आदिवासीको महाधिवेशन चितवनमा सुरु

चितवन- नेपाल आदिवासी जनजाति महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ। भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा सुरु भएको महाधिवेशनको आदिवासी जनजातिको आन्दोलनमा सहिद भएका सहिद धनबहादुर थनेतका छोरा तोवबहादुर थनेत र सेना सहन चौधरीका छोरा कमल चौधरीले उद्‍घाटन गर्नुभएको थियो। 
उदघाटन समारोहमा बोल्दै एकीकृत नेकपा (माओवादी)का नेता वर्षमान पुनले आदिवासी जनजातिले उठाएका विषयमा आफ्नो पार्टी सकरात्मक भएको बताउँदै आगामी संविधानमा पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान बन्ने दाबी गरे।
सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले चार दलको कारणले गर्दा संविधानसभाबाट संविधान नआएको भन्दै आदिवासी जनजातिका हक अधिकारका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।
तेइस वर्षपछि पहिलो पटक राजधानीबाहिर आयोजना गरिएको महाधिवेशनको उद्घाटन सत्र अघि चितवनका विभिन्न ठाउँबाट सांस्कृतिक झाँकीसहित बृहत् शोभा यात्रा निकालिएको थियो।
महाधिवेशनको उद्घाटन सत्र भरतपुरमा भए पनि बन्दसत्र भोलि र पर्सी सौराहामा हुनेछ। महाधिवेशनमा देशभरबाट पाँचसय प्रतिनिधि सहभागी छन्। तीन दिनसम्म चल्ने महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने छ। रासस

Leave a Reply

Your email address will not be published.