सबै पराई भएपछि

शान्ता चौधरी- माइतीघरमा मलाई आमाबाहेक कसैले राम्रो मान्दैनथे। गाउँ त पराई भएकै थियो, घर पनि पराईझैं भयो। पति पनि पराईझैं हुनुभयो। आन्दोलनबाट फर्केर आउँदा सबैले मलाई गिज्याउँथे। टाढैबाट गाली गर्थे। मेरो पतिलाई जाँड खुवाएर टिल्ल पार्थे। अनि मलाई पिट्न उक्साउँथे। घरमा कोही लोग्ने मानिस आएको देखेपछि ‘ऊसँग मिलेकी छ’ भनी आरोप लगाउँथे। यही आरोपमा मलाई आफ्नै जेठाजुले समेत लात्तले हिर्काउँथे। एकातिर जमिनदारको कामको पीडा, अर्कोतिर घरको तनाव, म दोहोरो चिन्तामा पर्थें। दिनहुँझैं पतिलाई विभिन्न कुरा लगाएर मलाई पिट्न लगाउँथे। पिटाई नखाएको दिनै हुँदैनथ्यो। पिट्दा–पिट्दा एक दिन त मेरो हातै पनि भाँचिदिए।
मलाई पिटेको देखेपछि गाउँ र घरका सबै मानिस रमाउँथे। झन् हातै भाँचिदिएपछि त खुसी नहुने कुरै भएन। ‘ठिक्क भयो, आन्दोलनमा खुब हिँड्छेस् नि!’ भनेर जिस्क्याउँथे। यति पिटाई खाँदासमेत मेरो हिम्मत भने कहिल्यै कम भएन। झन् झन् आन्दोलनमा लाग्न उत्प्रेरित भएँ। यस्ता हण्डर र पीडाले जस्तोसुकै परिस्थितिसँग जुध्न तयार हुँदै जाने वातावरण सिर्जना भयो। मलाई देखेर मान्छे जति रिसाए पनि, अनि जतिसुकै एक्लै परे पनि मुक्तिको आन्दोलनमा लुकीछिपी जान छाडिनँ। निरन्तर लागि नै रहें। गाउँघर सबै पराई भए पनि भगवान् पराई नहून् भन्ने मनमनै सोच्थें। पीडा र भोगाईले मलाई झन् बलियो र दह्रो बनाउँथ्यो। गाउँ र घरका सदस्यले दिने पीडा मेरा लागि ऊर्जाझंै हुन्थ्यो। गाउँमा मलाई माया गर्ने र हिम्मत दिने एकजना साथी थिइन्। पवित्रा नेपाली नाम गरेकी ती साथीले मेरै कारण धेरै पिटाई र टोकाईसमेत खाइन्। अनेक आरोप–प्रत्यारोप सहिन् तर पनि हामी दुवैजना रत्तिभर पछाडि फर्केनौं। Shanta Book- 'Kamalaridekhi savasadsamma'
अभियानमा लाग्दा म पटक–पटक बिमारी पर्थें। बिमारी पर्दा बुबाले गाउँबाट चन्दा उठाएर औषधी किनेर ल्याइदिनुहुन्थ्यो। छोरीका लागि चन्दा उठाएको भन्दै बुबालाई समेत गाउँलेले निकै गाली गर्थे। रिसाएर, गाली गरेर दिएको सहयोगले मेरो बिमारीमा मलम लगाइदिन्थ्यो। ग्रामीण महिला उत्थान केन्द्र दाङकी आस्मानी चौधरी मलाई उत्साह र ऊर्जा दिने अर्की पात्र थिइन्। चुनौतीसँग सामना गर्न सक्नुपर्छ भनेर हौस्याउँथिन्। उनको सल्लाहले मलाई थप प्रेरणा मिल्थ्यो। उनी विश्वका अग्रणी र सफल महिलाको उदाहरण दिएर मलाई सल्लाह र सुझाव दिन्थिन्। उनको कुरा सुनेर मलाई लाग्थ्यो– म पनि केही गर्न सक्छु, मैले हरेस खानुहुन्न। थुप्रै आसमानी, पवित्रा र जगत छन्, जसले मलाई निरन्तर अघि बढ्नका लागि मार्गनिर्देशन उपलब्ध गराइरहे। सलाम छ ती पथप्रदर्शकहरुलाई।
हाम्रो अभियानले विस्तारै ठूलो रूप लियो। धेरै समयपछि भूमिहीनहरूबीच एकता कायम भयो। हामी कहिले भूमि सुधार कार्यालय त कहिले मालपोत कार्यालयमा तालाबन्दी गर्न जान्थ्यौं। कार्यालय परिसरअगाडि नारा, जुलुस र प्रदर्शन गथ्यार्ंै। १९ दिनसम्म मालपोत कार्यालयमा तालाबन्दी भएपछि सो कुरा बुझ्न अनुगमनमा आएका राजनीतिक दलका नेताहरूलाई सोही क्रममा कार्यालयमा थुन्यौं पनि।
