कैलालीमा फरक ‘होस्टल’

hostelयज्ञश, सेहरी (कैलाली)- कैलाली सदरमुकाम धनगढीदेखि दस किलोमिटरजति उत्तरपूर्वको गाउँ सेहरी तराईका अरू गाउँजस्तै देखिन्छ। बेलादेवीपुर गाविसको यो गाउँ एउटा कुरामा भने फरक छ। यसलाई बेग्लै बनाएको छ, ‘न्यु लाइफ गल्ज होस्टल’ ले। यहाँ १ सय २२ पूर्वकम्लरी पढिरहेका छन्। अर्काका घरमा खिइएका औंला कलम र कम्प्युटर की-बोर्डमा व्यस्त छन्।
कैलालीदेखि राजधानी काठमाडौंसम्मका १० देखि २२ वर्षसम्मका पूर्वकम्लरी यो होस्टलमा बस्छन्। र, सँगैको सरस्वती उच्च माविमा पढ्छन्। उनीहरूका लागि देशभर यस्ता ६ होस्टल छन्, जसको खर्च सरकारले बेहोर्छ। एक विद्यार्थीलाई पकेट खर्च ५ सयसहित सरकारले महिनाको ३ हजार रुपैयाँ दिन्छ। सेहरीको होस्टलमा कैलालीका मात्र छन्। जिल्लाको टीकापुरमा पनि यस्तै होस्टल छ। त्यसमा ३५ जना छन्। उनीहरूमध्ये कोही जेटीए बन्न चाहन्छन्, कोही शिक्षक त कोही खेलाडी, गायिका र नायिका।
बुवा-आमा दुवै हुनेलाई होस्टल सुविधा छैन। अधिकांशका एक जना अभिभावक छैनन्। केहीका बाबुको निधनपछि आमाले अन्यत्रै विवाह गरेका छन्। वर्षे विदामा पनि २०- ३० जना पूर्वकम्लरी घर जाँदैनन्। यिनको न घर छ न बुवा-आमा। कम्लरीका रूपमा काम गर्दा कसैले मासिक ३ सय रुपैयाँ पाउँथे भने कसैले एकजोर कपडामात्रै।
पृथ्वीपुरकी १७ वर्षीया गीता चौधरीले चार वर्षअघि ५ कक्षाबाट यो स्कुलमा पढ्न थालेकी थिइन्। ८ कक्षा पुगेकी उनले टीकापुर र मसुरियामा कम्लरी थिइन्। बुवा बितेको एक महिनामा उनी कम्लरी बस्न गएकी थिइन्। द्वन्द्वका बेला २०६० मा उनका पितालाई सेनाले जिउँदै जलाइदिएको थियो। गाईवस्तु चराउन गएका उनलाई दोहोरो फायरिङमा माओवादी खोज्दै आएका सेनाले पृथ्वीपुरमा आगो लगाइदिएका थिए। स्कुलमा उनी कम्प्युटर पनि सिक्छिन्। पढाइ सकेपछि गायिका बन्ने उनको रहर छ।
इन्द्रपुरकी १८ वर्षीया पार्वती चौधरी २०६८ सालमा यो होस्टलमा आएकी हुन्।
यहाँ आउनुअघि उनी दुई ठाउँमा कम्लरी बसिन्। त्योमध्ये एउटा घरमा उनको काम दिनभरि सुँगुर चराउने थियो। पार्वती पढाइ सकेर जेटीए बन्न चाहन्छिन्।
गुल्राकी १६ वर्षीया विपासा चौधरीलाई स्टाफ नर्स बन्ने मन छ। कम्लरी बस्नुअघि उनले ३ कक्षासम्म पढेकी थिइन्। २ वर्ष कम्लरी बसेर आएपछि उनी ५ कक्षामा भर्ना भइन्। ९ कक्षामा पढ्ने १७ वर्षीया स्वागती चौधरी भने पढाइ सकेपछि फिल्म हिरोइन बन्न चाहन्छिन्। निर्मला चौधरी शिक्षक बन्न चाहन्छिन्।
एकदेखि ९ कक्षासम्म स्कुलले पूर्वकम्लरीहरूलाई भर्ना गर्ने प्रधानाध्यापक वेदप्रसाद ओझाले बताए। यस वर्ष स्कुलबाट ८ जना पूर्वकम्लरीले एसएलसी दिएका थिए, जसमध्ये ४ जना पास भए, ३ पूरकमा परेका छन्। ३ जनाले १२ कक्षाको परीक्षा
दिएर नतिजा पर्खिइरहेका छन्। सरकारी र विभिन्न गैरसरकारी संस्थाले मुक्त गराएका पूर्वकम्लरीहरूलाई यो होस्टलमा ल्याउने गरिएको छ।
२०६६ मा सरकारले घोषणा गरेको पूर्वकम्लरीलाई शिक्षा दिने कार्यक्रमअन्तर्गत यो होस्टल सुरु भएको हो। होस्टल बनाउने खर्चबाहेक विभागले होस्टल वार्डेनको पनि व्यवस्था गरेको छ। पूर्वकम्लरी पढाउने स्कुल व्यवस्थापनका लागि सरकारले वर्षको ७ लाख ५६ हजार रुपैयाँ पनि दिने गरेको छ। पोसाक खर्च पनि सरकारले दिन्छ।

कान्तिपुर दैनिकबाट साभार

Leave a Reply

Your email address will not be published.