युट्युबमा नेपाली फिल्म च्यानल

youtubeविश्वभर लोकप्रिय भिडियो सेयरिङ साइट युट्युब फेसबुकपछि नेपालमा सबैभन्दा धेरै हेरिने साइट हो। युट्युब खासमा प्रयोगकर्ताहरूले नै खिचेका स–साना भिडियो एकअर्कामा बाँड्ने उद्देश्यले सुरु भएको साइट भए पनि समयक्रमसँगै यो त्यो दायरालाई नाघेर अघि बढिसक्यो। क्यानेडियाली टिन पपस्टार जस्टिन बिबर र कोरियाली सेन्सेसन साई युट्युब भिडियोकै कारण विश्व विख्यात बनेका हुन्।

आजभोलि म्युजिक भिडियोदेखि लिएर फिल्मसम्म पनि युट्युबमा भेटिन्छन्। युट्युबले फिल्मका लागि विशेष पेज छुट्याएको छ। यसमा आधिकारिक रूपमा फिल्म निर्माण वा वितरण कम्पनीले अपलोड गरेका फिल्महरू राख्ने गरिएको छ। अंग्रेजी र हिन्दी फिल्महरू धेरै अघिदेखि नै यो पेजमा देख्न पाइन्थ्यो। भर्खरै नेपाली फिल्मको पनि पेज युट्युबमा खुलेको छ। त्यसो त यसअघि पनि युट्युबमा नेपाली फिल्महरू नभेटिने हैनन्। तर, ती सबै फिल्म अनधिकृत रूपमा कुनै प्रयोगकर्ताले अपलोड गरेका हुन्थे। त्यस्ता भिडियो युट्युबको नीतिविपरीत अपलोड भएका हुन् र उजुरी पर्नेबित्तिकै हट्छन्।

वितरणको नयाँ माध्यम
वितरणको अधिकार पाएको कम्पनीले युट्युबलाई माध्यम बनाई वितरण गरेको नेपालमा पहिलो पटक हो। अहिले युट्युबको नेपाली फिल्म च्यानलमा दुई कम्पनी हाइटेक इन्टरटेन्मेन्ट र बुढासुब्बा डिजिटलका फिल्महरू हेर्न पाइन्छन्। यी दुवै कम्पनी अहिलेसम्म फिल्म प्रदर्शन भइसकेको निश्चित समयपछि मूलतः भिसिडी, डिभिडी अधिकार किनेर वितरण गर्ने गर्दथे। युट्युबमा प्रदर्शनका लागि उनीहरूले फिल्म निर्मातासँग अलग्गै सम्झौता गरेका छन् कि छैनन् भन्ने प्रस्ट छैन।
हिन्दी फिल्म निर्माता कम्पनी आफैँले अपलोड गर्ने गरेको पाइए पनि नेपालमा अहिलेसम्म त्यस्तो चलन भित्रिएको छैन।

के फाइदा हुन्छ?
युट्युब भिडियो रिसोर्सका लागि एउटा राम्रो स्थान भएको छ। पुराना, ऐतिहासिक महŒवका भिडियोदेखि हल्काफुल्का रमाइला भिडियोसम्म यसमा हेर्न पाइन्छ। विश्वका फिल्महरूको अध्ययन गर्नलाई पनि युट्युब राम्रो स्थान हो। यहाँ भारतका हिन्दी बाहेक मलयालम, मराठी, पञ्जाबी, बिहारी आदि भाषामा कस्ता फिल्म बनिरहेका छन्? रुस, जर्मन, फ्रेन्च, डच, अरेबियन, अफ्रिकन फिल्महरू कस्ता हुन्छन्, त्यो पनि हेर्न सकिन्छ।
हलमा चलिसकेपछि यत्तिकै घरमा थन्काएर राख्नुभन्दा फिल्महरू युट्युबमा सार्वजनिक प्रदर्शनका लागि राख्नुले फाइदाबाहेक बेफाइदा गर्दैन। दर्शक र अनुसन्धानकर्ताले पुराना फिल्म सहजै हेर्न पाउँछन्। अझ धेरै फिल्महरू छन् भने त आर्थिक रूपमा फाइदासमेत गर्न सकिन्छ। युट्युबले धेरैले हेर्ने र धेरै भिडियो अपलोड गर्ने प्रयोगकर्तालाई पार्टनर बनाउन सक्छ र त्यसमा विज्ञापन राखेर निश्चित रकम निर्माण कम्पनीलाई भुक्तान गर्न सक्छ।

कुन कुन फिल्म छ?
अहिलेसम्म युट्युबको नेपाली फिल्म च्यानलमा भेटिने केही फिल्म यस प्रकार छन्ः

• ओम 
• ब्रेकफेल
• काठमान्डू
• कसलाई दिउँ्क यो जोवन
• हिफाजत
• कुसुमे रुमाल–२
• जीवन मृत्यु
• सानो संसार
• बिन्दास
युट्युबमा नेपाली फिल्म च्यानल हेर्न यहाँ क्लिक गर्नुस्।

Leave a Reply

Your email address will not be published.