सीमाको चौधरीको राष्ट्रिय कीर्तिमान

कमल खत्री, काठमाडौं- सीमा चौधरीले राष्ट्रिय खुला एथलेटिक्स छनोट प्रतियोगितामा सोमबार राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनीसँगै दिलमाया कार्कीले पनि कीर्तिमान बनाएकी छन्। कीर्तिमान बनाउने दुवै सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी हुन। एथलेटिक्स करियरमा दुवैको पहिलो राष्ट्रिय कीर्तिमान हो।
दिलमायाले ४०० मिटर दौड र सीमाले ज्याभलिङ थ्रोमा कीर्तिमान राखे। ४ वर्षदेखि एपिएफ क्लबबाट खेल्दै आएकी दिलमायाले दशरथ रंगशाला ट्र्याकमा ५८.८ सेकेन्डमा दौड पूरा गरिन्। यसअघि एपिएफकै प्रमिला रिजालको नाममा ५९.२ सेकेन्डको कीर्तिमान थियो। प्रमिलाले ११औं साग छनोटमा कीर्तिमान राखेकी हुन्। दिलमाया विजेता बन्दा आर्मीकी दुर्गा देवकोटाले (६०.१ सेकेन्ड) दोस्रो र पुलिसकी मनमति विष्ट (६५.७ सेकेन्ड) तेस्रो भए।
दिलमायाले चैतमा सम्पन्न ३८औं राष्ट्रिय एथलेटिक्समा ४०० र २०० मिटर दौडमा स्वर्ण जितेकी थिइन्। उनले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा यसै वर्ष भारतको पुनेमा एसियन एथलेटिक्स च्याम्पियनसिप खेलेकी थिइन्।
कीर्तिमानी दिलमायाले नियमित प्रशिक्षण र गुरु (सुशील नरसिंह राणा) को मेहनतले कीर्तिमान बनाउन सहयोग बताइन्। सुर्खेतकी २१ वर्षीया उनले भनिन्, ‘करियरमा पहिलो कीर्तिमान बन्दा खुसी छु। यसअघिको राष्ट्रिय प्रतियोगितामा कीर्तिमान बनाउने प्रयास सफल भएन। यो सफलताले मलाई थप मेहनत गर्न हौसला दिएको छ। अब सागमा पदक जित्ने गरी तयारी गर्छु।’ दिलमाया राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा छिन्।
एपिएफसँग आबद्ध भएको ६ महिनामै सीमाले ज्याभलिन थ्रोमा कीर्तिमान बनाइन्। बाँकेकी १९ वर्षीया सीमाले ३७.७८ मिटरको कीर्तिमान राखिन्। यसअघि बाँकेकै सीता शाहीको नाममा ३५.५९ मिटरको कीर्तिमान थियो। सीताले २ वर्षअघि उक्त कीर्तिमान राखेकी हुन्। यसपल्ट आर्मीबाट खेलेकी सीता ३२.८९ मिटरमा सीमित भइन्। आर्मीकी अञ्जु डगौरा ३१.४१ मिटरबाट तेस्रा भइन्।
प्रतियोगितामा राम्रो गर्छु जस्तो लागेथ्यौं। कीर्तिमान बन्दा खुसी लाग्यो। यो मेरो अहिलेसम्मैकै ठूलो उपलब्धि हो। अब अर्को वर्षदेखि सटपुट र डिस्कस थ्रोमा भाग लिने तयारी गर्नेछु,’ सीमाले भनिन्। उनलाई जुनियर च्याम्पियनसिपको प्रदर्शन हेरेर क्लबमा आबद्ध गराएको एपिएफ प्रशिक्षक राणाले बताए। सीमाले उक्त च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन्।
प्रशिक्षक राणाले दुवैको कीर्तिमान नेपाली एथलेटिक्सका लागि सुखद पक्ष रहेको बताए। उनले भने, …प्रमिलाले कीर्तिमान राख्दा उनको उमेर २६ वर्ष थियो। तर यिनीहरूले कम उमेरमा कीर्तिमान बनाएका छन्। यो ज्यादै खुसीको पक्ष हो। मेहनत गरे अझै राम्रो नतिजा निकाल्न सक्छन्।’
सोमबारै आर्मीका हरिकुमार रिजाल १० हजार मिटर दौडमा प्रथम भए। उनले ३२ मिनेट ०६.८ सेकेन्डमा दूरी पूरा गरे। आर्मीकै राजकुमार विष्टले (३२ मिनेट ०६.९ सेकेन्ड) दोस्रो र एपिएफका किरणकुमार विष्ट (३२ मिनेट १७.१ सेकेन्ड) तेस्रो भए।
पुलिसका तिलकराम थारुले ५० सेकेन्डमा ४०० मिटर दौड जितेका छन्। आर्मीका दशीराम चौधरीले ५०.४ सेकेन्डबाट दोस्रो र आर्मीकै हरिलाल चौधरी ५३.१ सेकेन्डबाट लगाए। लङजम्पमा आर्मीका डिल्ली खत्रीले पहिलो हँुदा ६.९५ मिटर, दोस्रो आर्मीकै छविलाल चौधरीले ६१.२ मिटर र तेस्रो ललितपुरका आशिष चौधरीले ६५.७ मिटर पार गरे।
११० मिटर हर्डल्स पुलिसका धीरेन्द्र चौधरी १५.७ सेकेन्डमा पुरा गर्दै पहिलो भए। आर्मीका विशेष महतो (१६.६ सेकेन्ड) दोस्रो र योगेन्द्र लामा (१७.४ सेकेन्ड) तेस्रो भए। सटपुटमा आर्मीको वर्चस्व रह्यो।  राजेन्द्र बस्नेतले १२.५१ मिटर, बमबहादुर गुरुङले ११.७८ मिटर र नरेन्द्र जंग शाहले १०.४३ मिटर फाल्दै प्रथम, द्वितीय र तृतीय भए।
ज्याभलिङ थ्रोमा प्रथम भएका आर्मीका धीरेन्द्रजंग शाहले ५५.०१ मिटर फ्याँकेका थिए। पुलिसका नरेन्द्रजंग शाह ५२.७८ मिटर र एपिएफका ईश्वर श्रेष्ठ ५१.१२ मिटर फालेर दोस्रो र तेस्रो भए। पुलिसकी केशरी चौधरी लङजम्पमा ५.३२ मिटर जम्प गर्दै विजेता बनिन्। आर्मीकी कृष्ण चौधरी (५.०२ मिटर) दोस्रो र एपिएफकी शिला चौधरी (४.६८ मिटर) तेस्रो भए। १०० मिटर दौड जित्न केशरीले १५.७ सेकेन्ड लगाइन्। एपिएफकी सविता चौधरी १७ सेकेन्डबाट दोस्रो र पुलिसकी सन्तु चौधरीले २०.३ सेकेन्डबाट तेस्रो भए।
महिला सटपुटमा आर्मीकी अञ्जु डगौरा ८.७३ मिटर फाल्दै प्रथम भइन्। पुलिसका वसन्ती चौधरी (८.४२ मिटर) दोस्रो र निष्ठा शाही (८.२९ मिटर) तेस्रो भए।

Leave a Reply

Your email address will not be published.