थारुवान डटकम आजकै दिन अर्थात् जितिया पर्वको अवसरमा उद्घाटन भएको थियो। गतेको हिसाबले असोज २२ गते भए पनि थारुवान डटकमको यही पर्वको दिन उद्घाटन भएको थियो। राजधानीको नाचघरमा आयोजित कार्यक्रममा तत्कालीन उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले थारुवान डटकमको औपचारिकरुपमा शुभारम्भ गरेका थिए। यो एक वर्षको अवधिमा पाठकहरुले दिएको मायाप्रति म सदैव ऋणी रहनेछु। म अर्थात् मदन चौधरी। मैले पाँच वर्षअघि नागरिक दैनिकमार्फत् आफ्नो पत्रकारिता यात्रा थालनी गरेको थिएँ। अहिले पनि नागरिक दैनिककै अनलाइन संस्करण नागरिकन्युज डटकममा कार्यरत छु।
पाँच वर्षअघि जब मूलधारे मिडियामा प्रवेश गरेँ, त्यतिबेला पत्रकारिताबारे म पूर्णरुपले अनभिज्ञ थिएँ। किनकि म आमसञ्चार नभइ ब्वस्थापन पढिरहेको विद्यार्थी थिएँ। मिडियामा जोडिएसँगै मैले पत्रकारिताबारे धेरै सिके। सुरुमा नागरिक दैनिकको सम्पादकीय ब्युरोमा भाषासम्बन्धी जानकारी हासिल गरे। त्यसको ६ महिनापछि म अनलाइनमा सरुवा भएँ। अनलाइनमा मैले समाचार लेख्ने, अपडेट गर्नेलगायतका कुरा सिकेँ। इन्टरनेट अर्थात् अनलाइन मिडियाको महत्वबारे मैले त्यतिबेलै बुझेको थिएँ।
राजधानीमा जितिया, सामा चकेवा, माघीजस्ता कार्यक्रमहरु आयोजना हुन्थ्यो। अहिले पनि हुन्छ। त्यस्ता ठूला पर्वहरु भब्यरुपले काठमाडौंमा मनाइए पनि राजधानीका मूलधारे मिडियाले खासै कभरेज गर्दैन्थ्यो। मन खिन्न हुन्थ्यो कहिलेकाहीँ। आफ्नै समुदायका इभेन्टहरु मूलधारे मिडियाले कभरेज नगरिदिँदा। त्यसपछि नागरिक दैनिक र अनलाइनका लागि म आफैंले समाचार कभरेज गर्न थालेँ।
त्यही बेला सबैले आ-आफ्नो ब्लग चलाउन थालेका थिए। तर म बल्गको पछि पर्न चाहन्नथे। एउटा थारु समाचारका लागि न्युज पोर्टल नै खोल्ने सोच थियो। तर आर्थिक अभावले सम्भव देखिरहेको थिएन। तत्काल सम्भव नदेखेपछि थारुवानन्युज डट ब्लगस्पट डटकममा ब्लगिङ गर्न थालेँ। त्यहाँ थारुका समाचारहरु हाल्न थाले। देशविदेशबाट राम्रो भिजिटर आउँथ्यो। लोभलाग्दो भिजिटर देखेर न्युज पोर्टल खोल्ने आँट झनै बढ्यो। डोमनको नाम जुराउन थाले। साथीहरुले थारुवान डटकम राख्न सुझाएपछि त्यही डोमेन दर्ता गरियो। त्यतिसम्म त गराइयो। तर डिजाइनका लागि चाहिने रकम मसँग थिएन। त्यही ब्लगबाट थारु समुदायसँग सहयोगको अपिल नै गरेको थिएँ। तर खासै प्रतिक्रिया पाइएन। पछि ऋण खोजेरै भए पनि यसको शुभारम्भ गरेँ। मनले आँट्नुपर्छ नहुने कुरा संसामा केही छैन भनेर सुनेको थिएँ। मनले आँटे र त्यो कुरा पूरा पनि भयो।
तर त्यतिले मात्र नपुग्ने रहेछ। एउटा समाचार साइट चलाउन पनि समय/इन्टरनेट/कन्टेन्ट/जनशक्ति को खाँचो पर्दो रहेछ। मसँग यी सबै कुरा पर्याप्त थिएन। तैपनि आफूले सक्नेगरी डोर्याउँदै ल्याएँ। सुरुवाति दिनमा माओवादीको साइट भनेर आरोप पनि खाएँ। पछि आरोप लगाउनेहरु थारुवान थारुकै लागि बुझेर होला सायद। आरोप लगाउन छाडेका छन्।
यो अवधिमा थारुवान डटकमका पाठकहरु जति बधाइका पात्र हुन्। त्यति नै समाचार/लेख/तस्बिर पठाएर सहयोग गर्नुहुने दाङका सन्तोष दहित, गोरखा पत्रका थारु भाषा सम्पादक कृष्णराज सर्वाहरि, बुटवलका कमला चौधरी, कैलालीका मुकेश टेर्राँ, अविनाश चौधरी, दिलबहादुर चौधरी, गोरखा पत्रका लक्की चौधरी र हरेक कुराको सुझाव सल्लाह दिनुहुने काशी चौधरीप्रति म सधैं ऋणि रहनेछु।
