आलम हत्या अभियोगमा पूर्वसभासद् पक्राउ

Ramchandra kuswahaकाठमाडौं- नेकपा एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलमको हत्या अभियोगमा सोही दलका पूर्व सभासद् रामचन्द्र प्यासी कुसवाहसहित दुईजना पक्राउ परेका छन्। एमाले राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यसमेत रहेका कुसवाहसँगै भारतीय नागरिकद्वय अतिक खान र राजु श्रीवास्तवलाई प्रक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बारामा आज पत्रकार सम्मेलन गरी अभियुक्तत्रयलाई सार्वजनिक गरिएको ब्यूरोले विज्ञप्ति जारी गरेर जनाएको छ। पत्रकार सम्मेलनमा ब्यूरोले आक्रमणमा संलग्न दुईजनाको रेखाचित्र पनि सार्वजनिक गरेको थियो। आलम हत्यामा अभियुक्तहरूको संलग्नता रहेको पर्याप्त प्रमाण प्राप्त भएको पनि विज्ञप्तीमा उल्लेख छ।
अभियुक्तहरूले भारतबाट ‘सार्प सुटर’ ल्याएर आलमको हत्या गरेका प्रहरीको भनाइ छ। गत असोज १८ गते पथलैया–वीरगञ्ज सडकमा भारतमा दर्ता भएको मोटरसाइकलमा आएका बन्दुकधारीले आलमको टाउकामा गोली प्रहार गरेका थिए। काठमाडौँमा उपचारका क्रममा असोज २४ गते उहाँको निधन भएको थियो।
कलैयास्थित रासस समाचारदाताका अनुसार छ महिना अघिदेखि आलमको हत्या योजना बनाइएको र अभियुक्त कुशवाहले भारतीय नागरिकहरुलाई ल्याएको पत्रकार सम्मेलनमा ब्युरोका प्रमुखले जानकारी दिनुभएको थियो।
अभियुक्तहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति पनि लिइसकेको छ। रासस

Leave a Reply

Your email address will not be published.