एक दिनको कुरा हो। तत्कालीन संसदको प्राकृतिक स्रोत साधन समितिका सभापति तथा एमाले नेता प्रकाश ज्वालालगायत्का नेताहरूको समूहलाई हामीले दाङको मालपोत कार्यालयमा चार–पाँच घण्टा थुनेका थियौं। त्यसैले होला, आन्दोलनका बेला प्रहरीको पिटाई पनि निकै खाइयो। भूमिहीन आन्दोलनको सुरुका दिनदेखि २०६२/२०६३ को जनआन्दोलनसम्म प्रहरीको पिटाई खाने क्रम कायमै रह्यो। पिटाईले शरीरमा लागेको डाम अहिले पनि देखिन्छ। २०६२/२०६३ को आन्दोलनमा पनि हामी पूरै होमियौं। प्रजातान्त्रिक आन्दोलन सफल नभई भूमि अधिकारबाट वञ्चितहरुको माग पूरा हुन सक्दैन भन्ने बुझाइका कारण हामी उक्त आन्दोलनमा दिलोज्यानले लागेका थियौं। उक्त आन्दोलनमा ममात्र हैन, देशभरका भूमिहीन, सुकुम्बासी, कमैया, कमलरी, हरुवाचरुवा, गुठीपीडित, चुरेपीडित, पीडित मोही जस्ता सबै पूर्णरूपले लागेका थियौं। यसरी उक्त आन्दोलनमा लाग्ने राष्ट्रिय भूमि अधिकार मञ्चको केन्द्रीय नीति नै थियो।
२०६३ सालको कुरा हो। जमिनदारका घरमा काम गर्ने मलगायत् ३० जना जति कमलरीले मुक्ति पायौं। मेरै आन्दोलनका कारण हामी मुक्त भएका थियौं। पछि स्वान र एफएनसी नामक गैरसरकारी संस्थाले धेरैका लागि विद्यालयमा पढ्ने व्यवस्था मिलाए। उक्त अभियानको गाउँलेहरूले धेरै विरोध गरे। तर पनि म हलचल भइनँ। त्यसपछि भने गाउँमा बल्ल यो अभियानको विस्तारै प्रशंसा हुन लाग्यो। मुक्तिपछि कमलरीको दूरावस्था भए पनि स्वतन्त्रतापूर्वक ज्याला गरेर खान पाए। जति मेहनत गरेर कमाए पनि उनीहरू आफैं खर्च गर्न पाउने भए। जमिनदारको घरमा २४ घण्टा काम गर्दासमेत आफ्नो हातमा केही नआउने अवस्थाबाट छुटकारा पाए। उनीहरूले दिएको, बचे/खुचेको चिजवस्तुमात्र हात लाग्ने अवस्था अन्त भयो। अब आफ्नै तरिकाले जीवन जिउने अवसर मिल्यो। काम गर्ने स्वतन्त्रता भयो। त्यही भएर होला, अभियानताका मेरो विरोध गर्नेहरू पछि भने स्वतः प्रशंसकमा परिणत भए।
धेरै पीडा र चुनौती सामना गर्दै अगाडि बढिरहें। हिम्मत र साहस दिने कोही नभए पनि म एक्लो यात्री गन्तव्यमा पुग्न आतुर थिएँ। मेरो अभियानमा अरुले नदिए पनि घरका मान्छेले चाहिँ साथ दिनुपर्छ भन्ने लाग्थ्यो तर त्यो कुरा घरकाले समेत कहिल्यै बुझेनन्। यसैबीच २०६२/२०६३ को जनआन्दोलन सुरु भयो। हामीले आन्दोलनबारे खासै बुझेका थिएनौं तर यो राजाको विरुद्ध हो भन्नेचाहिँ थाहा थियो। राजा भन्नासाथ हाम्रै जमिनदारजस्तै शोषण गर्ने व्यक्ति होला जस्तो लाग्थ्यो। त्यही बुझाइसमेतका कारण हामी मुक्त कमलरीहरू मिलेर त्यो आन्दोलनमा लाग्ने निर्णय गर्यौंि। कहिले सामूहिक नारा जुलुसमा सहभागी हुन्थ्यौं त कहिले म एक्लै भए पनि आन्दोलनमा जान्थें। रित्तो खुट्टा लिएर निरन्तर १९ दिनसम्म आन्दोलनमा होमिएँ। बच्चाहरूलाई भोकभोकै राखेर भए पनि आन्दोलनमा सहभागिता जनाउँथे। नारा, जुलुस लगाउने अधिकांश हामीजस्ता गरिब नै हुन्थे। ठूला ठालुचाहिँ घरको झ्यालबाट चियाएर हेर्थे। यस्तो किन हुन्छ? यो आन्दोलन किन उनीहरुलाई चाहिएको छैन? किन गरिबगुरुवा मात्रै आन्दोलनमा बढी लाग्छन्? जस्ता प्रश्न मेरो दिमागमा आइरहन्थ्यो। तर सोध्ने कसलाई? बताइदिने कसले? केही थाहा थिएन।
