स्वागतमा दुई हजार बढी सवारीसाधन प्रयोग गरेको भन्दै गच्छदारविरुद्ध उजुरी

Bijay Kumar Gachhadarबिराटनगर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारको स्वागतमा पार्टीको झण्डा र चुनावचिन्ह अंकित दुई हजार भन्दा बढी सवारीसाधन प्रयोग गरिएको बिरूद्धमा बिहीबार निर्वाचन आयोगमा उजुरी परेको छ। चुनावको आचारसंहिता उल्लघन गरेको भन्दै दुई पार्टी मधेसी जनअधिकार फोरम नेपाल र तराई–मधेस लोकतान्त्रिक पार्टीले आयोगको बिराटनगरस्थित कार्यालयमा लिखित उजुरी बुझाएको छ। साढे १२ बजेको यति एयरलायन्सबाट विराटनगर उत्रिएका नेता गच्छदारको स्वागतको लागि विमानस्थलमै दुई हजार भन्दा बढी सवारीसाधनका उनका नेता–कार्यकर्ता र समर्थक उपस्थित भएका थिए। एयरपोर्ट नजिकैको एबि पेट्रोलियमको कुपन थमाइएका मोटरसाइकल सवारहरुले गच्छदारको ‘जयजयकार’ गरेका थिए। एयरपोर्टको विशिष्ट अतिथि कक्षकै द्वारमा पुगेका गच्छदारका समर्थकहरुले उनको स्वागत गरेका थिए।
गच्छदार चढेको गाडिको अगाडी र पछाडी सयौंको संख्यामा मोटरसाइकल र गाडिले उनको स्कटिङ गरेर विराटनगर बजार परिक्रमा गराएको थियो। गच्छदारको लवालस्करले बजारको ट्राफिक व्यवस्था घण्टौं अस्तव्यस्त बनेको थियो। ‘गच्छदारले निर्वाचनको आचारसंहिता बिरुद्ध हजारौं गाडि प्रयोग गरेकाले निर्वाचन कार्यालयमा लिखित उजुरी गरेको हुँ,’ मधेसी जनअधिकार फोरमका काशीराम राजवंशीले भने,‘झण्डावाला गाडि दुईवटा मात्र प्रयोग गर्न भनिएको थियो, तर उनको स्वागतमा ५० भन्दा बढी प्रयोग गरिएको थियो।’
निर्वाचन कार्यालय मोरङका प्रमुख झंकनाथ शर्माले गच्छदार स्वागतमा प्रयोग गरिएको गाडिको बिरुद्धमा उजुरी परेको स्वीकार्दै कार्वाहीका लागि मुख्य निर्वाचन आयुक्तको कार्यालयमा पत्र पठाइएको बताए।
विराटनगरको विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै नेता गच्छदारले फोरम लोकतान्त्रिक पार्टी मधेसकै ठूलो पार्टी बन्ने दाबी गरे। ‘चुनावपछि मेरो पार्टी नेपाली राजनीतिको किङ मेकर हुन्छ,’ उनले भने,‘स्थिर सरकार बनाउन मेरो पार्टीले योगदान गर्नेछ।’
उनले आगामी संविधान सभा निर्वाचनमा कुनै पनि मधेसी दलसँग आफ्नो पार्टीको तालमेल नभएको बताए। उनले पार्टीले तराई, पहाड र हिमालमा गरी प्रत्यक्षतर्फ ७५ स्थानमा उम्मेदवार उठाएको जानकारी दिँदै आगामी निर्वाचनपछि फोरम लोकतान्त्रिक मुलुकको तेस्रो ठूलो राजनीतिक शक्ति हुने दाबी गरे।
उनले निर्वाचनमा कुनै पार्टीको बहुमत नआएमा चार पार्टीको संयुक्त सरकार निर्माण हुने सम्बन्धमा सहमति कायम भएको जानकारी पनि दिए। अध्यक्ष गच्छदारले संसदबाट सबै जातजातिको प्रतिनिधित्व हुने भएकाले कार्यकारी प्रधानमन्त्री र आलङ्कारिक राष्ट्रपति हुने शासकीय स्वरूप हुनुपर्ने बताए।
उनले तराईको चितवन पश्चिम थरुहट प्रदेश एवं पूर्वमा मधेस प्रदेशसहित १० स्वायत्त प्रदेशको सङ्घीयता कायम हुनुपर्ने पार्टीको धारणा रहेको पनि प्रष्ट पारे। सुनसरी क्षेत्र नं ३ र मोरङ क्षेत्र नं ७ का उम्मेदवारसमेत रहनुभएका अध्यक्ष गच्छदारले विगत २० वर्षमा नभएको विकास आफूले त्यस क्षेत्रमा ५ वर्षको अवधिमा गरेको दाबी गरे।

Leave a Reply

Your email address will not be published.