युगान्डालाई हराउँदै नेपाल डिभिजन ३ को च्याम्पियन

cricket nepalकाठमाडौं- बर्मुडामा सम्पन्न्न विश्व क्रिकेट डिभिजन–३ प्रतियोगिताको नेपाल समूह बिजेता बनेको छ। आइसिसीले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार आइतबार राति सम्पन्न फाइनल खेलमा नेपालले पाँच विकेटले युगान्डालाई पराजित गर्दै ६ राष्ट्र सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा रहन सफल भएको हो।

प्रतियोगिताको उप–विजेता युगान्डा तथा तेस्रो स्थान हात पार्नेमा संयुक्त राज्य अमेरिका रह्यो। त्यसैगरी चौथो स्थान आयोजक राष्ट्र बर्मुडाले प्राप्त गर्दा पाँचौँ र छैटौँमा क्रमशः ओमन र इटाली रहे।

नेसनल स्पोर्ट्स स्टेडियममा टस जितेर पहिलो ब्याटिङ गरेको युगान्डाले निर्धारित ५० ओरभरको खेलमा ८ विकेटको क्षतिमा १५१ रनको योगफल तयार पारेको थियो।

१५२ रनको झिनो बिजयी लक्ष्यका साथ मैदान प्रबेश गरेको नेपालले ३९.२ ओभरमा ५ विकेट गुमाएर ६४ बल बाँकी छँदै १५३ रन बनायो। खेलमा प्लेयर अफ दि म्याचको उपाधि उचालेका प्रदीप ऐरीले ६० रन बनाउदै बाहिरिए भने अविजित शरद भेषावकरले ५० रन बनाउँदा अर्का अविजित पृथु बास्कोटाले १९ रन जोडे।

यो जित सँगै नेपाल (विजेता) र युगान्डा (उप बिजेता) ले विश्व बिक्रेट लिग डिभिजन–२ मा बढुवा हुनुका साथै सन् २०१४ मा न्युजिल्यान्डमा हुने आइसिसी विश्वकप छनोट प्रतियोगितामा भाग लिन पाउने भएका छन्।

आइसिसी विश्वकप छनोट प्रतियोगितामा छानिन सफल राष्ट्रले सन् २०१५ मा अष्ट्रेलिया र न्यूजिल्यान्डमा सञ्चालन हुने आइसिसी विश्वकप क्रिकेटमा भाग लिन पाउने छ। प्रतियोगिताको पहिलो खेलमा अमेरिकासँग ९४ रनले हार बेहोरेको नेपाल आफ्नो दोस्रो खेलमा युगान्डासँग ६ विकेटले पराजित भएपनि पछिल्ला खेल लयमा निकालेका कारण जित सम्भव भएको नेपाली टिम कप्तान पारस खड्काको प्रतिक्रिया रहेको छ। रासस

अबको बाटो

२०१५ मा अस्ट्रेलिया र न्युजिल्यान्डले आयोजना गर्ने एकदिवसीय विश्वकपमा एसोसिएटका चार टोलीले स्थान पाउनेछन्। यसमध्ये दुई स्थान विश्व क्रिकेट लिग च्याम्पियनसिपका शीर्ष दुई टोलीले पाउने छन्। अहिले यो च्याम्पियनसिप चलिरहेको छ र अंकतालिकामा आयरल्यान्ड र नेदरल्यान्ड शीर्ष स्थानमा छन्। यो प्रतियोगितामा डिभिजन १ का आयरल्यान्ड, नेदरल्यान्ड, अफगानिस्तान, स्कटल्यान्ड, केन्या र क्यानाडा तथा डिभिजन २ का शीर्ष दुई टोली युएई र नामिबिया छन्।

यो च्याम्पियनसिपबाट विश्वकपका लागि छानिएर बाँकी रहेका ६ टोली, डिभिजन २ का पपुवा न्युगिनी र हङकङ तथा भर्खरै डिभिजन ३ बाट बढुवा भएका युगान्डा र नेपाल गरी १० टोली न्युजिल्यान्डमा विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछन्। त्यसबाट शीर्ष दुई टोली विश्वकपमा पुग्ने छन् भने तेस्रो र चौथो टोलीले चार वर्षका लागि एकदिवसीय मान्यता पाउने छन्।
पोहोरसम्म नेपाल डिभिजन ४ को टोली थियो। सेप्टेम्बरमा मलेसियामा भएको डिभिजन ४ मा अमेरिकालाई हराएर उपाधि जित्दै नेपाल डिभिजन ३ मा बढुवा भएको थियो।

Leave a Reply

Your email address will not be published.