‘जेठ २८ ले जुनी फेरियो’

Pratima Chaudharyदेवेन्द्र बस्नेत, दाङ- दाङ नारायणपुर उत्तरअमराईकी प्रतिमा चौधरीलाई उनका बाबुआमाले २०६१ मा वार्षिक ६ हजार रुपैयाँमा सम्झौता गरेर साहुको घरमा कमलरी बस्न पठाए। ११ वर्षीया प्रतिमालाई साहुको घरमा काम गर्न गाह्रो हुने डर त थियो नै, त्योभन्दा बढी चिन्ता पढ्न नपाएकोमा थियो। भालेको डाँकोसँगै झमक्कै रात नपर्दासम्म साहुकै घरको काममा घोटिने प्रतिमाले पढ्न पाइएला भन्ने कहिल्यै सोचिनन्।
तर उनले जे सोचिनन् त्यही भयो। उनका लागि जेठ २८ गतेको दिन नसोचेकै भयो। उनी एसएलसी परिक्षामा उत्तिर्ण भइन्। तेस्रो श्रेणीमा एसएलसी पास गरेकी प्रतिमालाई अहिले जुनी फेरिएझैं लागेको छ। उनी भन्छिन्, ‘मेरो जुनी फेरिएको छ, अँझै केही गर्छु भन्ने आँट आएको छ।’ २८ गते घरमै रहेकी उनले एसएलसी रिजल्ट आएको एफएम रेडियोमार्फत सुनेकी थिइन्। तत्काल मोबाइलबाट १६०० मा डायल गर्दा ‘पास’ भएको खबर पाइन्। ‘म पास भएको भन्ने सुन्दा त साह्रै खुसी लाग्यो,’ उनले भनिन्, ‘मैले कमलरी बस्दाको सबै पीडा भुलेकी छु।’
नारायणपुरकै एक जना धनाढ्यको घरमा दुई वर्षसम्म कमलरी बसेकी उनले साहुको घरमा दिनरात काममा घोटिनुपर्दा धेरै दुख झेल्नुपरेको सुनाइन्। त्यसमाथि सानोतिनो गल्तीमा साहुबाट खाइने खप्कीले सही नसक्नु पीडा मिल्थ्यो। ‘धेरै दुःख भोगे, दिनरात काममा घोटिनुपर्थ्यो,’ उनले भनिन्, ‘अँझ त्यसमाथि साहु साहुनीको खप्की खानुपर्थ्यो।’

अर्काको घरमा कमलरी बसेर दुई वर्षसम्म पढाईबाट वञ्चित प्रतिमालाई शिक्षक बन्ने इच्छा छ। शिक्षक बनेर आफूजस्तै असहायलाई शिक्षा दिने उनले लक्ष्य बनाएकी छन्। ‘शिक्षक बनेर मजस्तै असहाय बालबालिकालाई पठनपाठनमा सहयोग गर्नेछु,’ उनले भनिन्, ‘म चाहन्छु, मेरोजस्तो दुःख कसैले भोग्नु नपरोस्।’ प्रतिमा शिक्षा विषय लिएर उच्च शिक्षा पढ्ने तयारीमा जुटेकी छन्। २०६३ मा कमलरीबाट मुक्त भइसकेपछि प्रतिमाले नारायणपुर लमडरुवास्थित एक माविमा कक्षा ४ बाट पढ्न सुरु गरेकी थिइन्। उनलाई एफएनसी नामक संस्थाले पठनपाठनमा सहयोग गरेको थियो।
छोरी पास भएपछि प्रतिमाका बाबु छेदुरामको पनि होस् खुलेको छ। आफैंले वार्षिक ६ हजारमा साहुसँग सम्झौता गरेर कमलरी पठाएकी छोरी एसएलसी पास भएकोमा उनी खुसी छन्। ‘बेकार कमलरी पठाएछुजस्तो लागेको छ,’ छेदुरामले भने, ‘अब उसले जति सक्छे पढाउँछु।’
तर आफ्नो आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण आफूले छोरीलाई कमलरी पठाएको उनले दुखेसो पोखे। उनका अन्य दुई छोरी पनि कमलरी बसेका थिए।
प्रतिमाजस्तै पश्चिम तराईका पाँच जिल्लाका अन्य एसएलसी पास पूर्वकमलरीले आफ्नो जुनी फेरिएको महसुस गरेका छन्। दाङलगायत बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा गरी ३० पूर्वकमलरीले एसएलसी पास गरेका छन्। परीक्षा कुल ५ सय ८९ जनाले दिएका थिए। जसअनुसार २ सय ४८ मध्ये दाङमा ६ जना पास भएका छन्। यसैगरी १ सय १८ मध्ये कैलालीमा १० जना, १ सय ६५ मध्ये बर्दियामा १० जना, १६ मध्ये कञ्चनपुरमा ४ जना पूर्वकमलरीले एसएलसी पास गरेका छन्। कमलरीको क्षेत्रमा कृयासिल संस्था एफएनसीका अनुसार बाँकेमा भने ४४ परीक्षार्थी पूर्वकमलरीमध्ये एक जना पनि पास भएनन्।
पूर्वकमलरी ३ जना प्रथम, ९ जना दोस्रो र १८ जना तृतीय श्रेणीमा पास भएका छन्। पास भएका पूर्वकमलरी उच्च शिक्षाको तयारीमा जुटिसकेका छन्। ‘टेक्निकल पढ्ने भनेको हुँ,’ सिसहनिया ४ पिपरीकी पूर्वकमलरी सुजीता चौधरीले भनिन्, ‘यही विषय पढेर केही गर्छु भन्ने लक्ष्य बनाएकी छु।’ उनी टेक्निकल पढ्नका लागि सोधपुछ गर्न घोराही आइपुगेकी छन्।
यस्तै गत वर्षको एसएलसी परीक्षामा पश्चिम तराईका पाँच जिल्लाका ५० बढी पूर्वकमलरीले ‘कम्पार्ट’ पाएका छन्। पाँचै जिल्लाका पूर्वकमलरीलाई कमलरीको क्षेत्रमा कृयासिल विभिन्न संघसंस्थाले पठनपाठनमा सहयोग गरेका थिए।

Leave a Reply

Your email address will not be published.