कञ्चनपुर- हस्तकलाको क्षेत्रमा धनी मानिएको कञ्चनपुरको थारू समुदाय व्यावसायिक बन्न नसक्दा उत्थानमा टेवा पुग्न सकेको छैन। आफू प्रयोजनका लागि थारू समुदायका व्यक्तिले परम्परागत सीपको प्रयोग गर्दै हस्तकलाका साधन बनाउँदै आए पनि जनचेतनाको कमीका कारण हस्तकलाका सामग्रीलाई बजारसम्म पुर्याउन नसक्दा यस समुदायको सीप घरमै सीमित रहन पुगेको छ।
थारू समुदायको पहिचान र सभ्यता बोकेका हस्तकलाका सामानलाई बजारसम्म पुर्याउने सके थारू समुदायमा व्याप्त गरिबी निवारणमा टेवा पुग्ने थारू बुद्धिजीवी धनबहादुर चौधरीले बताए। थारू समुदायले स्थानीयस्तरमा नै उपलब्ध हुने कच्चापदार्थबाट डेल्वा, ढक्या, पनछोपनी, छिटुवा, छतरी, पङ्खा, सुप्पा, मच्या, खन्ध्री, भौंका, माटोबाट बनाइने गाग्री, करुवा, सुराही, घाँसबाट बनाइने गुन्द्री, मौनी, डोरी र सिकहर बनाउने गर्दै आएका छन्।
उत्पादित वस्तुको बजारीकरण गर्न सके थारू समुदायमा व्याप्त गरिबी सहजै निवारण हुने सुरेश चौधरीले भने– “थारू समुदाय पुर्खौंदेखि कृषि पेसामा आबद्ध रहेकाले इमान्दार र मिहेनती भए पनि व्यापार गर्न नसिकेका कारण परम्परागत सीप त्यतिकै खेर जान थालेको छ।”
आधुनिक बजारमा थारू समुदायले परम्परागत रूपमा बनाउँदै आएका वस्तुमा थोरै परिमार्जन गरी बजार अनुकूल बनाउनका लागि तालिमको व्यवस्था गरिए थोरै पारिश्रमिकमा वस्तु बजारमा पुर्याई प्रतिस्पर्धा गर्न सकिनेमा जोड दिँदै हबलदार चौधरीले भने– “त्यसैले परम्परागत सीपलाई आधुनिकतातर्फ डोर्याउन आवश्यक भएको छ।” यसले वस्तुको गुणस्तर तथा मात्रालाई बढावा दिन सकिन्छ। रासस