झापामा तीन दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा

झापा- अर्को संविधान सभा सदस्य निर्वाचनमा अधिकांश निर्वाचन क्षेत्रमा प्रमुख तीन दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। सात निर्वाचन क्षेत्र रहेको झापामा एकीकृत (माओवादी), एमाले र काँग्रेसले आआफ्नो प्रभाव जमाउन चर्चित नेतालाई उम्मेदवार बनाएपछि कडा प्रतिस्पर्धा हुने भएको हो। कुनै बेला एमालेले सबै क्षेत्र जितेको झापामा अघिल्लो संविधानसभा निर्वाचनमा एमाओवादीले पाँच वटा क्षेत्रमा प्रभाव जमाएको थियो।

एमाले कांग्रेसले एक–एक सिटमा चित्त बुझाएका थिए। एमालेका प्रभावशाली नेता केपी ओली, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र नेता चक्रप्रसाद बास्तोलाले पराजय भोगेका थिए। अघिल्लो निर्वाचनको प्रभाव कायम राख्‍न एमाओवादीलाई यसपटक निक्कै चुनौती छ।

कांग्रेस पनि यसपटक प्रभाव जमाउन पूरै शक्ति लगाएर लागिपरेको छ। तीन ठूला दलसँगै राप्रपा नेपाल, सङ्घीय समाजवादीलगायतका पार्टीले पनि पकड भएका नेतालाई उम्मेदवार तोकेपछि झापामा चुनावी सरगर्मी बढेको छ।

सात वटा क्षेत्रमध्ये पनि ७, ३ र १ मा कडा प्रतिस्पर्धा हुने भएको छ। दमक नगरपालिकासहित लखनपुर, धरमपुर र तोपगाछी गाविस रहेको क्षेत्र नं ७ मा ७३ हजार २६ जना मतदाता रहेका छन्। अघिल्लो निर्वाचनमा एमाओवादीका विश्वदीप लिङ्देनसँग पराजित एमाले नेता केपी शर्मा ओली त्यस क्षेत्रबाट चुनाव लड्दैछन्।

एमाओवादीले यस पटक गोपाल किराँतीलाई त्यस क्षेत्रबाट उम्मेदवार बनाएको छ। ओलीसँग भिड्ने तयारीमा रहेका एमाओवादी नेता वर्षमान पुनः पछाडि सरेपछि किराँती क्षेत्र नं ७ बाट चुनावी मैदानमा उत्रिएका छन्। यहाँ कांग्रेसबाट महासमिति सदस्य सुरेशकुमार सुब्बा लड्दैछन्। राप्रपा नेपालका केन्द्रीय परिषद् सदस्य रामकुमार थापा, सङ्घीय समाजवादीका जिल्ला उपाध्यक्ष दीपेनवाला राई र राप्रपाका दीपक खरेल पनि यहीबाट चुनाव लड्दैछन्।

मेचीनगर नगरपालिकासहित बाहुनडाँगी, धाइजन र शान्तिनगर गाविस रहेको निर्वाचन क्षेत्र नं १ मा ६४ हजार ३०२ जना मतदाता छन्। यस क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा हुने आम अनुमान छ। एमालेका झापा अध्यक्ष रवीन कोइराला, काँग्रेसका युवा नेता विश्वप्रकाश शर्मा र एमाओवादीका शालिन नेता बोधराज दाहाल यहाँबाट चुनावी मैदानमा उत्रिएका छन्। तीनै नेता प्रभावशाली युवा भएका कारण यहाँ प्रतिस्पर्धा हुने विश्लेषक बताउँछन्।

भद्रपुर नगरपालिकासहित जलथल, घेराबारी, पथरीया, केचना, पाठामारी, बनियानी, बालुबाडी, पृथ्वीनगर र महेशपुर गाविस रहेको क्षेत्र नं ३ मा ५९ हजार ४८३ मतदाता छन्। यहाँ यसपटक पनि काँग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला उठेका छन्। उनलाई यसपटक पनि पराजित गर्न अन्य दलका चर्चित नेता चुनावी मैदानमा उत्रिएका छन्।

सिटौलासँग एमाओवादी नेत्री धर्मशीला चापागाईं, उमालेका युवा नेता वसन्त बानियाँ र राप्रपा नेपालका केन्द्रीय सदस्य राजेन्द्र लिङ्ण्देन चुनाव लड्दैछन्। अघिल्लो निर्वाचनमा क्षेत्र नं ४ बाट जितेकी चापागाईंलाई एमाओवादीले जित्ने उम्मेदवारको रुपमा अघि सारेको हो। अन्य क्षेत्रको तुलानामा यो क्षेत्रमा ४ दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुनेछ।

