‘अबको प्रधानमन्त्री देउवा वा गच्छदार’

Laxman Tharuमुकेश टेंर्रा, धनगढी- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका पोलिटब्युरो सदस्य लक्ष्मण थारुले फोरम लोकतान्त्रिक तराईको सबैभन्दा ठूलो दल बन्ने बताएका छन्। बुधबार धनगढीमा आयोजित पत्रकार भेटघाटमा उनले संविधान सभा सदस्य निर्वाचनमा फोरम लोकतान्त्रिकले तराईका ५० भन्दा बढी सिट जित्ने दाबी गरे। कैलाली क्षेत्र नम्बर ६ का उम्मेदवार र फोरम लोकतान्त्रिकको भातृ संगठन थरुहट लोकतान्त्रिक परिषद्का अध्यक्षसमेत रहेका थारुले फोरम लोकतान्त्रिकले समानुपातिकमा समेत आफूहरुले समावेशी बनाएकाले धेरै सिट पाउने बताए। 
फोरम लोकतान्त्रिकले तराईमा मात्रै नभएर पहाडमा समेत विस्तार भइसकेकाले संविधान सभाको ठूलो शक्ति बन्ने निश्चित रहेको थारुले बताए। तराईमा राजनीति गरिरहेका ६ वटा दलले एक सिटसमेत नजित्ने र ठूलो पार्टीका शीर्ष नेता कोही पनि नहार्ने टिप्पणी उनले गरे। विदेशी शक्ति केन्द्र र मतदाताले शीर्ष नेताहरुलाई संविधान सभामा ल्याउन चाहेकाले उनीहरुको जित सुनिश्चित भइसकेको थारुले बताए। तर शेरबहादुर देउवालाई मतदाता र विदेशी शक्ति केन्द्रले संविधान सभामा ल्याउनैपर्ने व्यक्तिको रुपमा नराखेकाले देउवाको जीत निश्चित नभइसकेको पनि उनले दाबी गरे। उनले कैलाली क्षेत्र नम्बर ६ मा आफ्नो जीत पनि सुनिश्चित भइसकेको बताए।
नेता थारुले संविधान सभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने सम्भावना शेरबहादुर देउवा र विजयकुमार गच्छदारको रहेको बताए। उनले संविधान सभाको निर्वाचन भइहालेमा आउँदो दुई वर्षसम्म नेपाल स्थानीय निकाय लगायतको निर्वाचनमा व्यस्त हुने र त्यसपछि मात्रै विकासको लागि अगाडि बढ्ने बताए।

Leave a Reply

Your email address will not be published.