प्रमुख निर्वाचन आयुक्त भन्छन्- ‘निर्वाचनको काम लगभग पूरा’

election commisionकाठमाडौं- प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी संविधान सभाको निर्वाचनको तयारी लगभग पूरा भएको बताएका छन्। उनले भने, ‘अयोगका तर्फबाट मङ्सिर ४ गते अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्नका लागि काम लगभग सम्पन्न भएको छ।’

आयोगद्वारा तयार पारिएको लैङि्गक तथा समावेशीकरणसम्बन्धी नीति २०७० को सार्वजनिक गर्दै अब राजनीतिक दलहरूले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण ध्यान दिनुपर्छ भने।
आयोगद्वारा पहिलोपटक तयार पारी सार्वजनिक गरिएको सो नीतिको उद्देश्य निर्वाचनका सम्पूर्ण प्रक्रियामा लैङि्गक मूल प्रवाहीकरण गर्ने, निर्वाचनसम्बन्धी सबै प्रक्रियामा समावेशी दृष्टिकोण समावेश गर्ने र निर्वाचन आयोगलाई लैङि्गक संवेदनशील तथा समावेशी संस्थाको रुपमा विकसित गर्ने रहेको छ।
कार्यक्रममा प्रमुख आयुक्त उप्रेतीले आयोग र आयोगका कामलाई लैङि्गक तथा समावेशीकरण बनाउन नीति बनाइ कार्यान्वयनमा ल्याइएको जानकारी दिए।
नीतिलाई कार्यान्वयनमा ल्याई अन्य मुलुकको तुलनामा नेपालले नयाँ उदाहरण प्रस्तुत गरेको चर्चा गर्दै उनले भने, ‘अब आयोगले लैङि्गक तथा समावेशी दृष्टिकोणले सुनको धुरी लगाएको छ।’
उप्रेतीले फोटोसहितको मतदाता नामावलीमा पुरुषका तुलनामा महिलाको १.६ प्रतिशत बढीले नामावलीमा आफ्नो नाम दर्ता गराएका जानकारी दिँदै समावेशीकरणभित्र पनि समावेशीकरण महत्वपूर्ण हुने धारणा राखे।
विगतको निर्वाचनमा महिला कर्मचारीद्वारा व्यवस्थापन गरिएका मतदानस्थल बढी प्रभावकारी देखिएकाले अगामी निर्वाचनमा पनि बढीभन्दा बढी महिला कर्मचारीको सहभागितामा जोड दिइएको उनले जानकारी दिए।

आयोगले आगामी निर्वाचनमा पनि मतदानका दिन मतदाताले मत दिनुपूर्व नङमा मसी लगाउने कार्यका लागि अनिवार्यरुपमा महिला नै हुनुपर्ने व्यवस्था नीतिले गरेको छ।

यसैगरी नीतिमा महिला तथा तेस्रो लिङ्गी र अन्य अल्पसङ्ख्यक नागरिकलाई निर्वाचनमा सहभागी हुन, उम्मेदवार बन्न प्रोत्साहन गरिने, मतदानस्थलमा सहज पहुँच हुनेगरी गर्भवती, सुत्केरी, बालबच्चा साथमा लिई आएका वृद्ध, अशक्त अपाङ्ग भएकालाई द्रुतमार्गको व्यवस्था गर्नेलगायतका रहेका छन्।
निर्वाचन आयुक्त इला शर्माले आयोगलाई लैङि्गक तथा समावेशी बनाउन पहिलोपटक नीति बनाइ कार्यान्वयनमा ल्याइएको जानकारी दिए। निर्वाचन शिक्षा तथा सूचना केन्द्रका निर्देशक कोमलप्रसाद धमलाले आगामी निर्वाचनमा मतदाता शिक्षाअन्तर्गत करिब ५० हजार महिला स्वयम्सेविका परिचालन हुने जानकारी दिए। रासस

 

Leave a Reply

Your email address will not be published.