फेसबुकका पाँच विश्वासिला साथी

Facebook_Ipadगएको हप्ता एक किशोरको फेसबुक चलनचल्तीको भाषामा ह्याक भयो। प्राविधिक भाषामा भन्नुपर्दा उनको फेसबुकको पासवर्ड कसैगरी अरूले थाहा पाएर चलाइदिएछ। चलाएर हेर्दासम्म त केही बिग्रेको थिएन, तर अपरिचितले चलाएर चिनेजानेका मान्छेलाई अश्लील शब्दमा च्याट गर्न थालेपछि भने हंगामा नै भयो। उनले कतै जाँदा साथीको घरमा, साइबरमा वा कसैको ल्यापटपमा फेसबुक लगइन गरेर साइन आउट गर्न बिर्सेका हुनसक्छन्। वा, त्यस्ता कम्प्युटरमा कसैले टाइप गर्ने पासवर्ड सेभ हुने गरी सेटिङ मिलाएर राखेका हुनसक्छन्। जे भए पनि उनले आफ्नो फेसबुकमाथिको नियन्त्रण गुमाए। त्यसलाई फेरि आफूले चलाउन मिल्ने बनाउनका लागि पासवर्ड परिवर्तन गर्नु एकमात्र उपाय हो। तर, त्यसका लागि तपाईंले लगइन गर्ने इमेल सही हुनुपर्छ। अथवा, ह्याकरले त्यही इमेल पनि परिवर्तन गरिदिएको हुनसक्छ।
ती किशोरको इमेल याहूमा थियो र इमेल धेरै समयसम्म नचलाएकोले बन्द भइसकेको थियो। मोबाइल नम्बर पनि उनले त्यसमा राखेका थिएनन्। यस्तो अवस्थामा आफ्नो फेसबुकमाथि पुनः नियन्त्रण कायम गर्ने उपाय के छ त?
विश्वासिला साथी
फेसबुकले तपाईंका फेसबुके साथीमध्ये तीन जनालाई एउटा कोड पठाउँछ। कुन–कुन साथीलाई कोड पठाउने भनी तपाईं आफैँ छान्न सक्नुहुन्छ। तर, ती किशोरले वास्तविक जीवनमा नचिनेका जो पायो, त्यही साथीलाई फेसबुकमा साथी बनाएका रहेछन्। त्यही भएर यो उपाय पनि काम लागेन।

तपाईं पनि यस्तै स्थितिमा पुग्नबाट बच्न अहिले नै सावधानी अपनाउन सक्नुहुन्छ। यसका लागि तपाईंले अहिले नै आफ्ना पाँच विश्वासिला साथी छनोट गर्न सक्नुहुन्छ।
के हो विश्वासिला साथी?
फेसबुकको ट्रस्टेड फ्रेन्ड पासवर्ड रिसेट सुविधा सन् २०११ देखि सुरु भएको हो। अहिले यसलाई रिडिजाइन गरी ट्रस्टेड कन्ट्याक्ट भनिएको छ। यस्ता साथीहरू तपाईंका एकदमै विश्वासिला र आवश्यक परेको बेला फोन गरेर सम्पर्क राख्न सक्ने हुनुपर्छ।

फेसबुकले यी पाँच साथीमध्ये तीन जनालाई पासवर्ड रिसेट गर्ने कोड र सूचना पठाउँछ। तपाईंले फोन गरेर उनीहरूबाट पासवर्ड रिसेट गर्ने कोड लिएर फेसबुकमा इन्टर गर्नुपर्छ। तीन वटै कोड राखिसकेपछि बल्ल तपाईंको फेसबुक पासवर्ड रिसेट हुन्छ।
कसरी गर्ने?
आपत्कालीन अवस्थाका लागि अहिलेदेखि नै पाँच जना विश्वासिला साथी छनोट गरिराख्न चाहनुहुन्छ भने यसो गर्नुहोस्ः
• सबैभन्दा पहिले आफ्नो फेसबुकको सेटिंग्समा जानुहोस्।
• त्यहाँ सेक्युरिटी सेटिंग्स छान्नुहोस्।
• अब दायाँपट्टि हेर्नुहोस्, त्यहाँ ट्रस्टेड कन्ट्याक्टस् लेखिएको हुन्छ। त्यसमा रहेको एडिटमा क्लिक गर्नुहोस्।
• अब तीनदेखि पाँच जनासम्म विश्वासिला साथी छान्नुहोस्।
• पछि कुनै पनि बेला तपाईं ती साथीलाई हटाउन वा नयाँ राख्न सक्नुहुन्छ।
सावधान, तपाईं साँचो अरूलाई दिँदै हुनुहुन्छ!
यी साथीहरू छान्दा तपाईं धेरै नै सावधान हुनुपर्छ किनभने तपाईं आफ्नो सेफको साँचो अरूलाई दिँदै हुनुहुन्छ। यदि तपाईंले छान्नुभएका ती साथी विश्वासिला परेनन् भने तपाईंलाई उल्टो अप्ठेरोमा पारिदिन सक्छन्। तपाईंका ती तीन जना साथी मिले भने पासवर्ड चेन्ज गरेर तपाईको फेसबुक लग इन गरी सबै कुरा खोतलखातल पार्न सक्छन्। यस्तो हुनसक्नेतर्फ प्रविधि ब्लगरहरूले सचेत गराएका छन्।
निक स्टायटले सुझाएका छन्, ‘विश्वासिला साथी छान्दा एकअर्कालाई मन नपराउने छान्नुहोस्। ताकि उनीहरू मिलेर तपाईंलाई धोका दिन नसकून्। मतलब तीन जना नमिली पासवर्ड चेन्ज गर्न नसकिने भएकाले तीन जना आपसमा मिल्नै नसक्ने साथीहरू रोज्नुहोस्।

Leave a Reply

Your email address will not be published.