बल्ल गठन भयो कांग्रेसमा संसदीय समिति

Sushil Koiralaकाठमाडौं- नेपाली कांग्रेसले संविधानसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न शक्तिशाली संयन्त्र मानिने संसदीय समिति गठन गरेको छ। न्द्रीय समितिको आजको बैठकमा सभापति सुशील कोइरालाले प्रस्तुत गरेका नामावलीलाई अनुमोदन गरेको बैठकपछि पार्टीका प्रवक्ता दीलेन्द्रप्रसाद वडूले जानकारी दिए। समितिमा सभापति कोइराला, नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, कोषाध्यक्ष चित्रलेखा यादव, सहमहामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरू डा. रामशरण महत, अजुर्ननरसिंह केसी, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, सुजाता कोइराला, आनन्दप्रसाद ढुङ्गाना र फर्मुल्लाह मन्सुर रहेका छन्।

सो पार्टीको विधानअनुसार केन्द्रीय पदाधिकारीहरू संसदीय समितिको पदेन सदस्य रहने व्यवस्था छ। नेता देउवासहित अन्य केन्द्रीय सदस्यलाई संसदीय समितिमा मनोनयन गर्ने प्रस्तावलाई सभापति कोइरालाले आपसी छलफलका आधारमा बैठकमा प्रस्तुत गरेपछि सर्वसम्मतिबाट पारित गरिएको हो। विधानमा १५ सदस्यीय संसदीय समितिको व्यवस्था रहे पनि हाल संसदीय दलको नेता नभएकाले समिति १४ सदस्यीय मात्रै बनाइएको छ।

पार्टीले लामो प्रयासपछि शक्ति सन्तुलनका आधारमा संसदीय समिति गठन गरेपछि अब उम्मेदवार चयनको औपचारिक प्रक्रिया सुरु हुने भएको छ। आजै पूर्णबहादुर खड्कालाई सहमहामन्त्री बनाउने सभापति कोइरालाको प्रस्तावलाई पनि बैठकले अनुमोदन गर्‍यो।

बैठकले प्रत्यक्ष र समानुपातितर्फको उम्मेदवारी छनोट कार्यविधि पनि निर्धारण गरेको छ। यसमा जित्न सक्ने, लोकप्रिय, सहिद परिवार र द्वन्द्वकालमा सक्रिय भई कार्य गरेकालगायतका आधार तय गरिएको छ। बैठकले काठमाडौंमा टिकटका लागि धाइरहेका नेता कार्यकर्तालाई पुनः गाउँ फर्कन र सम्पूर्ण शक्तिका साथ निर्वाचनमा लाग्न निर्देशन दिएको छ। संसदीय समितिको बैठक भोलि पार्टी कार्यालयमा बस्नेछ। रासस

Leave a Reply

Your email address will not be published.