दक्षिणी क्षेत्रमा राम्रो प्रभाव पारेका युवा नेता राजेन्द्र लिङ्देनले त्यही क्षेत्रबाट उम्मेदवारी दिएका कारण क्षेत्र नं ३ मा कडा प्रतिस्पर्धा हुने विश्लेषक बताँउछन्। राप्रपा नेपालले क्षेत्र नं ३ मा जित्ने दाबी गर्दै आएको छ।

सुरुङ्गा, घैलाडुब्बा, अर्जुनधारा, खुदुनाबारी, शनिश्चरे र बुधबारे बाबिस रहेको क्षेत्र नं ४ मा ७२ हजार ३८६ मतदाता रहेको क्षेत्र नं ४ मा काँग्रेसका जिल्ला सभापति उद्धव थापा, एमालेका प्रेम गिरी र एमाओवादीका पुरुषोत्तम चुडाल चुनावी मैदानमा उत्रिएका छन्। अघिल्लो निर्वाचनमा एमाओवादीले जितेको यस क्षेत्रमा यसपटक काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।

पाँचगाछी, सतासीधाम, शिवगन्ज, कुमरखोद, शरणामतीर टाघनडुब्बा, चकचकी, डाँगीबारी, राजगढ र गोलधाप गाविस रहेको क्षेत्र नं ५ मा काँग्रेसका तर्फबाट यसपटक पनि केशवकुमार बुढाथोकी चुनावी मैदानमा छन्। अघिल्लो निर्वाचनमा झापाबाट काँग्रेस यही क्षेत्रमा मात्र आफ्नो प्रभाव कायम राख्न सफल भएको थियो।

बुढाथोकीसँग एमालेका एलपी साँवा र एकीकृत (माओवादी)का झापा अध्यक्ष झालकसिंह दर्लामी भिड्दैछन्। क्षेत्र नं ५ मा त्रिपक्षीय भिडन्त हुने भएको छ। यहाँ सबैले आआफ्नो प्रभाव कायम राख्न चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

महाभारा, बैगुनधारा, कोरोबारी, गौरादह, गौरीगन्ज, जुरोपानी, खजुरगाछी, महारानीझोडा र कोहबरा गाविस रहेको क्षेत्र नं ६ मा एमालेका दीपक कार्की, एमाओवादीका पुष्प ढकाल र काँग्रेसकी रामकुमारी पौडेल चुनाव लड्दैछन्। अघिल्लो निर्वाचनमा एमालेले क्षेत्र नं ६ मात्र जित हात पारेको छ। एमालेले यसपटक पनि सो क्षेत्रबाट दीपक कार्कीलाई नै चुनावी मैदानमा उतारेको छ।

एमाओवादीले पनि स्थानीय, लोकप्रिय र युवा नेता पुष्प ढकाललाई अघि सारेपछि क्षेत्र नं ६ मा एमाले र एमाओवादीबीच प्रतिस्पर्धा हुने भएको छ। अनारमनी, दुवागढी, ज्यामिरगढी, चन्द्रगढी, हल्दिबारी, चारपाने र गरामनी गाविस रहेको क्षेत्र नं २ मा ६४ हजार ८७७ मतदाता छन्। यस क्षेत्रबाट एमालेले मेची मै पहिलो महिला उम्मेदवारका रुपमा पवित्रा निरौला खरेललाई अघि सारेको छ।

एमाओवादीले अघिल्लो निर्वाचनमा कृष्ण सिटौलालाई हराएर चर्चा बटुलेका पूर्णसिंह राजवंशीलाई मैदानमा उतारेको छ। काँग्रेसले भने अघिल्लो निर्वाचनमा पराजित सुधीरकुमार शिवाकोटीलाई नै अघि सारेको छ। काँग्रेस परित्याग गरे लगत्तै राप्रपा नेपालमा प्रवेश गरेका भक्ति सिटौला पनि यही क्षेत्रबाट चुनाव लड्दैछन्। निर्वाचन क्षेत्र नं २ मा एमाले र एमाओवादीबीच प्रतिस्पर्धा हुने विश्लेषकको भनाइ छ। चन्द्रकला भण्डारी/रासस

Leave a Reply

Your email address will not be published.