‘सिकलसेल एनिमिया’लाई लिएर थारु समुदाय चिन्तित

कैलाली- ‘सिकलसेल एनिमिया’पश्चिम तराईमा लाग्ने रोग भनी सञ्चार माध्यममा आएपछि कैलालीका थारु समुदाय चिन्तित भएका छन्। भेरी अञ्चल अस्पताल नेपालगञ्जमा कार्यरत फिजिसियन डा. राजन पन्तलगायत बाँकेका चिकित्सकले मध्यपश्चिमको बाँके र बर्दियाका थारुबीचमा गरेको अध्ययनअनुरुप ‘सिकलसेल एनिमिया’ रोग तराईका थारुमा मात्र देखिएको र २० देखि ३० प्रतिशत थारुमा ‘सिकलसेल एनिमिया’ हुनसक्ने उनीहरुको अनुमान रहेको कुरा समाचारमा आएपछि उनीहरु चिन्तित भएका हुन्।

यही बिषयलाई लिएर थारु नागरिक समाज कैलाली, थारु कल्याणकारिणी सभा कैलाली, थारु महिला सञ्जाल कैलाली र आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कैलालीले साउन २० गते जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत् ४ बुँदे माग राखी सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले ज्ञापन पत्रमा ‘रगत परीक्षण र अध्ययनअनुसार बाँके र बर्दियाका अनिता थारु, परदेशी चौधरी, मेघराज चौधरीका पूरै परिवारमा यो रोग देखिएको र समयमा उपचार अभियान नचलाए थारु समुदायका भावी पुस्ता नै रोगबाट प्रभावित हुने चिकित्सकका भनाइले निकै मर्माहत भएको उल्लेख गर्दै ‘सिकलसेल एनिमिया’बारे सरकारीस्तरबाटै अध्ययन गर्न, उपस्वास्थ्य चौकीदेखि अस्पतालसम्मका हरेक स्वास्थ्य निकायलाई यो रोग र रोगबाट बच्ने उपायबारे सचेतना अभियान सञ्चालन गर्न, हरेक गाविसमा ‘सिकलसेल एनिमिया’ हो वा होइन भनी निशुल्क चेकजाँच र उपचारको ब्यबस्था गर्न र ‘सिकलसेल एनिमिया’ रोग लागेका रोगीहरुको निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था गर्न माग गरेका छन्।

४ वटै संगठनका तर्फबाट आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, कैलालीका अध्यक्षले कैलाली जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी उदयबहादुर सिंहमार्फत् स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका हुन्।

४ वटै संगठनले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरुको माग सञ्चारमार्फत् सरकारकहाँ पुर्‍याइदिन माग गरेका थिए। थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले सञ्चारमार्फत् आफूहरुले रोगबारे थाहा पाएकाले सञ्चारमार्फत् नै आफूहरुको माग पनि सरकारले थाहा पाओस् भन्दै देशको कूल जनसंख्याको करिब ७ प्रतिशत ओगटेका तराईका आदिवासी थारुहरुमा देखिएको यो रोगबारे सरकार बेखबर हुनु, सरकारीस्तरबाट अध्ययन, अनुसन्धान नथाल्नु सरकार आफ्नो कर्तव्यर जिम्मेवारीबाट पन्छिनु हो भन्ने आफूहरुको ठहर रहेको बताएका थिए।Gyapan patra

Leave a Reply

Your email address will not be published.