बाधा अड्काउ फुकाउन आदेश जारी, सेना परिचालनको बाटो खुल्यो

काठमाडौं- आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्न बाधा अड्काउ फुकाउ आदेश जारीसँगै नेपाली सेना परिचालन गर्न बाटो खुलेको छ। राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा सेना परिचालनसम्बन्धी बाधा अड्काउ फुकाउन आदेश जारी गरेपछि सेना परिचालनका निम्ति बाटो खुलेको हो।
राष्ट्रपतिले आज जारी गर्नुभएको बाधा अड्काउ फुकाउ आदेशअनुसार निर्वाचन अविधिभर सेना परिचालन हुनेछ। अर्को संविधानसभाको निर्वाचन भई व्यवस्थापिका–संसद्ले तोकेको विशेष समितिबाट अनुमोदन गराउने गरी राष्ट्रपतिले उक्त आदेश जारी गरेका हुन्।
“नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५८ बमोजिम नेपाली जनताले अर्को संविधानसभाको निर्वाचनमा स्वतन्त्र, निष्पक्ष धाँधलीरहित एवम् भयमुक्त वातावरणमा सहभागी हुन पाउने अधिकारको प्रत्याभूतिका लागि राष्ट्रिय सुरक्षा परिषद्बाट भएको सिफारिसबमोजिम निर्वाचन अवधिभर नेपाली सेना परिचालन गरी निर्वाचनमा शान्ति सुरक्षा कायम राख्न वाञ्छनीय भएको”–भनी राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४५ को उपधारा ५ मा प्राकृतिक विपत परेको कारणले नेपाली सेना परिचालन भएकोमा बाहेक सेना परिचालनसम्बन्धी नेपाल सरकार , मन्त्रिपरिषद्बाट भएको निर्णय एक महिनाभित्र व्यवस्थापिका–संसद्ले तोकेको विशेष समितिमा प्रस्तुत भई अनुमोदन गर्नुपर्ने व्यवस्था छ।
हालः व्यवस्थापिका–संसद्ले तोकेको  विशेष समितिबाट अनुमोदन हुनसक्ने अवस्था नभई बाधा उत्पन्न भएकाले अर्को संविधानसभाको निर्वाचन भई व्यवस्थापिका–संसद्ले तोकेको विशेष समितिबाट अनुमोदन गराउने गरी राष्ट्रपतिले उक्त आदेश जारी गरेको विज्ञप्तिमा स्पष्ट गरिएको छ।

Leave a Reply

Your email address will not be published.