‘तपाईं कुन ट्याब्लेट प्रयोग गर्नुहुन्छ? आइप्याड कि अरू?’ नेपालमा ट्याब्लेट कल्चर छिर्दै गर्दा यस्तै सुनिन थालेको छ, शहरबजारमा। इन्टरनेट प्रयोग गर्ने जनसंख्या २० प्रतिशत पुगिनसकेको देशमा ट्याब्लेटले कत्रो हिस्सा लेला? एडिएसएलका कारण इन्टरनेटको प्रयोगकर्ता जुन रफ्तारमा बढेका छन्, त्यो रफ्तार अन्य आइएसपीहरूले लिन सकेका छैनन्। ट्याब्लेटको प्रयोग गर्ने प्रवृत्ति नेपाली समाजमा कछुवा गतिमा भइरहेको छ।
नेपालमा त यकिन गर्न सकिएन तर विश्वमा भने यसको प्रयोग यतिसारो बढेको छ कि अनुमान गर्नै कठिन छ। अमेरिकाका १८ वर्षभन्दा माथिको कुल जनसंख्याको ३४ प्रतिशतले हत्केलामा ट्याब्लेट अड्याउँछन् र आँैला खेलाउँदै यसको प्रयोग गर्छन् भन्दा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ। ट्याब्लेट प्रयोगको यो संस्कारले अमेरिकीलाई नै जिल्ल पारेको छ।
अमेरिकामा गत वर्षभन्दा यो वर्ष ट्याब्लेटको प्रयोग दोब्बरले बढेको छ। अमेरिकामा गत वर्षसम्म यस्तो डिभाइस चलाउनेको संख्या १८ प्रतिशत रहेको थियो। आइप्याड, सामसुङ ग्यालेक्सी ट्याब, गुगल नेक्सस अथवा किन्डल फायर नै किन नहोस्, ती हत्केलाका शोभा बनिरहेका छन्। अमेरिका र युरोपेली बजारमा यिनै ट्याब्लेटले बजार पिटेका छन् भने नेपालजस्ता आर्थिक रूपमा कमजोर देशमा सस्ता मूल्यका ट्याब्लेटमा उत्पादकको ध्यान तानिएको छ। असुस, माइक्रोम्याक्स, एमएसआई, एसरलगायत ब्रान्ड नेपालजस्ता देशतिर तानिएका छन्।
अमेरिका तथा युरोप अनि एसियाका जापान, कोरिया तथा मध्यपूर्वका देशमा ट्याब्लेटको प्रयोग बढ्नुमा त्यहाँको अर्थतन्त्रलाई नै प्रमुख कारण मानिन्छ। अमेरिकीले प्रतिवर्ष औसत ७५ हजार डलर कमाउँछन्। खर्चिलो जीवन शैली भए पनि उनीहरूका लागि पाँच सय डलरको आइप्याड र त्योभन्दा कम मूल्यका अन्य ट्याब्लेट ठूलो लक्ष्य होइन। पढ्दै गरेका युवा पुस्ता अझ यो डिभाइसतिर खिचिएका छन्। कलेजमा स्नातक तहमा रहेका ४९ प्रतिशतले यही डिभाइसबाट आफ्नो अध्ययनको परख गरिरहेका हुन्छन् अथवा मनोरञ्जन लिइरहेका हुन्छन्। ३५ देखि ४४ वर्ष समूहका अमेरिकी, जो काममा धेरै खटिन्छन्, मध्ये ४९ प्रतिशतले नै यो ग्याजेट चलाउँछन्।
स्मार्टफोनको प्रयोग गर्नेहरू ट्याब्लेटतिर बढी आकर्षिक छन्। फ्यु रिसर्चले गरेको अनुसन्धानअनुसार स्मार्टफोनबाट उनीहरू यो ग्याजेटतिर तानिने गरेका हुन्। ट्याब्लेटले बजार लिँदा ल्यापटपको भाइ मानिएको नेटबुकलाई भने आफ्नो अस्तित्व रक्षा गर्न हम्मे पर्ने भएको छ। बजार विस्तार गर्न नसक्दा हातमै अटाउने यो डिभाइसलाई ट्याब्लेटले थिच्यो।
कम्प्युटरबाट गर्न मिल्ने सबैखाले एमेच्योर गतिविधिहरू ट्याब्लेटबाट गर्न सकिने भएकाले नेटबुक र ल्यापटपलाई समेत यो डिभाइसले उछिन्ने तरखर गर्दै छ। सानो तर धेरै क्षमता भएकाले मानिसहरू यो ग्याजेटतिर तानिएका हुन्। किताब पढ्ने र भिडियो हेर्नेका लागि यो बढी लोकप्रिय छ।
केही एक्सेसरिज थप गर्ने हो भने ल्यापटपले गर्ने सबैखाले काम यसबाट पूरा हुनसक्छ। त्यसैले अमेरिका र युरोपमा दिन दुगुना रात चौगुना यसका उपभोक्ता बढेका छन्। प्रविधि जहाँबाट सुरु भए पनि प्रभावकारी हुँदै गएपछि त्यो विश्वको कुनै पनि कुनामा पुग्न समय लाग्दैन। नेपालका शहरी क्षेत्रमा देखिन सुरु गरेको यो डिभाइस केही वर्षमा अधिकांशको हातमा देखिने निश्चित छ। अहिले सोखको साधन रहेको यो सबैको आवश्यकता बन्नेमा दुई मत छैन। अमेरिकामा बढेको यसको बजार चीन र भारतमा पनि उही गतिमा अगाडि बढेको छ। यी दुवै देशले पनि ट्याब्लेट निर्माणमा आफूलाई अगाडि सारिसकेका छन्। यी दुई देशको प्रतिस्पर्धामा नेपाल पनि लछारिँदै अगाडि बढ्नेछ।