यसरी मनाइन्छ अनन्त पर्व (फोटोसहित)

Ananta parba in _Kailali-1 दिलबहादुर चौधरी– धेरै इतिहासकार र विद्वानहरुमा थारुबारे विवाद देखिएको छ। कतिपयले थारुलाई किरात मानेका छन् भने कसैले निग्रेटो वा द्रविड मूलका मानेका छन्। यसरी किरात, निग्रेटो वा द्रविड जे भने पनि धेरै इतिहासकार र विद्वानहरुले थारुलाई अनार्य भएको कुरा स्वीकार गर्छन्।

डा. रामानन्द प्रसाद सिंह, तेजनारायण पंजियार, सुबोधकुमार सिंह, महेश चौधरी, गोपाल दहितले थारुलाई बौद्ध मानेका छन् भने थारु लोक गीत वर्किमारलाई पुस्तकको रुप दिने दाङ्गका अशोक चौधरी, इन्सेकमा वरिष्ठ अधिकृतका रुपमा कार्यरत बर्दियाका सुशिल चौधरीलगायतका कतिपय ब्यक्तिहरु थारुह आदि देवता गुर्बा बा हुन् र थारुको छुट्टै धर्म छ भन्ने कुराको नजिक देखिन्छन्।

Ananta parba in _Kailali-4थारु विद्वानबीचमा विवाद रहेकै बेला थारु कल्याणकारिणी सभाले बि.स. २०६५ मा थारुको अन्तर्राष्ट्रिय सम्मेलन गरी थारुहरु बौद्ध भएको निर्णय र घोषणा गर्‍यो। यसरी एकातिर थारुको आधिकारिक संगठनले थारुहरु बौद्ध भएको घोषणा गरेको छ भने अर्कोतिर थारुहरुको पूजास्थल, उनीहरुले मान्ने चाडपर्व, तरत्यौहार, ब्रत आदि हिन्दूसँग मेल खाने गरेको देखिएको छ। यसले थारुमा झन् अन्यौलको स्थिति पैदा गरेको छ।

इतिहासले भन्छ, आर्यहरु हिन्दकुश पर्वत शृङ्खला पार गरेर जमुनाको पश्चिमी तटसम्म कब्जा गरिसकेपछि पहाडमा बस्ने किर (किरात) जातिलाई पनि पराजित गरे। द्रविड र निग्रेटोलाई परास्त गरेपश्चात् उनीहरुमाथि कतिपयले आफ्नो संस्कृति लादे भने उनीहरुको कतिपय संस्कृतिलाई आफ्नो संस्कृति बनाए। यसरी कतिपय संस्कृति संघर्षले र कतिपय संस्कृति आपसी मेलमिलाप र सद्‍भावले आर्य र अनार्यको संस्कृति मिश्रित हुन पुग्यो। सांस्कृतिक मिसावटले अहिले थारुमा ‘हामीआर्य वाअनार्य’ भन्ने बहस पनि छ। जनकलाल शर्माका अनुसार ‘शिव, पार्वती, बिष्णु, कुमार, हनुमान, गणेश, शीतला, आदि देवदेवी पहिले द्रविडका देवता थिए, अनार्य थिए र आर्यद्वारा गृहित भए, त्यतिमात्रै होइन, देवताका सामने धूप–अगरबत्ती बाल्ने, घण्टा बजाउने, देवदेवीलाई भोग लगाउने, प्रसाद बाँड्ने कामपनि द्रविडले गर्थे, पछि आर्यले अनुकरण गरे र आफ्नो बनाए (हाम्रो समाज एक अध्ययन–जनकलालशर्मा)।’

यसरी थारुहरु बौद्ध हुन् या हिन्दू, उनीहरु आर्य हुन् या अनार्य, द्रबिड होऊन् या किरात, उनीहरुले मान्ने कतिपय चाडपर्व, ब्रतहरु हिन्दूहरुसँग मिल्दोजुल्दो देखिन्छ। यिनै ब्रतमध्येको अनत्तर ब्रत (अनन्तब्रत) पनि कतिपय ठाउँका थारुहरु मान्ने गर्छन्। कैलाली जिल्लाको मध्य र पूर्वी भागतिरका थारुहरु यो ब्रत धुमधामसँग मनाउँछन्। पहिले पहिले लोग्ने मानिसहरु मात्रै बस्ने यो ब्रत यतिबेला आईमाई, केटीहरुको ब्रत बन्दै गइरहेको छ। अन्य जिल्ला वा क्षेत्रका थारुहरुका लागि पनि यो ब्रत नौलो हुन सक्छ।

