चुनाबी मैदानमा दाजुभाइको लडाइँ

khadka vs dhan bahadurमुकेश टेंर्रा, धनगढी- संविधान सभा सदस्य निर्वाचनमा धनगढी–५, जाइँका सहोदर दाजुभाइ एकअर्काका प्रतिस्पर्धी भएका छन्। थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडकबहादुर चौधरी र उनका आफ्नै दाजु धनबहादुर चौधरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कैलाली क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका हुन्। दुबै दाजुभाइले हालसम्म एउटै भान्साको खाना खाँदै आएका छन्। फरक-फरक पार्टीबाट एकअर्काविरुद्ध उठेपछि उनीहरुका छिमेकी चकित भएका छन्।
खडक र धनबहादुरका एकै आमाबुवा सन्तान हुन्। उनीहरुको भान्सा, बस्ने घर एउटै छ। सम्पूर्ण आर्थिक, पारिवारिक र सामाजिक क्रियाकलाप पनि संयुक्त हुन्छ।
विगत लामो समयदेखि खडक थरुहट राजनीतिमा सक्रिय छन्। उनले २०४७ सालदेखि नेपाल विद्यार्थी संघको प्रवेश गरी राजनीतिमा लागेका थिए। २०६२/०६३ को जनआन्दोलनसँगै थरुहट राजनीतिमा लागेका खडक, संघीय लोकतान्त्रिक मञ्चमा केन्द्रीय सदस्य भएका थिए। काका थरुहट आन्दोलनको सक्रिय नेता भएपछि धनबहादुरका छोराहरु पनि थरुहट आन्दोलनमा देखिएका थिए।

धनबहादुर राप्रपाका समर्थक भए पनि सक्रिय थिएनन्। २०४७ सालबाटै राजनीतिमा प्रवेश गरेका उनले नेपाल रेडक्रस सोसाइटीको जागिरे समेत थिए। जागिर छोडेपछि धनबहादुरले आफ्नै मील सञ्चालन गरेर बसे। संविधान सभा सदस्य निर्वाचनमा राप्रपाले टिकट दिएपछि राजनीतिमा निस्क्रिय धनबहादुर राजनीतिमा सक्रिय भएका छन्। उनी हालः राप्रपाको कैलाली क्षेत्र नम्बर ६ का अध्यक्षसमेत भएका छन्।
धनबहादुरले परिवार एउटै भए पनि सिद्धान्त फरक र लोकतन्त्रमा आफ्नो विचार जसले पनि राख्‍न पाउने भएकाले दुबै भाइ एकै क्षेत्रबाट उठेको प्रतिक्रिया दिए। उनले आफूहरुले बाहिर राजनीति गरेपनि घरमा भाइभाइबीच फरक मत नरहेको बताए। ‘फरक सिद्धान्तको पार्टीमा हामीहरु भए पनि दुबै भाइको सुमधुर सम्बन्ध छ,’ धनबहादुरले भने, ‘एकै क्षेत्रबाट उम्मेदवार हुँदैमा भाइभाइमा कुर्नै फाटो आउँदैन।’
खडकले पनि उम्मेदवार हुँदैमा भाइभाइबीच फाटो नल्याउने बताउँछन्। ‘दाइलाई म उठदैछु भने तर मान्नुभएन,’ उनले भने, ‘लोकतन्त्रमा आफ्नो अधिकार हो, त्यसमा कुनै रोकतोक हुँदैन।’
पाँच भाइको ठूलो र संयुक्त परिवारमा धनबहादुर र खडक दुबै जना उम्मेदवार भएपछि परिवारका सदस्यलाई उम्मेदवार छान्न अलमल परेको छ। २७ जना सदस्य छन्। ‘उसले आफ्नो पार्टीको एजेण्डा प्रस्तुत गर्छ मैले आफ्नो,’ धनबहादुरले भने, ‘घरमा भोट माग्छु तर दिनैपर्छ भनेर श्रीमतीलाई पनि भन्दिनँ।’
खडकले आफ्ना श्रीमती, भाउजु, भाइ, भाइबुहारी, छोरा, भाइभतिजा र बुहारीको मत आफूले पाउने दाबी गरे। ‘म थारुहरुको पक्षमा रहेको पार्टीबाट उठेको छु। राप्रपा यथास्थितिवादी पार्टी हो,’ खडकले भने, ‘थरुहट तराई पार्टी थारु समुदायलाई हक अधिकार दिलाउँछ भन्ने मेरा परिवारका सबैले जानेका छन्। त्यसैले मेरो पछि लागेर भतिजाहरु थरुहट आन्दोलनमा आएका हुन्।’ उनले आफ्नो प्रतिस्पर्धा दाजु धनबहादुरसँग नभएर थारुविरोधीहरुसँग रहेको बताए।
यसपटक विभिन्न दलबाट कैलालीमा ५७ जना थारु नेताहरु संविधान सभा सदस्यको चुनावमा उम्मेदवार भएका छन्। विभिन्न दलबाट क्षेत्र नम्बर १ मा १०, २ मा ८, ३ मा १५, ४ मा ८, ५ मा ७ र ६ मा ११ जना थारु उम्मेदवार छन्। सद्भाकवना पार्टीका रेशम चौधरी १ र ३ तथा थरुहट तराई पार्टीका बीरबहादुर डगौराथारु १ र २ नम्बर क्षेत्रबाट उठेका छन्।
एकै क्षेत्रबाट धेरै थारु नेतालाई उम्मेदवार बनाएर दलहरुले थारु समुदायलाई फुटाउन खोजेको आशंका गरिन थालिएको छ। ‘दुई भाइलाई एकै क्षेत्रबाट उठाएर भाइबीच फाटो ल्याउने प्रयासमा दलहरु लागेका छन्,’ थारु कल्याणकारिणी सभा कैलालीका सचिव तथा थरुहट तराई पार्टीका क्षेत्र नम्बर ५ का उम्मेदवार माधव चौधरीले भने, ‘थारुलाई प्रयोग गरी आफू जित्ने् रणनीति बनाएर दलहरुले एकै क्षेत्रबाट धेरै थारुलाई उम्मेदवार बनाएको आशंका छ।’
थारु आन्दोलनमा लागेका खडकलाई धनबहादुरले सहयोग गर्नुपर्ने बताउँदै माधवले अझै मिलाउने प्रयास जारी रहेको बताए। उनले दलहरुले घरघरबाट थारुलाई फुटाउन थालेको आरोपसमेत लगाए।
थारुलाई फुटाएर राजनीति गर्न थालिएको आशंका भएपछि मुद्दा मिल्ने दलहरुबीच सहकार्य गर्ने योजना थारु सम्बद्ध दलहरुले बनाइरहेको स्रोतले जनाएको छ। उनीहरुले उम्मेद्वार आफ्नो भए पनि एक क्षेत्रमा एउटा नेतालाई समर्थन गरेर अगाडि बढ्ने निष्कर्षमा पुगेको बताइएको छ।

Leave a Reply

Your email address will not be published.