बसको ठक्करबाट नवलपरासीमा तीन जनाको मृत्यु

परासी-  नवलपरासीको प्रगतिनगरमा आज यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै ज्यान गएको छ। कावासोती प्रहरीका अनुसार काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु१ख ७३६४ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना१९प ८३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी मृत्यु हुनेमा प्रगतिनगर–९ का ५५ वर्षीय रामप्रसाद भुसाल,  उनकी छोरी रजहर बस्ने २६ वर्षीया लक्ष्मी तिवारी र भुषालका नाति २ वर्षीय युगल तिवारी रहेका छन्। 

उनीहरू सबैको घटनास्थलमा नै ज्यान गएको हो। माइती घरमा श्राद्ध खान आएकी छोरीलाई रजहर घरसम्म पुर्‍याउन जाँदा मोटरसाइकल दुर्घटनामा परी बाबु, छोरी र नातिको मृत्यु भएको नमुना कन्या माविका प्राचार्य धर्मदत्त भुषालले जानकारी दिए।

घटनापछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने बसलाई नियन्त्रणमा लिएर आगो लगाएका थिए। आगोले जलेर बस पूर्ण रूपमा क्षति भएको छ। दिउँसो ३:३० बजेदेखि स्थानीयवासीले राजमार्ग बन्द गरिरहेका छन्। रासस

Leave a Reply

Your email address will not be published.