प्रथम श्रेणीमा +2 पास गरेकी कमलरीले भनिन्- ‘वकिल बन्छु’

former kamalari Bishnu Chaudharyसन्तोष दहित, दाङ- आठ वर्षअघि अरुको घरमा कमलरी बसेर काम गर्थिन् सतवरिया-५, की विष्णु चौधरी। उनी दुई वर्ष दाङकै एक जमिन्दारको घरमा दासीको रुपमा बस्दै आएकी थिइन्। २०६१ को माघीमा कमलरी उन्मुन क्षेत्रमा काम गर्ने संघसस्थाले गाँउ-गाँउमा छापा अभियान चलाउन थाले। त्यही अभियानका क्रममा घोराहीदेखि दक्षिणतिर रहेको भैस्कुर गाँउमा विष्णुलाई एक जमिन्दारले कमलरी राखेको पत्ता लगाए। तर त्यतिवेबेला विष्णु त्यहाँ थिएनन्। उनी माघी मनाउन घर पुगेकी रहिछन्। स्वानले विष्णुलाई घरमै भेटेर अबदेखि कमलरी नबस्न आग्रह गर्‍यो। त्यसको बदलामा पढाइदिन भनेपछि विष्णुले राहत महसुस गरिन्। त्यसपछि उनी कमलरी बस्न गइनन्।
उनलाई २ महिनासम्म व्रिज कक्षा पढाएर राप्ती उच्च मावि उचानिम्वुमा कक्षा ५ मा भर्ना गरियो। ‘जिन्दगीमा पढ्न पाउँछु भनेर सोचेकै थिइन्,’ मलिन अनुहारमा विष्णुले भनिन्, ‘स्वानले मलाई पढने अवसर मिलाइदिएपछि खुसीको सीमै रहेन म मा।’
विष्णु मेहनतका साथ पढाइमा ध्यान दिन थालिन्। परिश्रमको फल मिठो हुन्छ भन्ने कुरा विष्णुले बुझेकी थिइन्। नभन्दै ५ मा फष्ट भइन्। यसरी उनी ९ कक्षासम्म फष्ट र सेकेन्ड भएर पास पाइन्। एसएलसीमा पनि विष्णु फष्ट डिभिजनमा पास भइन्।
यसरी राम्रो अंक ल्याएर पास हुन थालेपछि उनलाई कमलरी क्षेत्रमा काम गर्ने स्वान, एफएनसी, मुक्त कमलरी विकास मञ्चलगायत कमलरी क्षेत्रमा काम गर्ने विभिन्न संघसस्थाले सहयोग गर्न थालेको उनी सुनाउँछिन्।
एसएलसीमा फस्ट डिभिजन पास भएपछि विष्णु सनलाइट मोर्डेन हाइयर सेकेण्डरी स्कुलमा ११ कक्षामा भर्ना भइन्। शिक्षा विषयमा मेजर अंग्रेजी लिएकी उनले ११ मा उच्च माविका सबै संकायका विद्यार्थीलाई पछाडि पारिन्। भविष्यमा कानुन विषय पढेर ठूलो वकिल बन्ने सोच बनाएकी विष्णुले भर्खरै आएको १२ कक्षामा परीक्षाफलमा पनि प्रथम श्रेणीमा पास भइन्।
विष्णुले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो छबि देखाइसकेकी छन्। उनले सन् २०१० मा बेलायत र २०१२ मा स्पेन गइ बाल दिवसको अवसरमा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। भविष्यमा यस्तै साथ मिले ठूलो वकिल बनेर देखाउने उनले कमलरी राख्ने मालिकविरुद्ध बहस गर्ने बताइन्। ‘भिविष्यले साथ दिए म ठूलो वकिल बन्नेछु,’ उनले भनिन्, ‘त्यति बेला मैले मजस्तै कमलरी बस्न बाध्य बनाइएका मालिकहरुविरुद्ध कडा बहस गर्नेछु।’
मुक्त कमलरी विकास मञ्चको केन्द्रीय सदस्यसमेत रहेकी विष्णु कमलरीलाई उद्धार गर्ने अभियानमा समेत लागिपरेकी छन्। पढाइसँगै आफ्नो वर्गको अधिकारका लागि उनले जिल्लादेखि राजधानी हुँदै विदेशसम्म पुगेकी छन्।
उनले कमलरीका मुद्दामा कलमसमेत चलाउँछिन। कमलरीको मुक्त आवाज कार्यक्रमय उनले सञ्चालन गर्दै आएकी छन्। उक्त कार्यक्रम दाङको देउखुरीमा रहेको रेडियो हाइवे एफएमले बजाउने गर्छ। आफूलाई पत्रकारको रुपमा पनि स्थापित गराइसकेका विष्णु साहित्यमा पनि उत्तिकै रुचि राख्छिन्।

 

Leave a Reply

Your email address will not be published.