फोरम लोकतान्त्रिकका उम्मेदवार सिंहमाथि आक्रमण

सिरहा- मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) बाट सिरहा क्षेत्र नं ४ का उम्मेदवार शत्रुघ्नप्रसाद सिंहमाथि बुधबार राति आक्रमण भएको छ। बकरिदका अवसरमा बलकवा–४मा क्षेत्र नं ५ का उम्मेदवार जाबेद खाँको घरमा शुभकामना आदानप्रदान गर्न पुगेका बेला सिंहलगायत फोरम नेता तथा कार्यकर्तामाथि आक्रमण भएको हो। आक्रमणबाट उम्मेदवार सिंहले चढेको बा८च १७९२ र कार्यकर्ता चढेको बा३च ८८३७ नंको गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पूर्वराज्यमन्त्रीसमेत रहनुभएका सिंहको गाडीबाट आक्रमणकारीले रु एक लाख, पर्चा, पम्प्लेट र पार्टीका झन्डा लुटेर लगेको बताइएको छ। फोरम (लोकतान्त्रिक)बाट क्षेत्र नं ५ का उम्मेदवार रहनुभएका जाबेदको घरमा समेत तोडफोड गरिएको प्रहरीले जनाएको छ।

राति ८ बजेदेखि एक घन्टासम्म फोरम (लोकतान्त्रिक)का उम्मेदवार जाबेदका घरमा आक्रमणकारीले ढुङ्गामुढा गरेका थिए। आक्रमणबाट बच्न उम्मेदवार जाबेदको घरमा लुके पनि ढोका र झ्याल फोरेर आफूलाई मार्न खोजिएको उम्मेदवार सिंहले बताए। ‘शुभकामना आदानप्रदान गर्न बलकवा जाँदा गोलबजार प्रहरीलाई जानकारी गराएको थिएँ,’ उम्मेदवार सिंहले भने, ‘तैपनि सुरक्षाकर्मीले गम्भीर रूपमा लिएनन्, आक्रमण भएका बेला पनि एसपीलाई फोन गर्दा अहिले राति भएकाले सुरक्षा दिन नसक्ने प्रतिक्रिया दिए।’

 

नेपाली कांग्रेस क्षेत्र नं ५ का सभापति पद त्यागेर फोरम (लोकतान्त्रिक)मा प्रवेश गरेका चन्द्रदेव यादव पनि आक्रमण भएका बेला उम्मेदवार सिंहसँगै थिए। चन्द्रदेवले भने, ‘म कांग्रेस छाडेर फोरम (लोकतान्त्रिक)मा गएपछि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन्।’

प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले आक्रमणबारे थाहा पाउनेबित्तिकै सुरक्षाकर्मी परिचालन गरिएको बताए। उनले भने, ‘रातिको समय भएकाले सुरक्षा दिन अप्ठ्यारो भयो, घटनाबारे अनुसन्धान हुँदैछ।’ रासस

Leave a Reply

Your email address will not be published.