शिक्षातर्फ अग्रसर आमाहरु

momsनविन चौधरी, दाङ- बैजापुर गाविस नवलपुरकी सौनी चौधरी यतिबेला हातमा किताब, कापी, कलम लिएर पढ्न आउँछिन्। उमेरले ४५ पुगेपनि उनि छुट्टै किसिमको जोश जाँगर लिएर गाउँको कक्षामा सधैं सहभागी हुन्छिन्। उनले पढाइ सुरु गरेको एक महिना भयो। यो बीचमा उनले आफ्नो नाम लेख्‍न र जुनसुकै किताब पढन सक्ने भएकी छन्।
घरदेखि २० मिनेटको बाटो हिँडेर चौधरी आफू पढ्न आउने गरेको बताइन्। ‘यो उमेरमा म करकापले पढ्न आएकी हैन,’ उनले भनिन्, ‘दुई चार कुरा सिकौंला भनेर आएकी हुँ।’ उनले सानैमा पढ्न नपाए पनि घरको आर्थिक अवस्थाले बालबच्चाको पनि पढाइ नबिग्रोस भनेर पढ्न आएको बताइन्।
‘शोषणसे शिक्षाओर’ नामक थारु भाषाको किताब पढ्दै अर्की आमा बजारी चौधरीले आफू पनि ‘क’ अक्षर चिन्न नसक्ने अवस्थाबाट अहिले लेख्‍न, पढ्न र हिसाब किताब गर्नसक्ने अवस्थामा पुगेको बताइन्। ‘घरमा कुखुरा बेच्दा होस् या एक बोरा धान बेच्दा होस् आफ्नो श्रिमान वा छोराछोरीलाई गुहार्नु पर्थ्यौ,’ उनले भनिन, ‘अहिले आफैं गर्नसक्ने भएको छु।’ छोराछोरीलाई स्कुल नपठाउनुनको कारण पनि आफू अशिक्षित भएकाले महसुस गरेकी छु। अबदेखि आफ्ना बालबच्चालाई दैनिक स्कुल पठाउन सुरु गरेको उनले बताइन्।
त्यस्तै ‘सँगै सिकौ, सँगै बढौं’ कक्षामा अध्यनरत ४२ वर्षीय रमादेवी चौधरीले पनि पहिलेदेखि आफू शोषणमा पर्नुको कारण शिक्षा रहेको बताइन्। शिक्षा नपाएकै कारण आफू कमैया, कमलहरी बस्न बाध्य भएको बताउँदै कक्षामा सहभागी भएदेखि चेतनाको विकास भइरहेको उनले बताइन्।
यसरी गाउँका थुप्रै आमाहरु उमेरले पाको भए पनि जोश, जाँगरका साथ पढ्न सुरु गरेका छन्। जहिले पनि घरको काममा ब्यस्त रहने आमाहरु ‘सँगै सिकौं, सँगै बढौं’ कक्षा सञ्चालन भएदेखि शिक्षा प्राप्तीतर्फ अग्रसर भइरहेका छन्। अहिले विश्व शिक्षा नेपाल र ग्रामिण महिला उत्थान केन्द्रले गाउँ-गाउँमा मातृ कक्षा सञ्चालन गरेको छ। पहिलेदेखि शिक्षा नपाएर शोषण उत्पीडनमा परेको महिलालाई शिक्षा दिएर उनीहरुको बालबच्चालाई शैक्षिक क्षेत्रमा अग्रसर गराउने उद्देश्यले यस्तो किसिमको कक्षा सञ्चालन गरेको ग्रामिण महिला उत्थान केन्द्रका अध्यक्ष आसमानी चौधरीले बताइन्। उनले शिक्षासँगै ती महिलालाई आर्थिकरुपमा सशक्त बनाउनको निमिक्त आयआर्जन मुलक कार्यक्रम पनि सञ्चालन गर्ने उद्देश्य रहेको बताइन्। अहिले विश्व शिक्षा नेपाल र ग्रामिण महिला उत्थान केन्द्रको साझेदारीमा दाङ जिल्लाका दुई वटा मानपुर र डुरुवा गाविस र बाँकेको बैजापुर गाविसमा यो कक्षा सञ्चालन भइरहेको छ।

Leave a Reply

Your email address will not be published.