बाढीपहिरोबाट सूदुरपश्‍चिमका ६ सय ७१ परिवार विस्थापित

Darchula Floodकञ्चनपुर- सुदूरपश्चिमका छ जिल्लाका छ सय ७१ परिवार बाढी र पहिरोबाट पूर्ण रुपमा विस्थापित भएका छन्। असार ३ र ४ गतेको निरन्तर रुपमा परेको वर्षाका कारण बाढी र पहिरोबाट ती परिवार विस्थापित भएका हुन्। नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय समन्वय समितिको कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार बाढी र पहिरोबाट ६ जिल्लामा चार सय ८९ परिवारले आंशिक रुपमा क्षति व्यहोर्नु परेको छ।
पहिरोमा परी बैतडीमा एकै घरका पाँचजनाको मृत्यु भएको छ भने महाकाली नदीमा बगेर कञ्चनपुरमा दुई, दार्चुलामा एक र पहिरोमा परी बैतडीमा एक गरी चारजना हराइरहेका छन्।
क्षेत्रीय समन्वय समिति कार्यालयका प्रमुख लक्ष्मण भट्टका अनुसार सबैभन्दा बढी महाकाली नदीमा आएको बाढीबाट दार्चुलामा तीन सय ५० परिवार पूर्ण रुपमा विस्थापित भएका छन् र एक सय १३ परिवार बाढीको उच्च जोखिममा परेका छन्।
बाढीबाट सात सयभन्दा बढी परिवार प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। कैलालीमा बाढीबाट प्रभावित १२ गाविसका ९५ परिवार पूर्णरुपमा विस्थापित भएको र एक सय ८२ परिवारले आंशिक क्षति व्यहोरेका छन्।
बाढीबाट कैलालीमा दुई हजार आठ सय ५८ परिवार प्रत्यक्ष रुपमा प्रभावित भएका छन्। यसैगरी, महाकाली नदीको बाढीबाट ७९ परिवार पूर्ण रुपमा विस्थापित, एक सय ७२ परिवारको आंशिक क्षति भएको र दुई हजार परिवार बाढीबाट प्रभावित भएका छन्।
महाकाली नदीकै कारण डडेल्धुरामा ३० परिवार पूर्ण रुपमा विस्थापित भएका छन् भने २१ परिवारको घरमा आंशिक क्षति पुगेको छ। बाढीबाट ५० परिवार प्रभावित भएका छन्। बझाङ्गमा पहिरोबाट सात परिवार पूर्ण रुपमा विस्थापित भएको र एक परिवारको घरमा आंशिक क्षति पुगेको नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय समन्वय समितिको कार्यालयका प्रमुख भट्टले बताए।
पहिरोका कारण ४८ परिवार प्रभावित भएका छन्। बैतडीमा एक परिवार पहिरोका कारण विस्थापित भएका छन् भने एक सय परिवार पहिरोको उच्च जोखिममा रहेका छन्।

तटबन्ध निर्माणका लागि ढुङ्गाको अभाव
महाकाली नदीले कटान गरिरहेको भुजेला क्षेत्रमा तटबन्ध निर्माणका लागि ढुङ्गाको अभाव भएको छ। तीन दिनदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले श्रमदान गरी तटबन्ध निर्माणको कार्यलाई निरन्तरता दिँदै आएपनि तटबन्ध निर्माणका लागि आवश्यक ढुङ्गा जुटाउन सकिएको छैन।
“नदीमा पानीको बहाव अझै उच्च छ, ढुङ्गा निकाल्न सक्ने अवस्था छैन”¬, जिल्ला प्रहरी कार्यालयका प्रहरीनायब उपरीक्षक वृखबहादुर रावलले भने, “टाढाबाट ढुङ्गा ल्याउन ढुवानीका लागि सवारीका साधनको अभाव छ।”

नजिकका क्षेत्रमा ढुङ्गा नपाइँदा समस्या भएको उनले बताए। तटबन्ध निर्माणको कार्य पाँच मिटर पूरा भएको र अझै २० मिटर बनाउन बाँकी छ। निर्माण भइरहेको तटबन्धको कार्यले त्यस क्षेत्रमा हुँदै आएको जग्गा कटानको कार्य हालका लागि रोकिएको प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालले बताए। तटबन्ध पूरा गर्नका लागि ढुङ्गाको व्यवस्था भइरहेकाले कार्य नरोकिने उनले बताए। पाँच दिनअघि आएको बाढीले जग्गा कटान गर्दा यहाँ एक विद्यालयसहित सर्वसाधारणका आठ घरमा क्षति पुगेको थियो।
यसैगरी, महाकाली नदीको टनकपुर बाँधको भारतले मर्मत गरिरहेको छ। हालै भएको वर्षाका बेला बाँधको माथिल्लो भागको एक ठाउँमा सामान्य क्षति पुगेको थियो। भारतीय समकक्षी सँगको सम्पर्कपछि बाँध मर्मतको कार्य भइरहेको प्रजिअ अर्यालले बताए।

रेडक्रस द्धारा बाढी पीडित परिवारलाई राहत सामग्री वितरण
नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय समन्वय समिति महेन्द्रनगरले बाढीबाट प्रभावित परिवारलाई राहत सामग्री वितरण सुरु गरेको छ। महाकाली नदीको बाढीबाट पूर्ण रुपमा विस्थापित भएका कञ्चनपुरको भीमदत्तनगरपालिकाको पिपरैया, बडैपुर, खल्ला मछेट्टि, भुजेला र बाराकुण्डाका ८४ परिवारलाई त्रिपाल, कम्बल, भाँडा, साडी, कपडालगायतका सामग्री पदान गरिएको छ।
यसैगरी, कैलालीका बाढी र डुबानबाट प्रभावित १२ गाविसका एक हजार सात सय ५५ परिवारलाई चाउचाउ र च्युरा तथा दुई सय परिवारलाई त्रिपाल, कम्बल, भाँडा, कपडालगायतका सामग्री प्रदान गरिएको रेडक्रस क्षेत्रीय समन्वय समितिका कार्यालय प्रमुख भट्टले बताए।
उनका अनुसार बाढीबाट कैलालीका पथरिया, धनसिंपुर, नारायणपुर र भजनी बढी प्रभावित भएका थिए। बझाङ्गका पहिरोबाट प्रभावित परिवारलाई सात सय सेट र दार्चुलाका बाढी पीडित १७ परिवारलाई १७ सेट राहत समाग्री उपलब्ध गराएको भट्टले बताए। रासस

Leave a Reply

Your email address will not be published.