कञ्चनपुरका १८८ मुक्त कमलरी अझै अर्काको घरमा

कञ्चनपुर- सरकारले कमलरीहरूलाई मुक्त घोषणा गरे पनि कञ्चनपुरमा अझै पनि कमलरी मुक्त भएका छैनन्। कमलरी उन्मूलनको पक्षका काम गर्दै आइरहेको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ कञ्चनपुरका अनुसार अझै पनि १८८ कमलरी मुक्त हुन सकेका छैनन्। कञ्चनपुर घर भएकाहरू विभिन्न जिल्लामा अझै पनि घरेलु काम गर्ने बाध्य भएको सो संस्थाले जनाएको हो। अझै पनि मालिकै घरमा दासत्वको जीवन बिताउन बाध्य रहेको सङ्घका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले बताउनुभयो। उनीहरूको उद्धार गर्न सरकारी निकायबाट पहलकदमी आवश्यक रहेको जैरुको भनाइ छ।

एक हजार १२९ मुक्त कमलरीमध्ये अझै पनि १८८ कमलरीहरू मालिककै घरमा काम गर्न बाध्य भएका हुन्। विभिन्न कारणले उनीहरू उद्धार हुन नसकेको उनले बताए। राष्ट्रिय समाज कल्याण सङ्घले ३ सय ५२ लाई छात्रवृत्तिमा विद्यालय पढाएको सङ्घको कार्यक्रम संयोजक विनोद विक्रम जैरुले बताए। संयोजक जैरुका अनुसार, ‘कञ्चनपुरमा ३०० भन्दा बढी मुक्त कमहरी विद्यालयमा अध्ययनरत छन्।’
प्राथमिक तहमा १४८, निमाविमा १०६, मावि ३८, उमावि १२, स्नातक दुई, स्वास्थ्यतिर हेल्थ असिस्टेन्स दुई र कृषि जेटिएमा एकजना जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत छन्। कक्षा १२ सम्म जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले उनीहरूको सम्पूर्ण व्यवस्था गरेको छ, भने स्नातक तहमा सङ्घले सहयोग गरेको छ। मुक्त नभएकालाई मुक्त गराउन सबै निकायको आवश्यक सहयोग र मुक्त हुनेबित्तिकै उनीहरूको पुनःस्थापना गर्नुपर्ने संयोजक जैरुको भनाइ छ। रासस

Leave a Reply

Your email address will not be published.