अधिकारका भोकाहरू नै अधिकारका लागि लडेका थिए। बहुसङ्ख्यक गरिबलाई सडकमा भेट्दा मलाई पनि आन्दोलनमा लाग्न उत्साह जागेको थियो। रात–दिन एकै गरेर काम गर्ने हामी, खाने अरु नै छन् भन्नेसम्मको चर्चा सडकमा हुन्थ्यो। त्यसले हामीलाई थप ऊर्जा दिन्थ्यो। म पनि जमिनदारको खिलापमा लागेको मान्छे, राजाविरुद्धको आन्दोलन पनि जमिनदारविरुद्धकै आन्दोलन भएको महसुस हुन्थ्यो। जनआन्दोलनमा गाउँका अधिकांशको सक्रिय सहभागिता थियो। भूमिहीन, कमैया, कमलरी, गरिब उपेक्षित सबैको सहभागिता थियो। जनआन्दोलन सफल भएपछि राजा फालिए। त्यसपछि मेरो साहस झनै बढ्यो। राजाजस्तो शक्तिशाली मान्छेलाई त आन्दोलनले फाल्न सक्दोरहेछ भने हामीलाई शोषण गर्ने जमिनदारलाई पनि अवश्य तह लगाउन सकिन्छ भन्ने साहस उब्ज्यो।
जनआन्दोलनको यही उदाहरण दिएर म कमलरीको साहस बढाउँथे। उनीहरूका बाबा–आमाको मन जित्ने प्रयास गर्थें। उनीहरूलाई कुरा बुझाएर सक्रिय बनाउने प्रयास गर्थें। कमलरीको जीवनमा विस्तारै परिवर्तन आइरहेको थियो। कुरा बुझ्न थालिसकेका थिए। केही कमलरी विद्यालय जान सुरु गरिसकेका थिए। जनआन्दोलनले जमिनदारविरुद्धको आन्दोलनमा लाग्न ऊर्जा र प्रेरणा दिएको महसुस हामीले गरेका थियौं। हामी भूमिहीन कमलरीको आन्दोलनले गति लिएपछि जमिनदारहरू हाम्रोविरुद्ध खनिएका थिए। मलाई सबैका विरोधीका रूपमा परिचित गराउने प्रयास गरे। गाउँ बिगार्न लागी भन्ने आरोप ममाथि फेरि लाग्यो। उनीहरूले त्यसो भन्नु स्वाभाविक पनि थियो। किनकि मेरो सक्रियता देखेर उनीहरू निकै तर्सिसकेका थिए। मेरो उठबस कमलरी र उनीहरूका अभिभावकहरूसँग थियो। जानेका कुरा बुझाउँथे र सङ्गठित हुनुपर्छ भन्थें। अधिकारका लागि लड्न सक्नुपर्छ, नलडी अधिकार हात लाग्दैन, गरिबी र शोषण अन्त्य हुँदैन भनेर उनीहरूलाई बुझाउँथे।
जमिनदार तथा मेरा विरोधीले मविरुद्ध मेरा पतिलाई प्रयोग गर्ने कार्य जारी राखे। उनीहरू कामको बहाना गरेर मेरा पतिलाई बोलाउँथे र मविरुद्ध जाइलाग्न उक्साउँथे। यता कमलरीहरू सङ्गठित हुने र अधिकारको लडाइँ चर्काउने काम भइरहेको थियो उता म भने जमिनदारहरूको लहलहैमा लागेर पतिले दिने यातनाबाट अझै पीडित थिएँ। तर पनि मैले हिम्मत हारिनँ। बरु विस्तारै पतिलाई पनि बुझाउन सफल भएँ। जतिखेर मैले उहाँलाई मेरो कुरा बुझाउन सकें, त्यसपछि बल्ल उहाँले मलाई सहयोग गर्न थाल्नुभयो। गरिब, भूमिहीन, कमैया, सुकुम्बासी, कमलरी सबैको साथ विस्तार प्राप्त हुँदै गयो।
म आफूले नेतृत्व गरेको आन्दोलनमा त सफल हुँदै गएँ तर घरको परिपाठ मिलाउन भने असफल थिएँ। घरमा विचल्ली थियो। अरुका बङ्गुर, बाख्रा अधियामा पालेर गुजारा गर्थें। गाउँका मानिसलाई उक्साएर एक दिन जमिनदारले अधियामा पालेको बाख्रालाई विष खुवाएर मारिदियो। एकै दिन छ वटा बाख्रा मरे। बाख्रा मरेपछि मेरो सर्वस्व गुम्यो। तर पनि गाउँका केही मान्छेको सहयोगमा म अगाडि बढिरहें। समस्या आए पनि चिन्ता लिएर बसिनँ। निस्त्रि्कय भइनँ। किनकि आन्दोलनबाट पछि हटाउन उनीहरूले यस्तो षडयन्त्र गरेको मैले राम्रोसँग बुझेकी थिएँ।
