स्तरोन्नती गर्ने।
• स्यूजा देखि स्वर्गद्धारीसम्म जेाडने अरङ्गखोला,लालमटिया–२ देखि गोबरडिहा –२ जोडने राप्ती नदी तथा सिसहनियाको पिपरा र पिपरीलाई जेाडने सानो नदी, श्रीनारायण चोकदेखि उत्तर मौरीघाट दौलेखोला लगायतका खोलाहरुमा पक्की पुल निर्माण गर्ने।
• सैघा गा.वि.स.को स्वर्गद्धारीघाट स्थित तल्लो खोला र सिसहनिया–हाँसिपुर जोडने तिस्वा खोलाको लिन डुमईघाटमा झोलंगे पूल निर्माण गर्ने।
• घोराही—होलेरी—स्वर्गद्वारी सडक खण्डको स्तरोन्नती गरी कालोपत्रे गर्ने ।
• स्यूजा—स्वर्गद्वारी केवुलकार निर्माणको कार्य अघी बढाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने।

कृषी र सिचाइ सम्बन्धि :
• रासायनिक मलको अभावलाई पूर्ती गर्न जैविक मलको उपयोग र उत्पादनमा समेत दाङ जिल्लालाई नमूना बनाउन अर्ग्यागनिक खेति प्रणालीलाई अघी बढाउनुका साथै घोराहीमा जैविक मल उत्पादन कारखाना स्थापना गर्न पहल र प्रयत्न गरिने।
• कृषि बजारको प्रर्बधनका लागि भालुवाङ्ग र रामपुरमा शीतभण्डार निर्माण गरिने। सिसहनिया, गोग्ली , मुर्कुटी र बोजपोखरामा ब्यवस्थित कृषि बजारको बिकास गरिने।
• रामपुर,लक्ष्मीपुर ,सिसहनिया र लालमटिया गाविसका केही क्षेत्रलाई तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गरी त्यसको बजारीकरणको समेत उचित प्रबन्ध मिलाउने ।
• स्यूजा गा.वि.स.को वडा नं २ र ३ को जग्ग्ाामा बाह््ै महिना सिंचाई हुनेगरी बल्जुरे सिंचाई योजना, काभे्र मानाखोला गहतेराको तल्लो तथा उपल्लो कूलो सिंचाई योजनालाई अघी बढाईने छ। त्यसैगरी हाँसीपुरको डोटे सिंचाई आयोजनाका साथै चलिरहेका अन्इ सिचाइ कुलाहरुलाई समेत पक्की गर्ने ।
• सिसहनिया लालमटिया र काभ्रे गा.वि.स.को केही भागलाई मौसम अनुकुलको फलफूल खेतीको पकेट क्षेत्रका रुपमा विकास गरी दांगलाई फलफूलमा आत्म निर्भर जिल्लाको रुपमा अगाडी बढाउने।
• लोहारपानी, हाँसिपुर ,स्यूजा, काभ्रे, सैघा तथा लालमटिया गा.वि.स.को भालुवाङ्ग देखि उत्तर गहनाखोला सिमानासंगको बस्तीलाई बाख्रापालनको पकेट क्षेत्रका रुपमा विकास गरिनेछ। सो का लागि बिपन्न बर्गका जनतालाई बाख्रापालनका लागि सरकारी अनुदान सहितको कर्जा उपलब्ध गराउन बिशेष पहल गरिने।
• किसानले पशुपंक्षी पालनमा गरेको लगानीलाई सुरक्षित गर्दै पशुपंक्षीबाट उत्पन्न हुने रोगहरुका कारण आम जनस्वास्थ्य र स्वंय पशुपंक्षीहरुको स्वास्थ्यमा समेत नकारात्मक असर पर्न गई किसानहरुको लगानी डुब्ने हुदाँ पशपंक्षीको नियमित चेकजाँचका लागि हरेक गा.वि.स.मा कम्तिमा एकजना पशु स्वास्थ्य प्राविधिकको ब्यवस्था गर्ने।
• खानेपानी ,तटबन्ध तथा नदी नियन्त्रण सम्बन्धि :

• हाँसिपुर वडा नं.३,६,७ र ९ को बस्तीलाई जैरेकुईरेको मूलबाट खानेपानी योजना निमार्ण गरी स्वच्छ खानेपानी उपलब्ध गराउने।
• सैघा,स्यूजा सहित यस क्षेत्रका सबै गा.वि.स.हरुमा भएको पानीको अभावलाई आगामी ३ बर्षभित्र परिपूर्ति गरी यस क्षेत्रका सबै वासिन्दालाई स्वस्थ र स्वच्छ खानेपानीको सुबिधा उपलब्ध गराउने।
• बिशेषगरी सिसहनिया, लालमटिया, सोनपुर लगायत सिंगो देउखुरी उपत्यकामा राप्ती नदी तथा सानो नदीले बर्षेनी गर्ने कटान तथा डुबानको समस्यालाई नियन्त्रण गर्नका लागि केन्द्रिय स्तरमै पहल गरेर तटबन्धन गरी दिर्घकालिन रुपमा यसको समाधान गरिने।

