गंगासागर महतोलाई गोली हानी हत्या गर्ने मुख्य अभियुक्त दिल्लीबाट पक्राउ

कारी महतो/चितवन।
भरतपुर महानगरपालिका वडा नं. २५ चितहीमा जेठ ४ गते राती करीब १२ बजे गंगासागर महतोलाई गोली हानेर हत्या गर्ने मुख्य अभियुक्त तथा योजनाकार कृष्ण शाही ठकुरीलाई भारतको दिल्लीबाट पक्राउ गरी आज भरतपुर जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको छ ।

पर्वत जिल्ला पकुवा गाविस वडा नं. ८ नागरिकतामा ठेगाना भएका अभियुक्त २७ वर्षीय कृष्ण शाही ठकुरी हाल चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. २७ ढेबौली स्थित ससुराली घरमा बस्दै आएका थिए । उनलाई असार १५ गते भारतको दिल्लीबाट पक्राउ गरी भरतपुर ल्याइएको हो । नवलपरासी जिल्ला मध्यविन्दु न.पा. वडा नं. १० अरुणखोला बस्ने १९ वर्षीय नारायण विक र सोहि ठाउँमा बस्ने २१ वर्षीय लक्ष्मण परियारलाई यसअघि नै पक्राउ गरी असार १२ गते जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको थियो । साथै उनीहरुले लुटेर लगेका केही नगद, सुनचाँदीका गहना र प्रयोग भएका पेस्तोल सहितका हातहतियारहरु उनीहरुबाट बरामद गरी सार्वजनिक गरिएको थियो ।

लुटेराहरुको गोली लागेर घाइते भएका ३२ वर्षीय गंगासागर महतोको चितवन मेडिकल कलेजमा उपचारको क्रममा जेठ ९ गते मृत्यु भएको थियो । मृतक गंगासागर महतोलाई गोली हान्ने तथा उनका आमा साहुनी महतो, बहिनी रामकुमारी महतो र श्रीमती कुन्ती महतोलाई रड, ह्यामर र पेचकसले मरणासन्न हुने गरी कुटपिट गरी घरमा भएको नगद तथा सुनचाँदीका गरगहनाहरु लुटेर लगेका थिए ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक थापाले गंगासागर महतोको ज्यान बचाउन नसकेकोमा दुःख व्यक्त गरेका छन् । आफूहरुले अनुसन्धानको क्रममा ४९ जनालाई सोधपुछ गरेकोमा त्यसैलाई आधार बनाई कसैलाई कुनै किसिमको आक्षेप लगाउन नहुने बताएका छन् । सबैभन्दा पिडित भएकी मृतककी श्रीमती कुन्ती महतोलाई कोहि कसैले पनि मानसिक तनाब दिन नहुने उनले बताएका छन् । उनलाई कुनै किसिमको आरोप लगाएमा त्यस्ता व्यक्तिहरुको विरुद्धमा तुरुन्त मुद्दा दर्ता गरिने आश्वासन दिएका छन् । कुन्ती महतोको गर्भमा भएको बच्चा उनको श्रीमान् गंगासागर महतोकै हो भन्ने कुरामा कसैलाई शंका नगर्नका लागि प्रहरी उपरीक्षक दिपक थापाले बताएका छन् । यस विषयमा कुन्ती महतो डिएनए टेष्ट गर्न पनि तयार रहेको कुरा एसपि थापाले बताए । “अनुसन्धानको क्रममा त्यसबारे प्रश्न गरिएको भएता पनि अन्तमा उनको श्रीमान्कै गर्भ हो भन्ने कुरा प्रमाणित भैसकेको छ” एसपि थापाले बताए ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालयले लागु औषध चरेसका मुख्य कारोबारीहरु बारा जिल्लाका मोजहर मन्सुर, अजय कुमार राम, आजाद भनिने ओसिम अन्सारीलाई पनि असार १५ गते पक्राउ गरी आजै सार्वजनिक गरेका छन् ।
त्यस्तै चितवन जिल्ला भरतपुर महानगरपालिका १० गौतमचोक स्थित आफ्नै डेराकोठा अगाडि पार्किङ्ग गरी राखेको विकास पराजुलीको ना ४५ प ३३२४ को मोटरसाइकल चोरी गरी नम्बर परिवर्तन गरी ना ४४ प ५१७० नं.को नम्बरप्लेट लगाई चलाईरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको अभियुक्त बारा जिल्लाकोकोल्वी नपा १ का रुपनारायण पंजियारलाई पनि आजै पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरिएको थियो ।

त्यस्तै चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३ संगमरोडमा रहेको लालीगुराँस इलेक्ट्रिक एण्ड लाइट हाउसबाट साढे १५ लाख बराबर विद्युतीय सामान चोरीमा संलग्न स्टोरकिपर प्रदिप कुमाल र कर्मचारी अनुप कार्की लगायत मनिक कार्की सविन केसीलाई असार ११ गते पक्राउ गरी चोरी भएको सामान सहित आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.