थारुलाई धोका दिन्न : दाहाल

PKDअजित तिवारी/अमर खड्का, विराटनगर- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले औपचारिक र अनौपचारिक वार्ता थालिएकाले आन्दोलनमा रहेका राजनीति दलहरु निर्वाचनमा सहभागी हुने दाबी गरेका छन्। उच्चस्तरीय राजनीति संयन्त्रको सोमबार बसेको बैठकले आन्दोलनरत्त दलसंग वार्ता गर्ने निर्णय गरेकाले उनीहरु सहमतिमा आउने दाहालको भनाइ छ।

‘आन्दोलनरत्त दलका नेताहरुसित चारदलका शीर्ष नेताहरुले औपचारिक र अनौपचारिक कुराकानी थालिसकेको छ,’दाहालले सोमवार विराटनगरमा पत्रकारहरुसित भने,‘उहाँहरु चुनावमा आउनुहुन्छ।’ निर्वाचनको वातावरण सकारात्मकरुपमा अगाडि बढिरहेको बताउँदै दाहालले आन्दोलनरत्त पक्षको ‘जेनून’ माग सम्बोधन हुने बताए। ‘प्रधानन्यायाधीशको राजिनामा र उच्चस्तरीय राजनीति संयन्त्र भंग हुँदैन,’ उनले भने, ‘बरु आन्दोलनरत्त पार्टीहरुलाई संयन्त्रमा ल्याउने कोसिस भइरहेको छ।’ दाहालले आन्दोलनमा रहेका अरु साना पार्टीहरु निर्वाचनमा आउन तयार रहेको बताए। ‘बैधजीलाई हामीले आइसोलेट गर्दनौ,’ दाहालले भने,‘उहाँहरु छिट्टो निर्वाचनमा आउनुहुन्छ, चुनाव हुन्छ–हुन्छ।’

उता, माओवादीका अध्यक्ष दाहालले थारु समुदायलाई कहिल्यै धोका नदिने बताए। उनले माओवादीको जनयुद्ध सफल पार्न थारुसमूदायको ठूलो बलिदान र लडाई लडेको स्मरण गर्दै कहिल्यै धोका नदिने दाबी गरे।

‘जनयुद्धकालमा थारु समूदायले साँस्कृतिक, राजनीतिक र आर्थिक पहिचान तथा अधिकार स्थापित गर्नका लागि दिएको बलिदान र लडाईलाई खेर जान दिइन्न,’ सुनसरी झुम्कामा सोमबारदेखि सुरु भएको प्रथम राष्ट्रिय थारु चलचित्र महोत्सवको उद्घाटनका अवसरमा अध्यक्ष दाहालले भने। उनले आफ्नो पार्टीको जनयुद्धकालमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थारु समूदायले बलिदान दिएकोले गर्दा पनि जहिले थारु समूदायका पक्षमा हुने बताए।

‘जनयुद्धताका पूर्वमा भन्दा पश्चिममा बढीले बलिदान लिएको र थुप्रै थारु समूदाय वेपता पारिएकाले गर्दा पनि तपाईहरुलाई म कहिल्यै धोका दिन्न, सधैभरी तपाईहरुसँग मेरो पार्टी हुनेछ,’ उनले भने। नेता दाहालले थारु समूदायको इतिहासदेखि वर्तमानसम्म र वर्तमानदेखि भविष्यसम्म भूमिका युगान्तकारी राजनीतिक परिवर्तनमा भूमिका रहने बताए।

‘अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकोमा अवस्थामा थारु समूदायको पहिचान संस्थागत गर्नका लागि राजनीतिज्ञकर्मीसँगै संगीतकर्मी र नागरिकसमाजका प्रतिनिधीले पनि जिम्मेवारी पूरा गर्नुपर्छ,’ उनले भने।

चलचित्र महोत्सव उद्घाटन कार्यक्रममा थारुहट तराई पार्टीका नेता गोपाल दहितले खिलाराज रेग्मी नेतृत्वको चुनाबी सरकार चार दलको सेन्डीकेट भएको र चुनाबमा उत्पीडित जनजातिलाई घटाउने खेलमा लागेको आरोप लगाउँदै चुनाबमा आफ्नो पार्टीलाई मतदान गर्न पनि माग गरेका थिए। तर, दाहालले भने चलचित्र महोत्सवमा मत माग्ने कुरा नैतिकताले नहुने शुरुमै प्रस्ट पारेर थारु समूदायको हक–अधिकार स्थापित गर्ने सवालमा केन्द्रीत भएर सम्बोधन गरेका थिए।

अध्यक्ष दाहालले सुनसरी सिंगियाको मानपुरमा पार्टीमा कार्यकर्ता प्रवेश कार्यक्रममा पनि सरिक भए। सो क्रममा उनले चुनाबको मिति तय भइसकेकोमा आफ्नो पार्टीका कार्यकर्ता प्रवेशको लहर हेर्दा चुनाब जित्ने सम्भावना रहेपनि पूर्णरुपमा ढुक्क हुनुपर्ने स्थिती पनि नभएको बताए। ‘कार्यकर्ता प्रवेशको लहर हेर्दा त जितिन्छ जस्तो लाग्छ तर डर मान्नुपर्ने स्थिति पनि छ,’ कार्यकर्तासमक्ष उनले भने।

Leave a Reply

Your email address will not be published.