Ananta parba in _Kailali-2अनन्तब्रतको सार

भनिन्छ द्वापर युगमा महाराज युधिष्ठिरले राजसूर्य यज्ञ गरेका थिए। त्यतिबेला यस्तो सुन्दर र मनोरम यज्ञ मण्डपको निर्माण गरिएको थियो कि त्यहाँ तलाउ र जमिन छुट्ट्याउन निकै गाह्रो थियो। त्यहीबीचमा एक दिन दुर्योधन कतैबाट घुम्दै त्यहाँ पुगे र तलाउलाई भुईं मानेर हिँड्दा लडे। त्यतिबेला हाँस्दै द्रौपदीले ‘अन्धाको छोरा अन्धा’ भनीखिल्ली उडाइन्। दुर्योधनको मुटुमा त्यो बचनबाण बिझ्यो। त्यसैको बदलालिन दुर्योधनले पाँच पाण्डवलाई एक दिन हस्तिनापुरमा डाके र छल, कल र बलले जुवापासामा पराजित गरे। प्रतिज्ञाअनुसार पाण्डवहरु १२ वर्ष बनवास बसे। बनबास बस्ने क्रममा पाण्डवहरु निकै दुःख, कष्ट सहे। बनबासकै क्रममा श्रीकृष्ण पाण्डवलाई भेट गर्न गए र भलाकुसारी गरे। युधिष्ठिरले सो अवधिमा धेरै दुःख–कष्ट सहनु परेको खबर सुनाए। उनले दुःख कसरी कमगर्न सकिन्छ भनी उपाय सोधे। श्रीकृष्णले पाँचभाई पाण्डवलाई अनन्त भगवानको ब्रत बस्ने सल्लाह दिए र कथा सुनाए।

‘सत्ययुगमा सुमन्तनामका एक मुनि थिए। उनको पत्‍नीको नाम दीक्षा थियो। उनीहरुको एक छोरी थिइ, छोरीको नाम सुशिला थियो। सुशिला जवान नहुँदै दीक्षाको मृत्यु भयो र मुनिले गर्कशासँग दोस्रो विवाह गरे। ठूली भएपछि ऋषिले छोरीको विवाह कौडिन्य ऋषिसँग गरिदिए। विदाइको बेलामा सुशिलाकी सौतेनी आमाले कौडिन्यलाई केहि इट्टा र ढुङ्गाका टुक्राहरु पोको पारिदिए। ससुरालीले दिएको दाइजो भनी कौडिन्य ऋषि पत्‍नीसहित घर हिँडे। बाटोमा एक नदी थियो, त्यहाँ पुग्दा उनीहरु थाके र बिश्राम गर्न लागे। सुशिला, नदीको अर्को छेउमा सिंगारपटार गरेर केही महिलाहरु कुनै देवताको पूजा गरिरहेको दृश्य देखिन् र जिज्ञासा राखिन्। उनीहरुले अनन्त भगवानको पूजा गरिरहेको जानकारी गराए र अनन्त ब्रतको महत्व बताए। सुशिलाले उनीहरुसँगै अनन्त भगवानको पूजा गरिन् र चौध वटा गाँठा भएको अनन्त धागो हातमा बाँधिन्। त्यो भाद्र महिनाको शुक्ल चतुर्दशी थियो। Ananta parba in _Kailali-3घर पुग्दा उनलाई दिइएको इट्टा ढुङ्गा हीरा–मोती भयो। ऐशआरामको जिन्दगी बित्‍न थाल्यो। केही दिनपछि ऋषि कौडिन्यले सुशीलिको बायाँ हातमा बाँधेको पहेँलो रंगको धागो देखे। उनलाई लाग्यो, सुशिलाले आफूलाई बशमा राख्‍न टुनामुना गरेको धागो बाँधेकी छ। उनले सोधिहाले, तिमीले मलाई बशमा राख्‍न यो टुनामुना गरेकी छ्यो कि क्या हो? सुशिलाले थाहा पाएको कुरा बताइन्। तर धन दौलतमे मस्त कौडिन्य, बशीकरण गर्नलाई बाँधिएको डोरो भनी चुँडेर आगोमा जलाइदिए। यसले भगवान अनन्त अपमानित भए र कौडिन्य केही दिनमै गरिब हुँदै गए, कष्ट झेल्न थाले। कौडिन्य ऋषि, सुशिलासँग किन यति धेरै दुःख कष्ट आउन थाल्यो भनी कुरा गरे। सुशिलाले अनन्त भगवानको अनन्त डोरी जलाएकाले यस्तो भएको कुरा बताइन्। ऋषिले त्यसपछि पश्चाताप गर्दै भगवान अनन्तसँग क्षमा माग्नलाई भगवानको खोजीमा जंगल पसे। तर भगवानलाई फेला पार्न सकेनन्। धेरै दिनपछि उनी कमजोर भए, एक दिन भुइँमा लडे। दर्शन नपाएपछि उनी प्राण त्याग गर्ने निर्णय गरे। त्यही बेला भगवान अनन्त प्रकट भए र भने ‘ऋषि, तिमीले जुन अनन्त धागोलाई आगोमा पोल्यो, यो उसैको फल हो, तिमी चौदह वर्ष यसको प्रायश्चित गर। कौडिन्यले त्यसै गरे र अन्तमा उनको अवस्थामा सुधार आयो। उनी फेरि सुखी जीवन जिउन थाले। त्यसैले हे पाण्डवहरु हो, तिमीहरु अनन्त भगवानको अनन्त ब्रत बस भनी श्रीकृष्णले पाण्डवहरुलाई सल्लाह दिए। भगवान कृष्णको सल्लाहअनुसार पाँच पाण्डव पनि द्रौपदीसहित अनन्त भगवानको ब्रत बसे र कष्टबाट मुक्ति पाए। यसरी अनन्त ब्रतको सुरुवात भएको हो।

