झापा बन्दले जनजीवन प्रभावित, बन्दकर्ताद्वारा ट्रकमा आगजनी

झापा- पक्राउमा परेका कार्यकर्ताको रिहाइको माग गर्दै राप्रपा नेपालले आज झापामा अप्रत्यासित रुपमा गरेको बन्द कार्यक्रमले जनजीवन प्रभावित बनेको छ। बन्दका कारण पूर्व–पश्चिम राजमार्ग र मेची राजमार्गका साथै सहायक मार्गहरुमा सार्वजनिक यातायातका साधनका साथै मालबाहक ट्रकसमेत अवरुद्ध भएका छन्।

यसैबीच, बन्दको अवज्ञा गरेको भन्दै सोही पार्टीका कार्यकर्ताद्वारा आज बिहान चारपानेमा एउटा मालबाहक ट्रकमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पेट्रोल छर्केर आगजनी गरेपछि ट्रकको आधा भाग जलेर नष्ट भएको छ । सो कार्यमा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताइएको छ।

मानव अपहरणको अभियोगमा बिहीबार पक्राउमा परेका दुई जना कार्यकर्तालाई रिहा गर्नुपर्ने भन्दै राप्रपा नेपालले बन्दको आयोजना गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले बताए। रासस

Leave a Reply

Your email address will not be published.