एकातिर अट्वारी अर्कोतिर बड्की अत्तवार

atwariकमला चौधरी, बुटवल- नेपाल एक बहुजाति, बहुभाषी, बहु संस्कृति र प्राकृतिक सौर्न्दताले भरिएको देश हो। यहाँ विभिन्न जातजातिका मानिस बसोवास गर्छन्। त्यसमध्ये पनि आफ्नो छुट्टै पहिचान बोकेको जाति छ, त्यो हो थारु। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तराईका फाँटहरुमा थारु समुदायको बस्ती छ। यो समुदायको भेषभुषा, रहन–सहन, भाषा, संस्कृति एवं जीवनशैली अत्यन्त रोचक र फरक छ। कालो वर्णमा, मंगोलियनजस्तै देखिने यो जाति एकदमै सोझा, इमानदार, परिश्रमी स्वाभावका हुन्छन्। यो समुदायको आफ्नै चाडवाड छन्। थारु समुदायले माघी पर्वलाई सबभन्दा ठूलो पर्वका साथै नया वर्षको रुपमा मनाउने गर्छन्। त्यसैगरी यो समुदायको गुडिया पर्व पछिको दोस्रो पर्वको रुपमा बड्की अत्तवारलाई मान्दै आएका छन्।
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समुदायको भेषभुषा, भाषशैली, लवाईखवाई फरक भएर पनि होला यहाँ चाडपर्व मनाउने तिथि मिति र भनाइ पनि फरक छ। एकातिर अट्वारी अर्कोतिर बड्की अत्तवार भनेर नामाकरण गरी पर्व मानिरहेका छन्। अट्वारी पर्व तराईका पश्चिम जिल्ला दाङ, बाँके, बदिर्या, कैलाली, कञ्चनपुर र सुर्खेत गरी ६ जिल्लाका थारु समुदायले भव्यताका साथ मनाइसकेका छन् तर लुम्बिनी अञ्चलका ३ जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा भने अवको आइबार बड्की अत्तवार भनेर मनाउने तरखरमा छन्। पश्चिमका ६ जिल्लामा थारु समुदायले कृष्णा अष्टमीपछिका दुई आइतबार अर्थात् कुशे औंशीपछिको आइतबारलाई अट्वारी पर्वका रुपमा मनाउँदै आएका छन् भने लुम्बिनी अञ्चलका ३ जिल्लामा तीज मनाइसकेको छैठौं दिनपछिको पहिलो आइतबारलाई बड्की आत्तवारको रुपमा मनाउने गर्छन्। यहाँका थारु समुदाय आउदो आईतवार पर्व मनाउने सुरमा छन्।
त्यसैगरी भनाइमा पनि फरक रहेको थारु अगुवाहरु बताउँछन्। हुन पनि ६ जिल्लामा प्राचीन कालमा दाङका थारु दंगीशरण राजा र पाँच पाण्डवमध्ये भीमसँगको कहानीलाई लिएर मनाउँदै आएका छन् भने ३ जिल्लामा हिन्दू कथनअनुसार सूर्य देवतालाई पुजाआराधना गरी मनाउने गर्छन्। लुम्विनी अञ्चलका यी तीन जिल्लाका थारुलगायत मधेसी समुदायले पनि बड्की अत्तवार मनाउने गर्छन्। थारु समुदायले तीजको छैठौं दिनपछिको पहिलो आइतबारलाई बड्की आत्तवारको रुपमा मनाउने गर्छन्। मधेसी समुदायले रविवार भनेर त्यस दिनलाई मनाउँछन्।

थारु समुदायको प्रकृतिसँगको एकदम घनिष्ठ सम्बन्ध छ। बड्की अत्तवारको दिन थारु समुदायका महिलाहरु सूर्य देवताको पुजा गर्ने गर्छन्। यस दिन महिलाई बिहानै स्नान गरी सूर्य देवतालाई जल चढाई उनकै नाममा उपवास बस्ने गर्छन्। सूर्यले नै पृथ्वीमा रहेका पशुपंछी, जीवजन्तु र हरेक प्राणीलाई जोगाई राख्नु मद्दत गरोस् भनि निराहार ब्रत बस्ने गर्छन्। त्यसैगरी छोरा नहुनेले छोरा पाउँ भनि ब्रत बस्ने गर्छन्। महिलामात्रै नभएर पुरुषहरु पनि यस दिन ब्रत बस्ने गर्छन्। घरम शुःख शान्ति र राम्रो आम्दानी होस् भनि ब्रत बस्ने गर्छन्। थारु समुदायको घरमा भर्खर भर्खर विवाह भएका नवदम्पक्तिलाई दुई चार दिन अगावै बोलाउन जाने चलन छ। नयाँ दामाद अर्थात् ज्वाइँलाई सरसम्मानका साथ घरमा स्वागत गर्ने प्रचलन हुन्छ यो दिन। ज्वाइलाई जडावर (उपहार) धोती, कछाड त्यो नभए कोर्ट पाइन्छ दिने चलन छ।
ब्रत बसेका थारु महिलाले दिउँसोमा रोटी चिनी भेलि फलफूल विशेष परिकार रहेको हुन्छ। बनाइएको परिकार सर्वप्रथम आगोमा थोरै चढाइ केराको पात  वा पुरैनीको पातमा राखेर खाने गर्छन्। त्यस दिन रातभर थारु महिलाहरु रमाईले कथा भन्दै नाचगान गर्दै बस्ने गर्छन्। ब्रतातुहरुले आफूले खानुभन्दा अगावै छुटटै रोटी, फलफूल, चामल, आलु, नुन हर्दी राख्नेे गर्छन्। त्यो राखिएको भाग भोलि बिहान आफ्नो भान्जा वा भान्जीलाई दिने चलन छ।  थारु समुदायमा वर्षभरि आङ्खनो दिदी बहिनी अर्थात् दाइभाइसँगको भेटघाट गर्ने अवसर मिलाइदिएको हुन्छ। यो पर्वले वर्षमा एकचोटि भए पनि आङ्खनो दिदी बहिनी तथा दाइ भाइसँग भेट्ने अवसरको बाटो बनाइदिन्छ। यसैगरी छरछिमेकीसँग रिसराग रहेका बेला यो पर्वले मिलन गराउनेजस्ता क्रियाकलापमा पनि महत्वपूर्ण  भूमिका खेलेको छ।

बड्की अत्तवारको भोलिपल्ट थारु महिलाले बिहानै नजिकैको नदि, तलाउ, धारामा गइ पारन अर्थात् स्नान गरी पहिला सूर्यको मुखमा जल चढाई घरमा प्रसाद बाडने गर्छन्। ब्रत बसी सक्काएपछि त्यसदिन हरेकको घरमा माछा, मासु ढिकरी, अन्दिकको भात, गाभाको पकौडालगायतका परिकार बनेको हुन्छ। पाकेको परिकार पहिला आगोमा चढाउने गरिन्छ। त्यसपछि घरका सबै परिवारलाई खान दिने चलन छ। यसरी मनाइसकेपछि यो चाड सकिन्छ।

One thought on “एकातिर अट्वारी अर्कोतिर बड्की अत्तवार

Leave a Reply

Your email address will not be published.