यो अवधिमा थारुवान डटकमले थारुका संस्कृतिबारे राम्रो कभरेज दिएको छ। भलै अन्य मुद्दामा चुकेका होलान्। दासी जीवन बिताइरहेका कमलरीहरुको आन्दोलनलाई पनि थारुवान डटकमले अभियानै चलाएको थियो। मूलधारे मिडियाले बाइपास गरेको कमलरीको राजधानी केन्द्रीत आन्दोलनलाई थारुवान विशेष कभरेज गरेको थियो। कमलरी आन्दोलनले ११औं दिनमा सफलता पाएको थियो। थारुवानका उपलब्धिहरु यिनै हुन् भन्दा पनि हुन्छ।
यसबीचमा मैले कुनै विज्ञापन ल्याउन सकिनँ। आफ्नो समयको ब्यस्तताले जति समय यसका लागि दिनुपर्ने हो, त्यति दिइएन। विद्यार्थी जीवन र नागरिक दैनिकको जागिरले पनि पूरा समय दिन सकिरहेको थिएन। पूरा समय दिनका लागि कुनै आधार पनि थिएन। किनकि थारुवान डटकमबाट कुनै आम्दानी भइरहेको थिएन र छैन पनि। बिना आम्दानी चलाउन गाह्रो हुनेरैछ भन्ने कुरा बुझ्दैछु।
पहिलो वर्ष जसोतसो चलाएँ। फेरि पनि सर्भर स्पेश र डोमेन ऋनु गर्न रकमको जरुरत पर्नेछ। त्यो रकमको अभावमा म थारुवान डटकम कदापि बन्द गर्ने छैन। यसलाई ब्यवसायीकरण गरेर जनशक्ति थप्ने योजना छ। यसले थारु पत्रकारलाई रोजगारीको सिर्जनासमेत गर्नेछ।
थारु समुदायका लागि मेरा धेरै योजना छन्। थारु समुदायको पर्व, ब्यक्ति अथवा अन्य कुराको खोजी इन्टरनेटमा खोज्दा बिरलै पाइन्छ। पाइँदैन भन्दा पनि हुन्छ। त्यस कुरालाई सहज बनाउन ‘थारुविकी’को सुरुवात गर्ने योजना छ। थारुविकीले एउटा सर्च इन्जिनको काम गर्नेछ। जसरी विकिपिडिया वा गुगलले सबै कुराको जानकारी दिन्छ। त्यसरी नै थारुविकीले थारु समुदायका पर्व, नेता, कलाकार, संघसंस्था आदिबारे जानकारी दिन्छ।
थारुवान डटकमले थारु पत्रकार उत्पादन गर्ने योजनासमेत बनाएको छ। त्यस्ता पत्रकारलाई थारुवान डटकममै रोजगारीको अवसर दिने हिसाबले थारु पत्रकारको उत्पादन गर्ने योजना छ। अहिले सबै समुदायका पत्रकारहरू एकीकृत भएर आफ्ना मुद्दालाई अगाडि बढाइरहेका छन्। न्यून संख्यामा रहेको थारु पत्रकारले जति गर्नुपर्ने हो त्यति गर्न नसकेको मेरो बुझाइ छ। त्यही कारणले पनि थारु पत्रकारको उत्पादन गर्न आवश्यक देखेको छु। यसले थारु समुदायका सबाल र मुद्दालाई अगाडि बढाउन टेवा पुग्छ।
यी योजनाहरु त्यतिबेला सम्भव हुन्छ। जतिबेला थारुवान डटकमसँग पर्याप्त रकम हुनेछ। किनकि यी सब गर्न बिना रकम सम्भव छैन। थारुवान डटकम आगामि दिनमा ब्यवासायिक हिसाबले अगाडि बढ्न चाहन्छ। त्यसका लागि तपाईँ शुभेच्छुकहरुको सहयोगको खाँचो छ। तपाइँहरुले कुनै पनि किसिमको विज्ञापन थारुवान डटकमलाई उपलब्ध गराएर सहयोग गर्न सक्नुहुनेछ। यसले अगामि दिनमा थारु पत्रकारलाई रोजगारीको सिर्जनालगायतका थारु मसुदायका सबाल र मुद्दालाई यसमार्फत् उजागर गर्न सक्छौं।
फेरि पनि भन्छु यो एक वर्षको अवधिमा संसारभरिका पाठकले माया गरिदिनुभएको छ। र, गरिरहनुभएको छ। तपाइँहरुको यस्तै माय सधैं रहिरहे र विज्ञापन दाता भेटिए कछुवा गतिमा चलिरहेको यो साइटलाई तीब्र गतिमा दौडाउने प्रयास गर्नेछु।
प्रथम वार्षिकोत्सको अवसरमा थारुवन डटकमले असोज १४ गते सोमबार अनामनगरस्थित युनियन हाउसमा थारु नेता/पत्रकार/कलकार/विद्यार्थी/उद्योगीबीच बृहत् छलफल कार्यक्रम गर्दैछ। थारुवान डटकमलाई कसरी अगाडि बढाउने? यो एक वर्षमा थारुवान कुन कुरा चुकेका छन? के कस्ता मुद्दा यसले अगाडि सार्दा थारु समुदायको भलो हुन्छ? यस बृहत् छलफलमा तपाईँहरु पनि सहभागी हुन सक्नुहुन्छ। असोज १४ गते सोमबार दिउँसो १२ बजे उपस्थित भएर आफ्नो विचार राख्न सक्नुहुनेछ। तपाइँहरु सम्पूर्णलाई यही लेखबाट निमन्त्रणा गर्न चाहन्छु। धन्यवाद।
– मदन चौधरी