शिक्षा र स्वास्थ्य सम्बन्धि :
• सबै सामुदायिक बिद्यालयमा दरबन्दी अनुसार बिषयगत शिक्षकको पूर्ण ब्यवस्था गर्ने ।
• मौरीघाट स्थित प्राविधक शिक्षालयमा कृषि, भेटेनरी तथा आई.टी. जस्ता ब्यवहारिक बिषयको स्नातक सम्मको पढाई सूचारु गर्न र यस क्षेत्रका बासिन्दालाई निश्चित कोटा सम्ममा निशुल्कः अध्ययनको ब्यवस्था मिलाउनका लागि विशेष पहल र प्रयत्न गरिने।
• हाँसीपुर ,स्यूजा, सैघा, काभ्रे , लोहारपानी भित्रका सामुदायिक मा.बि.मध्ये संभाब्यताका आधारमा हरेका गाविसकोकम्तिमा एक सामुदायिक माविलाई उच्च मा.बि.मा परिणत गर्ने ।
• रामपुर क्याम्पस र लालमटिया क्याम्पसलाई पूर्वाधारसम्पन्न क्याम्पसको रुपमा विकास गर्ने।
• यस क्षेत्रमा रहेका सबै तहका सामुदायिक बिद्यालयहरुको भौतिक पूर्वाधार निमार्ण तथा मर्मत, बिद्यालय कक्षा कोठा निमार्ण तथा संचालनका लागि आवश्यक बजेटको प्रबन्ध मिलाउने।
• यस क्षेत्रमा रहेका मदरसाहरुमा मातृभाषाका साथै कम्तिमा आधारभूत तह (१—८ कक्षा) को शिक्षा प्राप्त गर्ने केन्द्रका रुपमा विकास गर्ने।
• प्रत्येक गाविसका स्वास्थ्य चौकीहरुको स्तर बृद्धि गरी २४ घण्टे प्रसुती सेवा र एम्वुलेन्स सहितको स्वास्थ्य केन्द्र स्थापना गर्ने।
• यस क्षेत्रमा रहेका पहाडी गा.बि.स.हरुमा मासिक रुपमा प्रजनन स्वास्थ्य तथा बालरोग सम्बन्धि बिशेषज्ञ सहितको स्वास्थ्य शिविरहरु संचालन गरेर आमा र बच्चाको बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्दै बाल तथा मातृ मृत्युदर शुन्यीकरण अभियान संचालन गर्ने।

