माङ्गलिक कामना गर्दै अनन्त पर्व मनाइयो

Ananta parba in _Kailali-1अविनाश चौधरी, धनगढी– माङ्गलिक कामना गर्दै कैलालीका पूर्वी भेगका थारु समुदायले अनत्ता (अनन्त) पर्व मनाएका छन्। समुदायले नै मनाउने गरेको अष्टिम्की र अँटवारी पर्व जस्तै व्रत बसेर अनत्ता पर्व मनाइएको हो। एक दिनमात्रै मनाइने यो पर्वमा महिला पुरुषहरु नुहाई धुवाई गरेर पूजाको सामग्री सहित एक घरमा जम्मा हुने चलन छ। जम्मा भएका व्रतालुहरुले कलशमा कुशको अनन्त भगवान स्थापित गर्ने गर्छन् र गुइठाँको धुनी जलाएर पूजा गर्ने चलन छ।
व्रतालुहरुले पूजापछि चौध धागोको रस्सी बनाउँदै चौध गाँठो पारेर अनत्ता धागो बनाउँछन्। त्यस लगत्तै कुशको औंठी लगाई कलशमा राखेको लोटाको पानीमा पालैपालो औंला र औंठी डुबाउने चलन छ। यसरी गरिएको कार्यलाई ब्रतालुहरुले समुन्द्र मन्ठन भन्ने गर्दछन्। पालैपालो लोटाको पानी चलाउँदैं इच्छाएको चिज माग्दा त्यो पूरा हुने अनन्त ब्रतालुहरुले विश्वास गर्दछन्।
ब्रतालु सबैले पालैपालो लोटाको पानी चलाई सकेपछि चौध गाँठोको धागोडोरीलाई बेसारले रंगाउने र  पुरुषले दायाँ र महिलाले बायाँ पाखुरामा बाँध्ने गर्दछन्। यसरी अनत्तरको पूजा सकिएपछि साँझ घरमा बनाइएको खानाका परिकारहरु खाने र आफ्नो आफन्तलाई खुवाउने चलन छ। स्थानीय दिल बहादुर चौधरीका अनुसार यो पर्वको सुरु–सुरुमा पुरुषमात्रै ब्रत बस्ने चलन थियो। तर, पछि परिमार्जित गरेर महिला समेत यो ब्रत बस्न सकिने व्यवस्था गरिएको हो। अहिले यो पर्व अविवाहित युवतीहरुका लागि लोकप्रिय बनेको चौधरीले बताउनुभयो।

स्थानीय कथन अनुसार भगवान श्रीकृष्णको सल्लाहमा कष्टबाट मुक्ती पाउनका लागि महाभारतका पाँच पाण्डव र द्रौपतीले अनन्त भगवानको ब्रत बसेर मुक्ती पाएको सम्झनामा यो पर्व मनाउने चलन रहँदै आएको छ।

यो पर्वबारे विस्तृत बुझ्न यहाँ क्लिक गर्नुस्

Leave a Reply

Your email address will not be published.