तिलौराकोट कपिलवस्तु दस्तावेज सार्वजनिक गर्न माग

काठमाडौं- धर्मोदय सभाले नेपालको तिलौराकोट कपिलवस्तु शुद्धोधनको वास्तविक राजदरबार भएकाबारे सार्वजनिक समारोह गरी तथ्य सार्वजनिक गर्ने भएको छ। सभाले शुक्रबार यहाँ एक कार्यक्रम गरी अशोकस्तम्भको प्रमाणित दस्तावेज र विश्वव्यापी प्रमाणका आधारमा सिद्धार्थ गौतमको जन्मस्थल लुम्बिनीलाई भारतीय भूमि दाबी गर्न नसकेपछि पिपरहवालाई कपिलवस्तु भनी बताइरहेको जनाएको छ। गौतम बुद्धको जन्मस्थल लुम्बिनी, क्रकुच्छन्द बुद्धको जन्मस्थल गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा तीन स्थानमा गाडिएका तीन वटा अशोकस्तम्भ, तिलौराकोट र तिलौराकोटको बीच क्षेत्रमा सिद्धार्थका पिता राजा शुद्धोधनको शाक्य गणराज्य नेपालकै आदिभूमिमा रहेको छ।

हाल एक हजार ६०० हजार फिटको क्षेत्रफलमा फैलिएको कपिलवस्तु लुम्बिनीबाट झन्डै २७ किमि पश्चिम वाणगङ्गा नदी(भगीरथ नदी)को पूर्वी किनारमा रहेको छ। सिद्धार्थले २९ वर्ष बिताएको कपिलवस्तु राजदरबारमा अशोक सम्राट्कालीन आठौं शताब्दीअगाडिसम्मका १३ विभिन्न भग्नावशेष फेला परेका छन्। उत्तरदक्षिण एक हजार ७०० फिट र पूर्वपश्चिम एक हजार ३०० फिट लम्बाइ र चौडाइ रहेको दरबार वरिपरि पर्खाल र २२ फिट जति चौडाइ सुरक्षा नहरका अवशेष छन्।

गौतम बुद्धले दरबार त्याग गर्दाको पूर्वीद्वार, इसाको सातौंदेखि चौथो शताब्दीसम्मका पुरातात्विक पैसा, भाँडाकुँडा, खेलौना, गहनाजस्ता अवशेष राखिएको सङ्ग्रहालय कपिलवस्तुमा छ। प्राकृतिक भूबनावट, वाणगङ्गा नदी, कपिलवस्तुबाट हिमाल देख्न सक्ने प्राकृतिक प्रमाण छँदाछँदै पनि भारतले गौतम बुद्धको जन्मस्थल त नेपाल नै हो तर कपिलवस्तु राजदरबार भने तिलौराकोट नभई पेपेले उत्खनन गरेको स्थान पिपरहवा हो भन्दै प्रचारमा जुटेको आरोप सभाले लगाएको छ।

लुम्बिनीसँगसँगै कपिलवस्तु र गौतम बुद्धसँग सम्बन्धित ५० भन्दा बढी सम्पदास्थलबारे विकास प्रचारप्रसार नगरिनाको परिणाम भारतले नक्कली कपिलवस्तु खडा गर्न सकेको भन्दै सभाले पुरातत्वविद् भिक्षु सुदर्शन महास्थविरले शुद्धोधनको राजदरबार तिलौराकोट नै रहेको प्रमाणित गरेका छन्।

उनका अनुसार तिलौराकोट उत्खननमा दरबारको चारैतिर पर्खाल, शत्रु प्रवेश नगराउन खाइ नहर निर्माणको भग्नावशेष तथा बुद्धत्व ग्रहण गर्न दरबार छाडेर हिँडेको महानिभिष्क्रमणद्वार पूर्वी र पश्चिमद्वार फेला परेको छ। दरबारका कोठा छुट्टाछुट्टै आकारका ठूला छन्। नेपालको कपिलवस्तु तिलौराकोटबाट हिमाल देखिन्छ। गौतम बुद्धले श्रावस्तीका राजालाई आफ्नो परिचय दिँंदा “मेरो देश हिमालकोसँगै रहेको छ” भनी परिचय दिएका थिए।

लुम्बिनी कपिलवस्तु बचाउ अभियानका अध्यक्ष नारायणप्रसाद पौडेल भन्छन्– त्रिपिटकमा उल्लेख भएको भागिरथी गङ्गा अर्थात् वाणगङ्गा नदी तिलौराकोट दरबार कपिलवस्तु नजिकबाट बगेको छ, यहाँ प्राचीन मुद्राको थुप्रो एकै ठाउँमा गाडधनका रूपमा भेटिएको छ जुन शाक्य राज्यलाई विरूद्धकले ध्वस्त गर्न थालेपछि गाडेर शाक्य राजा भागेको प्रमाण हो तर भारतको कपिलवस्तु पिपरहवामा त्यस्तो कुनै व्यवस्था छैन र दरबार प्रमाणित गर्ने कुनै ठूलो द्वार छ्रैन।

पुरातत्वविद् वसन्त बिँडारी भन्छन्- ‘लुम्बिनी–कपिलवस्तुका साथसाथै बुद्धले राजपाठ त्यागेर हिँड्नुअघि बालक, वृद्ध, रोगी र मृतक देखेको ठाउँ डेरवा, बुद्धत्व प्राप्तपछि पिता शुद्धोधनको निम्तामा पहिलोपल्ट पितालाई भेटिएको ठाउँ समयमाई मन्दिर, सिद्धार्थनगर र देवदत्तले हाँसका सम्बन्धमा झगडा गरेको र सुनुवाइ भएको न्यायालय कुदान, बुद्धले वाण हानी जमिनमुनिको पानी निकालेको कुवा, बुद्धको मावली अर्थात् आमा यशोधराको माइती देवदह, बुद्धको अस्तु रहेको स्तूप, रामग्रामलगायत बुद्धसँग सम्बन्धित ५० भन्दा बढी स्थलको संयुक्त रूपले विकास र प्रचार हुन नसके पनि यातायात चल्ने चक्रपथ निर्माण गरिनुपर्छ। रासस

Leave a Reply

Your email address will not be published.