पर्यटन र संस्कृति संरक्षण :
• लक्ष्मीपुर–५ सवारीकोटमा उत्तरतर्फका हिमालहरु र पश्चिम तर्फ तराइको फाँट हेर्न भिउटावर स्थापना गरि यस क्षेत्रलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्ने।
• हाँसीपुरको देविकोट देवी मन्दीर, स्यूजाको बागेश्वरी मन्दिर र धिमधिमे लेक क्षेत्र तथा छरछरे झरनाको संरक्षण गरी पर्यटकीय स्थलका रुपमा विकास गर्ने।
• सवारीकोटमा नमूना मगरग्राम व्यवस्थापन,होमस्टे संचालन तथा प्यारा ग्लाईडिङ्गको पूर्वाधार विकासका लागि नेपाल पर्यटन बोर्ड र संस्कृती मन्त्रालयसंग समन्वय गरी नमूना पर्यटन केन्द्रको अवधारणा सहितको बिस्तृत कार्य योजना निर्माण गरिने।
• सबै प्रकारका मठ मन्दीर, एवं संस्कृतिको संरक्षण र उत्थानका लागि सबै जातीहरुको संस्कृति संरक्षण एवं उत्थान प्रतिष्ठानको स्थापना गरी संरक्षण गर्ने।
• रामपुरको चरिङ्गे दह, भोटेदह तथा किचेनी दह तथा लक्ष्मीपुरको सुकीदहमा डयाम् बाँधी सिंचाई सुविधा उपलब्ध गराउनुका साथै उचित संरक्षण गरी पर्यटकिय क्षेत्रका रुपमा समेत विकास गरिने।
महिला बालबालिका तथा युवा सम्बन्धि :
• …बिद्यालय शान्ति क्षेत्र’ भन्ने अभियानलाई कार्यान्वयन गर्ने ।
• बिभिन्न बिद्यालयहरुलाई बालमैत्री अध्ययन केन्द्रको रुपमा सञ्चालन गर्न प्रोत्साहन गर्ने।
• दुई बर्ष भित्र क्षेत्र न्ंा. २ का सबै गा.वि.स.लाई लैंगिक हिंसामुक्त क्षेत्रमा रुपान्तरण गर्न प्रयत्न गर्ने ।
• महिलाहरुको घरायशी कार्यबोझ घटाउने खालका कार्यक्रम सञ्चालन गरिनुका साथै महिलाहरुलाई सिपमुलक तालिम दिइ व्यवसाय सञ्चालन गर्न सक्षम हुने बातावरण निर्माण गरी आत्मनिर्भर बनाउने कार्यक्रमहरु लागु गरिनेछ।
• महिला शशक्तीकरण सम्बन्धि नीति निर्माणका साथै महिलाको सरोकार राख्ने हरेक क्षेत्रमा महिलाहरुको अर्थपूर्ण सहभागिता गराउन पहल र प्रयत्न गर्ने।
• …एक घर, एक युवा रोजगार’ को अभियान सञ्चालन गरी प्रभावकारीढंगले कार्यान्वयन गर्ने ।
महिला दलित, जनजाती, मधेशी, मुस्लिम, अल्पसंख्यक र उपेक्षित बर्ग सम्बन्धि :
• मुक्त कमैयाका बालबच्चा सहित अशक्त ,अपांग, टुहुरा र असहाय बालबालिकाहरुका लागि सिसहनियामा सुविधा सम्पन्न बालसंरक्षण केन्द्र स्थापना गर्ने ।
• भूमिहिन, मुक्त कमैया एवं कम्लहरी ,पछाडि पारिएका जातजाती, धर्म, सम्प्रदायका हरेक व्यक्तीले समाजमा सम्मानपूर्ण जीवनयापन गर्ने बतावरण सिर्जना गर्ने।
• मुक्त कमैया, दलित, जनजाती, मधेशी, मुस्लिम, अल्पसंख्यक र उपेक्षित वर्गका व्यक्तीहरुलाई सिपमुलक तालिम दिइ आयआर्जनमा सरिक गराउने।
• राज्यका हरेक तहमा दलित, जनजाती, मधेशी, मुस्लिम, अल्पसंख्यक र उपेक्षित वर्गका व्यक्तीहरुको सहभागिता सुनिश्चित गरिनेछ।
बिविध तर्फ
• स्थापीत सामुदायिक सञ्चारमाध्यमको प्रवर्द्धनमा सहयोग गरिनेछ ।सबै बिद्यालयमा बिधुतीकरण गरी इन्टरनेट सेवामा बिद्यालयको पहुँच बिस्तार गरिनेछ।
• यस क्षेत्रका सबै गा.वि.स.मा विद्युतीकरण गरिनुका सार्थै सञ्चारको सुविधाको पहुँचलाईभरपर्दो र प्रभावकारी गराईने छ ।
• भालुवाङ्गको फोहर ब्यवस्थापनका लागि बहुउद्धेश्यिय अत्याधुनिक डम्पीङ्ग साईड निमार्णको बिस्तृत गुरुयोजना तयार गरिनेछ।
• यस क्षेत्रका सबै गा.वि.स. सहित सिंगो दांग जिल्लालाई यथासिघ्र खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने अभियानमा महत्वपूर्ण भूमिका खेल्ने।
• अनियन्त्रीत वन फडानी र अतिक्रमणलाई निरुत्साहित गरिनुका साथै।यस क्षेत्रका खोलाहरुमा तटबन्धको व्यवस्था गरी भूसंरक्षण गरिनेछ।
अन्त्यमा,
हाम्रो पार्टी र यस पार्टीका उम्मेदवार क.शान्ता चौधरीले चुनावमा बिजय गरेपश्चात हाम्रो तर्फबाटे यस क्षेत्रको समग्र विकासका लागिगरिने यी कार्यक्रमहरु अगाडि सारेका छौं। यस क्षेत्रको समग्र विकासका लागि यती कुराले मात्रै पूरा हुन सक्दैन। यीवाहेक अझै थुपै्र हुन्छ। तसर्थ यहाँहरुको सल्लाह र सुझाव अनुसारका यी कार्यक्रमसँगै अन्य कार्यक्रमहरुलाई पनि अगाडि बढाईने छ। त्यसैले यस पटकको संविधान सभा निर्वाचनमा यहाँहरुले नेकपा(एमाले) र यस पार्टीको दांग क्षेत्र नं.२ की उमेदवार क.शान्ता चौधरीलाईविश्वास गर्नुहोस् र सूर्य चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराउनुहोस। हामी सिंगो नेपाली समाजको आमूलपरिवर्तनका लागि दृढ अठोटसहित अगाडि बढ्ीरहेका छौं। यहाँहरुले हामीलाई मतदान गर्नुहोस्, हामी यो देशका जनतालाई सुन्दर भबिष्य दिनेछौं।
धन्यवाद्।

Leave a Reply

Your email address will not be published.