आन्दोलनकै क्रममा मालपोत कार्यालयमा तालाबन्दी गर्यौंन। हजारौं भूमिहीन रात–दिन कार्यालयअगाडि बसेर त्यहीँ भात पकाई निरन्तर धर्ना दियौं। १९ दिनपछि बल्ल भूमि सुधार मन्त्रालयले वार्ताका लागि बोलायो। मन्त्री प्रभुनारायण चौधरीले हामीलाई पत्र पठाएर वार्ताका लागि डाके। दाङ जिल्लाबाट वार्ता टोलीमा म पनि छानिएँ। भोलिपल्ट ११ बजे सिंहदरबार पुग्नुपर्ने पत्रमा उल्लेख थियो। काठमाडौं जानैपर्ने भयो। काठमाडौं कहिल्यै नदेखेको म। काठमाडौं कस्तो होला? सिंहदरवार कस्तो होला? वार्ता कसरी गर्ने होला? भन्ने अनेक कुरा मनमा खेल्न थाल्यो। अर्कोतर्फ त्यही दिन नेपाल बन्दको आह्वान थियो कुनै समूहको। कसरी काठमाडौं जाने भन्ने थप चिन्ता आइलाग्यो।
हामी भूमिहीन मिलेर गाउँमा छलफल गर्यौं । नेपालगन्ज गएर हवाई मार्ग हुँदै काठमाडौं जाने निधो भयो। रातारात दाङबाट साइकलमै नेपालगन्ज पुग्यौं। सबैले आपसमा उठाएको पैसाले टिकट खरीद गर्यौं । हवाईजहाज कस्तो हुन्छ? कहिल्यै देखेकी थिइनँ। एयरपोर्टमा पहिलोपल्ट प्लेन देख्दा अचम्म लाग्यो। रातको समय दाङबाट नेपालगन्ज आउँदा बाटोमा लडेर अनुहार र हातभरि घाउ लागेको थियो। तथापि पहिलो चोटी प्लेन देख्दा दुखाई सबै बिर्सेकी थिएँ। जीवनमा पहिलो पटक सालमा प्लेन चढ्न पाएपछि एक किसिमको अलग खुसी र हौसला छाएको थियो। एकातिर खुसी थियो भने अर्कोतर्फ केही हुने हो कि भन्ने डर पनि। जे होस्, करिब एक घण्टामै काठमाडौं पुगियो। डर र रमाइलो एकैसाथ लागिरहेको थियो।
– साउन २ गते कमैया मुक्ति दिवसका दिन एमाले अध्यक्ष झलनाथ खनालबाट विमोचन हुने शान्ता चौधरीको किताब ‘कमलरीदेखि सभासद्सम्म’ को एक अंश। शान्ता आफैं १८ वर्ष कमलरी (जमिनदारको घरमा काम गर्न नोकर बस्ने) बसेकी थिइन्।

5 thoughts on “सबै पराई भएपछि

  1. Bastabma santa devi jasta hazarou garmin Nepali mahilaharu Bivinna samasyale garda Aaja samma Anakau prataran khapna Biwas xn.sabai jana santa jasta Bahadur ra Nirantar Aafnu laxyalai liyera jaana na saknu le garda Nepali samaj ko Burka aba santa devi jasta mahilale matra ugharna sakxn vanne kura ko udghos garna sakinx. Santa devi Nepali samaj ko ak patra hun,yes bata Aam Neapali kamalari mahila ko jevan prasta hunx.

  2. First of all, I would like salute to Shanta Chaudhary for her unflinching efforts to change life and status of Tharu girls in real sense which is very encouraging, inspiring and of course very commendable. Her all such progressive efforts in future needs to be agreed and supported by all Nepalese. Shanta chaudhary jee, I am always with your mission to change society.

Leave a Reply

Your email address will not be published.