यो ब्रत नेपालका कुन-कुन ठाउँमा, कुन-कुन समुदाय बस्छन्, यकिन थाहा छैन, तर कैलालीका मध्य तथा पूर्वी क्षेत्रका थारुहरु पनि यो ब्रत बस्ने गरेका छन्। ब्रतालुहरु यस दिनमा बिहान काम गरी दश, एघार बजेतिर नुहाई धुवाई गरी थालमा गोबर गणेश, चामल, हल्दी, कच्चीधागो या सेतो पातलो धागो, काँक्रालिएर गाउँको कुनै एक घरमाजम्मा हुन्छन्। त्यहाँ कलशमा कुशको अनन्त भगवान स्थापित गरिएको हुन्छ र लोटामा कुशको औंठी र आँपको सानो पातसहितको हाँगा राखिएको हुन्छ। गोबरको कन्डा (सुकेको गुइँठा) को आगो एक ठाउँमा बालिएको हुन्छ र धूपी सल्ला, घिउको मिसावटसहितको धूपतयार गरी आगोमा धूपहाली, पानी चढाई पालैपालो पूजा गरिन्छ। कच्ची धागोको चौध सूत (लर)धागोको रस्सी बनाउँछन् र विशेष प्रकारले चौध वटा गाँठो पारीअनत्तर (अनन्त) धागो बनाइन्छ र हल्दीमा पानी हाली रंगाइन्छ। सबैले बनाइसकेपछि पुरुषले दायाँ हातमा र स्त्रीजातिले बाँयाहातको पाखुरामा अनत्तर धागो बाँधिन्छ। अनि पालैपालो कलशमा राखेको लोटाको पानी, हातमाकुशको औंठी लगाइ चलाउँछन्। जसलाई समुद्र मन्ठन गरेको भन्छन्। नजिकै बस्नेले लोटाको पानी चलाउने ब्यक्तिलाई ‘केमाग्दैछौ भनी सोध्छन्।’ उनले ‘अन, धन, पुत, परिवार, गौलक्ष्मी, बडे अनत्तर (अनन्त) के फल’ भनी जवाफ दिन्छन्। अथवा मनमा लागेको कुरा सबैसामु सुनाएर माग्छन्। यो क्षण बडो रमाइलो हुन्छ।

Ananta parba in _Kailali-5उता हरेकको घरमापकाउनेले नुहाई धुवाई, सफासुग्घर भएर अन्दीधान (बिशेष प्रकारको धान) को चामलको रोटी पकाएको हुन्छ। सूर्यास्त हुनु अगावै उक्ततयार गरिएको रोटी,ब्रतालुलेपूजा गरी, अग्राशन निकाली आफू सेवन गर्छन्। सूर्यास्त भएपछि खानमनाही हुन्छ। कसै कसैले पानीसम्म सेवन गर्छन्। बिहान नुहाई, धुवाई गरी पूजाआजा गरी घरमा लिपपोत गरिएको ठाउँमा बस्छन्। तयार भएको खाना– पकवान एक आफ्नो भाग र अर्को अनन्त भगवानको भाग अग्राशनको रुपमा अगाडि निकाल्छन्। खानलाई तयार गरेको हरेक कुरा अलिअलि धूपसँगै आगोमा चढाउँछन्, अग्राशनलाई अनन्त भगवानको चढाउँदै अलि पर सार्छन् र तीन देखि ५ गास खाएपछि हातधोई, हातमा बाँधिएको अनन्त डोरी निकाल्छन् र खाना खान्छन्। भगवानलाई भोग लगाइसकेको अग्राशन, बिहा भएका चेली–बेटीको घरमादिन जान्छन्।

यो ब्रतमाचौध सुत (लर) धागोको रस्सी तयार हुन्छ र रस्सीमा विशेष प्रकारले चौध वटा गाँठो तयार गरिन्छ। भनिन्छ, ब्रतालुले यो ब्रत १४ वर्षसम्म बस्न अनिवार्य हुन्छ। यसरी ब्रत बस्दा भगवानले चिताएको फल, बरदान दिन्छन् भन्ने समुदायको मान्यता छ।

Leave a Reply

Your email address will not be published.